बाँसगढी उद्योग बाणिज्य संघ निर्वाचनको सम्पूर्ण तयारी पूरा
- शुक्रबार चैत ३ , २०७९
विन्दु चौधरी, बाँसगढी । बाँसगढी उद्योग वाणिज्य संघको शनिवार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष एवं निर्वाचन अधिकृत कमल प्रसाद पाण्डेले संघको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनको सबै तयारी पूरा भएको बताउनु भएको छ ।
नेरामावि बाँसगढीमा संघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा बद्रिनाथ बरालको नेतृत्वमा लोकतान्त्रिक समाबेशी स्वतन्त्र ब्यवसायीक प्यानल र नर बहादुर वलीको नेतृत्वमा लोकतान्त्रिक समाबेशी प्यानल बनाएर दुईवटा टिम निर्वाचनमा होमिएका छन् । उद्योग बाणिज्य संघको २१ सदस्यीय कार्यसमितीका लागी दुवै प्यानबाट गरेर ४१ जनाले उम्मेदवारी दिएका छन् । ३ सदस्यीय लेखा समितीका लागि दुई संयोजक गरी ६ जनाले उम्मेदवारी दिएका छन । बाँसगढी उद्योग बाणिज्य संघको पर्यटन उपाध्यक्षमा केशव पाण्डेको मात्रै उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भैसक्नु भएको छ ।
निर्वाचनलाई सभ्य र ब्यवस्थित रुपमा सम्पन्न गर्नको लागि दुवै प्यानलका अध्यक्षका उम्मेदवार, सुरक्षा निकाय लगाएत सरोकारवालाहरुसँग छलफल गरिएको जिल्ला बारका सचिव एंव साहायक मतदान अधिकृत दिवाकर खनालले जानकारी दिनुभयो । उहाँले मतदानको लागी आबश्यक पर्ने विधि एवम् आचारसंहिता तयार पारिएको जानकारी दिनुभयो । ‘निर्वाचनको लागी आबश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको छ, । शनिवार बिहान ८ वजे देखी दिउँसो ४ वजेसम्म मतदान हुन्छ’ उहाँले भन्नुभयो ‘ढुक्क भएर मतदान गर्नुहुन सबै व्यवसायिहरुमा हामी अनुरोध गर्दछौँ । संघको निर्वाचनको लागी पालिकाभर एक हजार २ सय ८४ जना मतदाता रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत पाण्डेले मतदान सकिए लगत्तै मतगणना आचारसंहित तयार पारेर मतगणना शुरु गरिने जानकारी दिनुभयो । यसका लागी मतगणना कक्ष बाँसगढी उद्योग वाणिज्य संघको भवन छनोट भैसकेको उहाँको भनाई छ ।