fbpx

बाँसगढीमा प्रभावकारी स्वास्थ्य सेवा दिँदै कौसिल्या अस्पताल

बाँसगढीमा प्रभावकारी स्वास्थ्य सेवा दिँदै कौसिल्या अस्पताल


विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढीमा रहेको कौसिल्या अस्पताल प्रा लि.ले दोस्रो बार्षिक उत्सवकोे अवसरमा १०५ जनालाई निःशुल्क स्वास्थ्य सेवा दिएको छ । निजि क्षेत्रको सहभागीतामा संचालित स्वास्थ्य संस्थाले प्रभावकारी सेवा दिन थालेपछि बाँसगढीका स्थानिय खुशी भएका छन् ।

शिविरमा हाड, जोर्नि तथा नसा रोग बिशेषज्ञ डा. लक्ष्मण सिग्देल, स्त्रीरोग बिशेषज्ञ डाक्टर गोमा रिमाल, फिजिसियन (पेट छाती कलेजो ) डा. एन के यादव, छाला यौन तथा सौन्दर्य डा. अनिशा उप्रेती लगायतले सेवा प्रदान गर्नुभएको थियो । साथै कौसिल्या अस्पतालले दुई बर्षको अवधिमा ३५ हजार भन्दा बढिलाई स्वास्थ्य सेवा दिएको अस्पतालका प्रमुख शंकर न्यौपानेले जानकारी दिनु भएको छ । २०७७ फागुनदेखि २०७९ साल फागुनसम्म विभिन्न समस्या भई उपचारका लागि आएका ३५ हजार नौ सय ६ जनाले अस्पतालबाट स्वास्थ्य सेवा लिएको चुरेकुञ्जलाई बताउनु भयो ।

अस्पतालमा ७ सय ७९ जनाले विभिन्न रोग र समस्या लिएर उपचारका लागि आएका ज्येष्ठ नागरीक, असाहाय, अपाङ्ग, एकल महिला, मुक्तकमैया लगायतलाई छुटमा सेवा दिइरहेको बताउनु भयो । साथै अस्पतालले आगामी दिनमा नगर पालिकाको सिफारिसमा (ख) वर्गको एम्बुलेन्स खरिद गरी सेवा प्रवाह गर्ने र थप २४ सै घण्टा विषेशज्ञ सेवा प्रवाह गर्ने लक्ष्य लिएको बताईएको छ । कौसिल्या अस्पताल प्रा लिका प्रबन्ध निर्देशक राम न्यौपानेको सभा अध्यक्षता भएको कार्यक्रममा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरी, पुर्व मेयर शालिकराम अधिकारी पुर्व उपमेयर शुस्मा चौधरी लगाएतको सहभागिता रहेको थियो ।

तपाइको मत