ठाकुरबाबा नगरको स्थापना दिवस शनिवार भब्य रुपमा मनाईंदै
- शुक्रबार फाल्गुण २६ , २०७९
भिमा कंडेल, बर्दिया । भब्य रुपमा मनाईन लागिएको ठाकुरबाबा नगरपालिकाको स्थापना दिवसको पुर्वसन्ध्यामा पालिकाले मुख्यमुख्य स्थानमा सरसफाइ गरेको छ । शनिबार परेको स्थापना दिवसलाई मध्यनजर गर्दै पालिकाले सरसफाई गरेको छ ।
ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ मा नगरप्रमुख तिलकराम लम्सालको संयोजकत्व र वडा नम्बर ६ को बकुवाबाट उपप्रमुख विना कुमारी भट्टराईको संयोजकत्वमा बकुवा बजारका मुख्यमुख्य स्थान, विद्यालय, मन्दिर र वडा कार्यालयको सरसफाइ गरिएको छ ।
स्थापना दिवसको अवसर पारेर ठाकुरबाबा नगरपालिका भित्रका विद्यालयका शिक्षक, सहकारी संस्थाका कर्मचारी तथा ठाकुरबाबा नगरपालिकाका कर्मचारी बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । १३ वटा समूहबिच भएको प्रतियोगितामा ठाकुरबाबा नगरपालिकाका कर्मचारीको समुह प्रथम भएको छ ।
जनज्योती माध्यमिक विद्यालय द्वितिय र चुरे माध्यमिक विद्यालय बगनाहाले तृतीय स्थान ल्याउन सफल भएको पालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिकाले फागुन २७ गते नगरपालिका स्थापना दिवसलाई सभ्य र भव्य तरिकाले मनाउन विभिन्न रचनात्मक कार्यक्रमगर्दै आएको छ ।