fbpx

खर खडाई बर्दियाको एक मौलिक प्रचलन

खर खडाई बर्दियाको एक मौलिक प्रचलन


रमेश थापा, बर्दिया । नेपालको ग्रामीण समाज वनपैदावारमा आधारित समाज हो । ग्रामीण समाजमा हाम्रो जीवन प्रणाली जन्मदेखि मृत्युसम्म वनसंग जोडिएको हुन्छ । समयक्रमको विकाससंगै हाम्रो जीवनशैलीमा पनि बिगतको तुलनामा केहि परिवर्तन आएको छ । आजकल वनपैदावारका अनेकौं बिकल्पहरु भएकोले वनप्रतिको निर्भरता पनि क्रमशः घट्दै गएको पाइन्छ ।

घर गोठमा प्रयोग हुने घाँसजन्य पदार्थलाई खर खराई , खर खरीया वा खर खडाई भन्ने गरेको पाईन्छ । खासगरीकन कच्ची संरचना भएको खर, फुसको घर निर्माण हुने क्षेत्रमा यो शब्द बढि प्रचलनमा रहेको पाइन्छ । खर भनेको घरको छाना छाउनको लागि प्रयोग गरिने पाकेर परिपक्व भएको घाँस भन्ने बुझिन्छ भने खराई, खडाई वा खरीया भन्नाले घरको भित्ता पर्खाल बनाउनको लागि प्रयोग गरिने दह्रो,मोटो डाँठ सहितको घाँस भन्ने बुझिन्छ । निकुञ्ज, आरक्ष भएका क्षेत्रहरुमा बिगत समय देखि नै स्थानीय वासिन्दालाई आवश्यक पर्ने खर खडाई काटेर निकासि गर्ने सुबिधा प्रदान गरिंदै आएको छ ।
केहि बर्ष पहिलासम्म मानिसहरु घर बनाउनका लागि खर, बाबियो र खडाईमा निर्भर थिए । खडाईको भित्तालाई बाबियोको डोरी बनाएर बाँध्ने अनि खरले छाना छाउने काम गरिन्थ्यो । यी तीन चिज नभए मानिसको घर बन्दैनथ्यो । तर आजकल छानाको लागि जस्ता पाता, भित्ता पर्खालको लागि ब्लक, इटा र आल्मुनियमको प्रयोग गर्दछन भने फलामको किला तथा नटबोल्टले कसेर वा प्लाष्टिकको डोरीले बाँध्ने गरेको पाइन्छ ।

बिगतमा निकै टाढाबाट बेत ल्याएर बाँसको चोया निकालेर सुपो नाङ्गलो बनाउने गरिन्थ्यो तर आजकल बजारमा प्लाष्टिकको सुपो नाङ्लोहरु पाउन थालिएको छ । बिगतमा खर खडाई पूर्जीको समयमा ढकिया बुन्ने मुञ्ज, कुचो (बढनि), बर्षभरीको लागि चाहिने दुना बनाउन मालुको पात, सिठा, टोकरी बनाउने लहरा आदि समेत निकासि गरिन्थ्यो ।तर आजकल त्यो चलन पनि घटेर गएको छ । यसरी वन पैदावारका बिभिन्न बिकल्पहरुले गर्दा स्वभाविक रुपमा मानिसहरुको निकुञ्जप्रतिको अति निर्भरता घटेर गएको छ भन्न सकिन्छ ।

बर्दियामा खर खडाई को शुरुवात

राणा प्रधानमन्त्री जंगबहादुरले भारतको सिपाही बिद्रोहमा अंग्रेजलाई सहयोग गरेबापत अंग्रेजबाट फिर्ता पाएको नया मुलुक अन्तर्गतको बर्दिया वन जंगल र वन्यजन्तुको दृष्टिकोणले निकै धनी थियो ।अंग्रेज शासकहरुले भारतमा रेलमार्ग निर्माणको कामलाई तिब्रता दिएका थिए । त्यतिबेला भारतमा एकजना जे.भि.कोलियर भन्ने अंग्रेज व्यक्ति वन सम्बन्धी विज्ञको रुपमा कार्यरत थिए । अंग्रेजहरुले नेपाली शासकहरुलाई नेपालको वन व्यवस्थापन गर्नको लागि जे.भि.कोलियरको सहयोग लिन सिफारिस गरे । राणा प्रधानमन्त्री चन्द्र शमसेरले जे.भि.कोलियरलाई नेपालको तराई क्षेत्रको वन व्यवस्थापनको सल्लाहाकारमा नियुक्त गरे । जे.भि.कोलियरले पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट सालका रुख काटी निकासि गरेर भारतमा रेलमार्गको पटरीमा प्रयोग गर्ने नीति सिफारिस गरे । रुख काटेर खालि भएको क्षेत्रमा जमिन आवाद गर्ने उद्देश्यले भारतीय कामदार ल्याएर सालका रुखहरु ढाल्दै भारततर्फ निकासि गर्न थाले । यसरी काठ निकासि गर्नको लागि उनले भारतबाट नेपालका जंगलसम्म रेलमार्ग समेत निर्माण गरेका थिए । यसै क्रममा बर्दियामा पनि उनले रेलमार्ग निर्माण गरी यहाँको साल काठ, खयरको कत्था र ग्राभेल समेत निकासि गरेका थिए । राणाहरुले बर्दियाको जग्गा जमिनलाई आफ्नो जमिनदारीको रुपमा दर्ता गर्नुका साथै बिभिन्न जमिन्दारलाई बिक्री गरेका थिए भने यहाँको वनजंगललाई शिकार क्षेत्रको रुपमा प्रयोग गर्दै आएका थिए ।

राणा शानको अन्त्य पछि पनि बर्दिया नेपालका राजपरिवार र अन्य पेशेवर शिकारीहरुको शिकार केन्द्रको रुपमा रहेको थियो । ठूला जमिन्दारहरुले प्रसस्त जग्गा किनेर आफ्नो नाममा राखेका थिए । बर्दियाको पदनाहामा बस्ने हरिहर गौतम नेपालका सबैभन्दा ठूला जमिन्दार थिए । उनको मात्रै १३ हजार बिगाहा जमिन थियो रे । बर्दिया बिकट तराईको भू–भाग भएको, घना जंगलले ढाकेको, आवागमनको समस्या रहेको, लामखुट्टेको टोकाईबाट हुने औलो (मलेरिया) को डर भएकोले यहाँ पहाडतिरका मानिसहरु आउन डराउने गर्दथे । सानो संख्यामा पहाडबाट झरेका मानिसहरु पनि जाडो महिना भरिमात्र यहाँ बस्दथे, गर्मी शुरु हुनुभन्दा पहिला नै पहाड फर्किसकेका हुन्थे । बि.सं. २०२०–२१ सालमा एकातिर मलेरिया उन्मुलनको काम शुरु भयो अर्कोतिर सरकारले भूमिसुधार ऐन लागु गर्यो । भूमिसुधार ऐन लागु भएपछि हजारौं बिगाहा जमिन भएका जमिन्दारहरुको जग्गा खोसिने भयो ।

उनिहरुले आ–आफ्ना मानिसहरुलाई बोलाएर जग्गा नामसारी गर्न थाले । यस क्रममा दाङ्गबाट थारु समुदायका मानिसहरु र पहाडतिरबाट पहाडी समुदायका मानिसहरु बर्दिया आएका थिए । यस पछि क्रमशः पहाडतिरबाट बसाई सर्ने क्रम शुरु भयो । मानिसहरु पहाडबाट बसाईसर्ने क्रममा आफु मात्र आएनन उनीहरुले आफ्ना गाईबस्तु पनि संगै खेदेर ल्याएका थिए । यसरी एक्कासी मानव बस्ति बढेपछि वनजंगलमा मानविय चाप पनि बढ्न थाल्यो । मानिसहरु आफुखुसी जंगलमा गोठ राख्ने, गाइबस्तु पाल्ने, काठ दाउरा काट्ने र वन्यजन्तुको शिकार गर्ने जस्ता गतिबिधिहरु गर्न थाले । यतिमात्रै नभएर पहाडतिरबाट झरेका मानिसहरुले २०२३ साल फालगुण चैत्रतिर बघौरा र लमकोइलि फाँटामा अतिक्रमण गरी बस्ति समेत बसालेका थिए ।

शाही शिकार सुरक्षित वनको समयमा खर खडाई

यसरी वनक्षेत्रमा ब्यापक चाप पर्न थालेपछि तत्कालिन राजा स्व. श्री ५ महेन्द्रबाट पूर्वमा बबई नदी, पश्चिममा गेरुवा र कर्णाली नदीको पश्चिमी किनारा, उत्तरमा सुर्खेत जिल्लाको सिमाना दक्षिणी पानीढलो र दक्षिणमा बबइ नदी देखि बर्गदा, सैनावार, डुम्रेनी, सिंहबाहिनि, कर्मला, अम्रेनी, मोतिपुर, लठुवा, वनखेत, बेतहानी हुँदै ठाकुरद्वारासम्मको आवादी किनार, ठाकुरद्वारा देखि खौराहाको किनारै किनार शिवपुर सम्म र त्यहाँबाट मनाउघाट सम्मको ३४८ वर्ग कि.मि. क्षेत्रलाई २०२६ साल आषाढ महिनामा शाही शिकार सुरक्षित वनको रुपमा घोषणा भयो । शाही शिकार सुरक्षित वनको सुरक्षाको लागि शसस्त्र वन रक्षक समेत तैनाथ गरी वन्यजन्तुको शिकार गर्ने, काठ दाउरा निकासि गर्ने र अन्य अबैध गतिबिधिमा रोक लगाईयो । स्थानीय वासिन्दाहरु सबैका घर फुसको कच्ची घर भएकोले खर, खरिया, बनकस काट्नको लागि निःशुल्क प्रबेश गर्न पाउने व्यवस्था गरिएको थियो । स्थानीय वासिन्दाहरुले बर्षमा ३० दिनसम्म निःशुल्क खरखडाइ काटी निकासि गर्न पाउने व्यवस्था गरिएको थियो । यसरी शाही शिकार सुरक्षित वनभित्रबाट खर खरीया निकासि बाहेक अन्य अबैध गतिबिधि कडाइका साथ नियन्त्रण गर्नुका साथै वनखेत र लमकोइलीमा अतिक्रमण गरी जग्गा आवाद गरि बसेका मानिसहरुलाई समेत २०२८ साल बैशाख महिनामा उक्त स्थानबाट हटाइएको थियो ।

वन्यजन्तु आरक्ष र राष्ट्रिय निकुञ्ज भएपछिको खर खडाई

बि.सं. २०२९ सालमा सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ल्यायो । सोही ऐनमा भएको व्यवस्था अनुसार साबिक शाही शिकार सुरक्षित वनलाई २०३२ साल फाल्गुण २५ गते शाही कर्णाली वन्यजन्तु आरक्षको रुपमा घोषणा गरियो । यसरी आरक्ष घोषणा भएपछि पनि स्थानीय वासिन्दालाई घर गोठ निर्माणको लागि चाहिने खर खडाई निकुञ्जबाट निकासि गर्न पाउने सुबिधा यथावत रहेको थियो । बि.सं. २०३४ सालमा वन्यजन्तु आरक्ष नियमावली बन्यो । उक्त नियमावलीमा पनि आरक्षबाट स्थानीय वासिन्दालाई खर खडाई सुबिधा उपलब्ध गराउने प्रावधान राखियो । बि.सं. २०४१।५।११ मा नेपाल सरकारले शाही कर्णाली वन्यजन्तु आरक्षको नाम परिवर्तन गरी शाही बर्दिया वन्यजन्तु आरक्ष राख्दा र आरक्षलाई मिति २०४५।८।२० मा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्दा समेत खर खडाई सम्बन्धी व्यवस्था यथावत राखिएको छ ।
बिगत समयको खर खडाई

बिगतमा खर खडाई काट्ने अवधिलाई एक महान पर्वको रुपमा मनाउने गरिन्थ्यो । बर्ष भरीको लागि चाहिने खर, खरीया, वनकस यतिबेला नै जोहो गरिन्थ्यो । घरको भित्ता बनाउन, घर छाउन, डोरी बनाउन, खटिया बुन्नको लागि वनकस (बाबियो) आवश्यक पर्ने भएकोले मानिसहरु पहिलो २–३ दिन पहाड पुगेर वनकस काट्ने गर्दथे । पाकेर पहेलो भएको वनकसको डोरी बलियो हुने भएकोले मानिसहरु बिहानै उठेर पाकेको वनकस खोज्न पहाड जाने गर्दथे । पहाडको भिरमा मात्र बाबियो पाईने भएकोले ज्यान जोखिममा राखेर काटन जानु पर्दथ्यो । एकातिर पहाडमा जोखिम मोलेर वनकस काट्नुपर्ने अर्कोतिर वन्यजन्तुको आक्रमणमा पर्नसक्ने खतरा समेत भएकोले मानिसहरु वनकस काटन आउँदा घरबाट माला लगाएर बिदाई भएर आउने गर्दथे । खर खडाई काट्नको लागि टाढा टाढाबाट आएका मानिसहरुले प्रबेशनाका नजिकै क्याम्प खडा गरेर राती बास बस्ने र दिनभर खर खरीया काट्ने गर्दथे ।

पहिला नाका पनि निकै कम थिए । त्यसैले मानिसहरु एकै ठाउँमा जम्मा भएर बस्ने गर्दथे । नाका नजिक सयौं लडिया राखिएका हुन्थे । भासताल, ढकैला, औरी, बर्गदहा, अम्रेनी, मनाउघाट र गोलाघाट मुख्य नाका थिए जहाँ हजारौं मानिसहरु क्याम्प खडा गरेर बस्दथे । यसरी बनाइएका क्याम्प कुर्नको लागि छुट्टै मानिसको व्यवस्था गरिएको हुन्थ्यो, यसरी कुरुवा बसे बापत सबैले एक एक मुठा वनकस दिने गर्दथे । साँझपख खाना खाएपछि धुनि बालेर नाचगान गरि रमाइलो गर्ने चलन थियो । खर खडाई काटन टाढाबाट आएका कतिपय मानिसहरु निकुञ्ज नजिक गाउँमा आफन्तहरुको घरमा पाहुनाको रुपमा बस्ने गर्दथे । यसरी आउने पाहुनाको सेवा सत्कारको लागि पहिला देखिनै राम्रो छिप्पिएको जाँड बनाएर राख्ने गरिन्थ्यो । कतिपय विद्यालयहरुले खर खडाईको समयमा आफ्ना विद्यार्थीहरु खर खडाई काट्न जाने भएकोले केहि दिनको लागि विद्यालय समेर बिदा दिने गर्दथे ।

आजकलको खर खडाई

आजकल पनि निकुञ्जले बर्षमा २–३ दिनको लागि खर खडाई पूर्जी खुलाउने गरेको छ । गाउँमा अधिकांस घरहरु पक्की भैसकेको हुँदा खरको प्रयोग लगभग ९५ % ले घटेर गएको छ । खरको छाना र खरियाको भित्ता भएका घरहरु लोप हुने अवस्थामा छन । वनकसको प्रयोग पनि निकै घटिसकेको छ । प्लाष्टिक डोरीको प्रयोग अत्यधिक बढेको छ । मालुको पातको दुनाको प्रयोग हुन छोडेको छ । तसर्थ खर खडाईको नाममा पूर्जी लिने र काठ, दाउरा निकासि गर्ने प्रचलन शुरु भएको छ । वास्तविक खर खरिया आवश्यक पर्ने व्यक्ति र समुदायको संख्या नगन्य रहेको छ । खर खडाईको नाममा काठ दाउरा निकासि गर्ने गलत परम्परा बसाल्न खोजिएको हुँदा अब खर खडाई सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न जरुरी देखिन्छ ।

खर खराई पूर्जीको म्याद र पूर्जी दस्तुर

वन्यजन्तु आरक्ष नियमावली २०३४ मा ब्यवस्था भए अनुसार खर खडाई उपलब्ध गराए बापत प्रति व्यक्ति रु. १ । राजश्व लिन थालिएको थियो । बि.सं. २०४२ सालमा वन्यजन्तु आरक्ष नियमावलीमा पहिलो संशोधन गरी खर खडाई पूर्जीको म्याद घटाएर ७ दिन कायम गरिनुका साथै पूर्जी दस्तुर पनि रु. १० । कायम गरियो । बि.सं. २०७० साल देखि पूर्जीको अवधि ३ दिन र दस्तुर रु.२५ । कायम भएकोमा हाल पूर्जी दस्तुर बृद्धि भै प्रति व्यक्ति रु ५०। कायम भएको छ ।

खर खडाईको निरन्तरता

कच्चि तथा फुसका घर हुने परिवारको लागि खर खडाई अत्यावाश्यक बस्तु हो । तर आजकल कच्चि र फुसका घरहरु निकै नगन्य रुपमा रहेका छन । यस्ता घरको लागि बर्षेनी खर खडाई काट्नै पर्ने हुन्छ । तसर्थ तत्कालको लागि खर खडाई पूर्ण रुपमा बन्द गर्नु मुनाशिव देखिंदैन । नेपाल सरकारले खरको छाना विस्तापित गर्ने नीति लिएका कारण केहि बर्ष भित्र घर, गोठ बनाउकै लागि खर खडाईको आवश्यक्ता नपर्न पनि सक्दछ । तबसम्मकोलागि व्यवस्थित तरिकाबाट वास्तविक आवश्यक्ताको पहिचान गरी खर खडाई सुबिधा उपलब्ध गराउन मुनाशिव देखिन्छ ।

खर खडाइको पूर्जी लिएर जंगलमा काठ काट्ने, दाउरा संकलन गर्ने नराम्रो परिपाटी बिकास भएकोले आउने बर्षहरुमा वास्तविक खर खडाई चाहिने परिवारलाई मात्र खर खराइ उपलब्ध गराउन मुनाशिव देखिन्छ । यसको लागि खर खडाई चाहिने ब्यक्तिको निबेदन संकलन गर्ने, निजको माग जायज हो होइन यकिन गरी जायज देखिएमा समूह बनाई निजलाई पायक पर्ने क्षेत्रबाट खर काटी निकासि गर्ने सुबिधा प्रदान गर्ने व्यवस्था मिलाउन उपयुक्त हुने देखिन्छ । हाल कतिपय सामुदायिक वनहरुले समेत खर खडाई पालेर उपभोक्तालाई काट्ने सुबिधा प्रदान गर्दै आएको परिप्रेक्ष्यमा निकट भविश्यमा खरखडाईको लागि निकुञ्ज प्रतिको निर्भरताको अन्त्य हुने बिश्वास गर्न सकिन्छ ।

ठाकुरबाबा–९, बर्दिया, थापा बर्दिया राष्ट्रिय निकुञ्जको पूर्व वार्डेन हुनुहुन्छ ।

तपाइको मत