बाँसगढीको रक्तदान शिविरमा ४० पिन्ट रगत संकलन
- शनिबार फाल्गुण १३ , २०७९
विन्दु चौधरी, बाँसगढी । रगतको अभाव हुन नदिन बाँसगढीमा स्वंयसेवी रक्तदाता समाजले शुक्रबार गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन । हरेक तिन तिन महिनामा रक्तदान कार्यक्रम सम्पन्न गर्ने संकल्प अनुरुप नेपाल रक्तदाता समाज बाँसगढी नगर समितीले गरेको रक्तदान शिविरमा ४० पिन्ट रगत संकलन भएको हो ।
नेपाल स्वंयसेवी रक्तदाता समाज बाँसगढी नगर समितीले आयोजना गरेको बृहत रक्तदान शिविरमा लायन्स क्लवअफ बाँसगढी, नगर अस्पताल बाँसगढी, रेडक्रस सोसाइटी उपशाखा बाँसगढीको सहकार्यमा बृहत रक्तदान शिविरको आयोजना गरिएको हो । बाँसगढी नगरपालिकाका नगर उपप्रमुख इन्दिरा चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तदाताहरुलाइ रक्त संकलन ब्याग हस्तान्तरण गरेर उद्धघाटन गर्नुभएको थियो ।
“प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व हो भने निःशुल्क रगत पाउनु पिडितपक्षको नैसर्गिक अधिकार हो” भन्ने मुल नारा सहित नगर अस्पतालमा गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको रक्तदाता समाजका अध्यक्ष विनोद कुमार परियारले बताउनुभयो । रक्तदान कार्यक्रममा नेपाल स्वंयसेवी रक्तदाता समाज बर्दियाका जिल्ला अध्यक्ष प्रेम लम्साल, उपाध्यक्ष सन्तोष बास्तोला, सचिव श्यामलाल थारु लगाएतको उपस्थिती रहेको थियो । लायन्स क्लवअफ बाँसगढीका अध्यक्ष विपिन पौडेलले रक्तदाताहरुलाई फलफुल सहयोग गर्नुभएको थियो ।