बाँसगढी नगर अस्पतालमा रेबिज विरुद्धको खोप सेवा शुरु
- बिहिबार फाल्गुण ११ , २०७९
विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढी नगर अस्पतालमा रेविज विरुद्धको खोप सेवा सुरु भएको छ । अस्पतालमा कुकुरको टोकाईबाट लाग्ने रेविज रोग विरुद्धको खोप सेवा सुरु गरिएको हो ।
पहिलो पटक बाँसगढी नगरपालिका–२ महादेवाका १९ बर्षीय छवि हमाललाई रेबिज विरुद्धको खोप लगाएर सेवा सुरु गरिएको बाँसगढी नगर अस्पतालका डाक्टर प्रेम वलीले बताउनु भयो । उहाँले अवदेखि कुकुरको टोकाईबाट लाग्ने रेविज रोग विरुद्धको खोप सेवा बाँसगढी नगर अस्पतालबाट दिईने जानकारी गराउनुभयो । कुकुरले टोकेको खण्डमा जुनसुकै समयमा पनि अस्पताल आएर सेवा लिन सकिने उहाँको भनाई छ ।
सेवाग्राहीको समस्यालाई मध्यनजर गरी नगर अस्पतालमा पहिलोपटक निःशुल्क खोप सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष सुरेश रेग्मीले बताउनु भयो । बाँसगढी क्षेत्रमा भ्याक्सिनको व्यवस्था नहुँदा नागरिकलाई बर्दिया अस्पताल गुलरिया, नेपालगन्ज जानुपर्ने बाध्यता अव नरहेको रेग्मीको भनाई छ । रेबिज रोग स्तनधारी प्राणीबाट मानिसमा सर्न सक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो । यो जनावरले मानिसलाई टोक्दा लाग्ने रोग भनेर चिनिन्छ ।
रेविज लागेको जनावरले टोकेमा वा चिथोरेमा र्यालबाट यो रोग मानिसमा सर्ने गर्दछ । घाउ वा छाला छेडेको ठाउँमा चाट्दा रेबिज लागेको जनावरले चाट्दा पनि यो रोग सर्न सक्दछ । मानिसलाई रेबिज रोग लागेमा यसको उपचार छैन शंकास्पद जनावरले टोकेमा तत्काल एन्टी रेबिज भ्याक्सिन लगाउनु पर्दछ । उहाँले भन्नुभयो विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वमै रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ ।