चितुवाको आक्रमणमा परी मधुवनमा ३ जना घाइते
- बुधबार फाल्गुण १० , २०७९
हरि गुरुङ, मधुवन । चितुवाको आक्रमणमा परी बर्दियाको मधुवन नगरपालिका वडा नं.–२ बंगालीपुर बस्ने ७० बर्षिय फुलराम चौधरी गम्भीर घाइते हुनु भएको छ । त्यस्तै १५ बर्षिय विनायक चौधरी र डिभिजन वन कार्यालय बर्दियाका वन रक्षक ४० बर्षिय धर्मराज चौधरी घाइते हुनु भएको छ ।
गम्भीर घाइतेलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरिया लगिएको खाता सब–डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोष चौधरीले जानकारी दिनु भएको छ । चितुवा धपाउन जाने क्रममा बन कर्मचारी र नजिकै रहेका बालकलाई चितुवाले आक्रमण गरि घाइते बनाएको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक मोहन जंग बुढथापाले बताउनु भयो ।
दुई जना घाइतेलाई उपचारका लागि सुर्यपटुवा स्वास्थ्य चौकीमा उपचार गरिएको छ । गम्भीर घाईते भएको बृद्धको टाउकोमा ४ वटा टाँका लगाईएको छ । अन्य दुबै घाइतेको विभिन्न शरीरका भागमा नंग्राले चिथोरेका घाउ रहेका छ्न । मधुवन नगरपालिकाले प्रेस विज्ञप्ती जारीगर्दै घाईतेको निशुल्क उपचार तथा तारबारको ब्यवस्था गर्न माग गरेको छ ।