बाँसगढीको केदारेश्वर धाममा आयोजित ज्ञान महायज्ञ समापन
- सोमबार फाल्गुण ८ , २०७९
विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढीमा रहेको ॐ केदारेश्वर धाममा फागुन २ गतेदेखि जारी संगितमय श्रीमद् भागवत तथा ज्ञानमहायज्ञ समापन गरिएको छ । ज्ञानमहायज्ञको बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्क बहादुर खडकाको आतिथ्यतामा समापन भएको हो ।
नेपाल सरकारको पर्यटकिय गन्तब्य सुचिमा सुचिकृत केदारेश्वर धामलाई धार्मिक पर्यटकिय धरोहरको रुपमा विकास गर्ने, समाजमा धार्मिक सांस्कृतिक एवम नैतिक जागरण ल्याउने, धार्मिक महत्व राख्ने जातका विरुवा तथा जडिबुटि बृक्षारोपण गर्ने उदेश्यले ज्ञानमहायज्ञ संचालन गरिएको मुल आयोजक समितीले जनाएको छ । २०७० सालबाट निर्माण प्रक्रिया सुरु भएको धामको ९ वर्षमा धेरै संरचना निर्माण भईसकेको छ ।
धाममा हाल सम्म विश्व प्रसिद्ध १ सय ८ फिट अग्लो दिव्य जोतिर्लिङ्ग, ३ सय ८४ सिडिको कैलाश मार्ग, १ सय ८ गौमुखी मुक्ति धारा, १ सय ८ तुल्सी मठ, गणेश मन्दिर, पञ्च कुण्ड, पवित्र नदि, जल स्नानको ब्यवस्था, धर्मशाला सत्संग भवन, जेष्ठ नागरिक आश्रम, स्वामी निवास लगायतका संरचना निर्माण भएका छन् । बर्दिया जिल्ला देशकै पर्यटकिय गन्तव्य भएकोले धार्मिक केन्द्रको रुपम निर्माण भएको ॐ केदारेश्वर धामले पर्यटन प्रबद्र्धनको लागि थप टेवा पुग्ने धामका उपाध्यक्ष प्रतिमा शर्मा पौडेलले बताउनुभयो । धामका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको अध्यक्षतामा भएको ज्ञान महायज्ञमा दानदाताहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।