अत्यावस्यक काम बाहेक घरबाहिर निस्कन नपाईने
- सोमबार बैशाख ६ , २०७८
चुरेकुञ्ज, गुलरिया । दोस्रो चरणको कोभिड–१९ का लक्षण सहितको विरामीको संख्या बढेपछि जिल्ला विपद ब्यवस्थापन समिति बर्दियाको वैठकले अत्यावस्यक काम वाहेक घरवाहिर ननिस्कन आग्रह गरेको छ । मानविय स्वास्थ्यको परिस्थिती कोरोना भाईरसका कारण जटिलतातर्फ गैरहेकोले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न समुदायलाई आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारीगर्दै घरवाहिर निस्कनै परे जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरेको छ । कोभिडको संक्रमणको जोखिम कमगर्न दैनिक उपभोग्य र कृषि उपज बाहेकका सवै हाटबजार, खेलकुद, मेलापर्व, भेला, आमसभालाई अर्को निर्णय नभए सम्मका लागि रोक लगाईएको छ ।
सिमाबाट हुने आवत जावत पूर्ण निषेध गरिएको छ । पसलहरुबाट मालसामान वेचबिखन गर्दा अनिवार्य २ मिटरको भौतिकदुरी, अनिवार्य मास्क, सावुन पानीले हातधुने वा सेनिटाईज गर्नै ब्यवस्था मिलाउनु पर्नेछ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा वसेको वैठकको निर्णयले मापदण्ड पालना गरे नगरेको अनुगमनको जिम्मेवारी स्थानीयतह लगायत सुरक्षाकर्मीहरुलाई दिएकोछ । अनुगमनका क्रममा पसलहरुले मापदण्ड पालना नगरेको पाईए ५ दिनका लागि पसल बन्द गर्ने समितिको निर्णय छ ।
जोखिमको अवस्थालाई मध्यनजर गरी स्थानियतहका शिक्षा शाखाहरुले विद्यालय संचालन गर्ने वा नगर्ने बारेमा निर्णय लिन समितिले जिम्मेवारी दिएको छ । बर्दियामा पछिल्लो समय कोरोना भाईरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालनागर्दै सजग र सतर्क रहन स्वास्थ्य कार्यालय लगायत बर्दिया अस्पताल प्रशासनले अनुरोध गरेको छ ।