कृषि उपजको मुल्य बृद्धिगर्न मागगर्दै बाँसगढीमा चक्काजाम
- सोमबार फाल्गुण ८ , २०७९
विन्दु चौधरी, बाँसगढी । कृषिजन्य बस्तुको मुल्य बढाउन मागगर्दै बाँसगढीका कृषकहरुले एक घण्टे चक्काजाम गरेका छन् । आयातित कृषिजन्य बस्तुको कारण घाटा खाएर बिक्री गर्नु परेकोभन्दै यहाँका कृषकले उचित मुल्य निर्धारणका लागि चक्काजाम गरेका हुन् ।

नगर स्तरिय कृषि संजाल बाँसगढीले उत्पादित कृषि बस्तुको मुल्य बृद्धि गर, बास्तविक किसान पहिचान गरी उत्पादन क्षमताको आधारमा उचित समयमा अनुदान वितरण गर, खुल्ला नाका तथा चोरी निकासी बन्द गर, आफ्नो कमाई मागेको अर्काको कमाई खाने आदत छैन, सुंगुर पाल्न लगायौ सरकार मुल्य खोइ त ? गुणस्तरिय विउ विजन सुपथ मुल्यमा वितरण गर लगाएतका नारासहितका पेलेकार्ड बोकेर विरोध प्रर्दशन गरेका थिए । बाँसगढीका कृषकले व्यावसायिक रुपमा कृषि कार्य गर्दै आएपनि भारतीय बजारका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नु परेको नगर स्तरिय कृषि संजाल बाँसगढीका अध्यक्ष दिपक अधिकारीले बताउनु भयो ।

सरकारले धानको मूल्य बर्सेनि तोक्ने तर स्थानीय व्यापारीले किसानलाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने किसान महांसघका केन्द्रिय सदस्य गोविन्द बरालले बताउनु भयो । दुधको मूल्य अत्यन्त कम भएकोले पशुपालक किसानलाई बचाउन पनि सरकारले तत्काल भाउ बढाउनुपर्ने किसान महांसघ नगर समितीका अध्यक्ष कासिराम पौडेलको भनाइ छ । कार्यक्रमा उपस्थित सहभागीहरुले स्थानिय कृषि उत्पादनको मूल्य वृद्धि नगरिए थप संघर्षरसहित आन्दोलन गर्ने चेतावनी दिएका छन ।