बैकल्पिक रोजगारीको खोजीमा बर्दियाका टाँगा ब्यवसायी
- आइतबार फाल्गुण ७ , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियामा परम्परागत रुपमा यातायातको सहज साधनको रुपमा संचालन हुँदै आएको टांगा लगभग बन्द हुने अवस्थामा पुगेको छ । आधुनिकता संगै अन्य यातायातका साधनको बढ्दो प्रयोगले टांगा व्यवसाय बन्द हुने अवस्थामा पुगेको हो । बर्दियाको विभिन्न स्थान तथा भारतको सिमावर्ति क्षेत्र सम्म चल्ने टाँगामा यात्रुहरु चढ्न छाडेपछि टांगा संचालन गर्ने परिवारमा आर्थिक संकट छाएको छ ।
बर्दिया जिल्ला लगायत तराईका बिभिन्न सिमावर्ती क्षेत्रका जिल्लाहरुमा सवारी साधनका रुपमा टांगाको प्रयोग गरिन्थ्यो । बर्दियामा पनि बिगतमा ५० भन्दा बढी संचालन हुने टांगाहरु अहिले लगभग बन्दको अवस्थामा पुगेको स्थानिय टाँगा संचालक कल्लु राईनले चुरेकुञ्जसँग बताउनु भयो । नयाँ सवारी साधनको आगमनले व्यवसायीलाई टाँगा चलाएर परिवार पाल्न सकस भएको छ । हाल १०÷१५ वटा संख्यामा संचालित टांगा संचालकलाई अन्य रोजगारीको अवश्यकता रहेको उहाँको भनाई छ । पुर्खौ देखी घोडा पाल्ने, टांगा चलाउने घर परिवारलाई अहिले आएर घोडाको खानेकुरा जोहो गर्नै मुस्किल पर्न थालेको उहाँको दुःखेसो छ ।
परम्परागत रुपमा टाँगा चलाउँदै आएका व्यक्तिहरुको व्यवसाय चल्न छाडेपछि उनिहरुले अन्य व्यवसाय तर्फ पनि जोडिनुपर्ने महसुस गर्न थालेका छन् । विगतमा अटोहरु नहुँदा टांगाकै प्रयोग गरि जिल्ला भित्रका विभिन्न स्थान तथा सिमावर्ति क्षेत्रमा समेत यात्रुहरु टाँगाको प्रयोग गर्ने गरेको अर्का ब्यवसायी हसीब अहमद ईद्रिसीले बताउनु भयो । कतिपय टांगा संचालकहरु अहिले दैनिक ज्याला, अटो रिक्सा चलाउने लगायत काम गर्न शुरु गर्न थालेका छौं । पुर्खौ देखिको व्यवसायले छोराछोरी पढाउन तथा परिवार पाल्न मुस्किल हुँदै गएको उहाँको भनाई छ ।
घरको अन्नबाली, माटो, इट्टा लगायतका बस्तु पनि टांगामै राखी पु¥याइन्थ्यो । अहिले आएर त्यसको प्रयोग लगभग बन्दको अवस्थामा पुगेपछि टाँगा चलाउनेलाई आर्थिक समस्या निम्तिएको गुलरियाका टाँगा चालक धनेश कुमार रैदास बताउनु हुन्छ । बढदो सवारी साधनको प्रयोग र अन्य साधनको प्रयोगले मानीसहरु छिटो गन्तब्यमा पुग्ने हुनाले टाँगाको प्रयोगमा कमी हुन आएपछि समास्या हुन थालेको छ । व्यवसायमा आम्दानी हुने काम बन्द भएपछि आर्थिक उपार्जनका निम्ती विभिन्न सिपमुलक तालिम तथा पशुपालन व्यवसायमा सहभागी गराउन उहाँको माग छ ।
पुर्खौ देखिको व्यवसाय चलाउन समास्या पर्दै जान थाले पछि ती समुदायले आफैपनि बैकल्पिक व्यवसायको खोजीमा रहेका छन । टाङ्गाको निर्माण काठ, बाँस र रस्सीका साथै काठकै चक्का वा टायर बाट निर्माण गरिएको छ । जसमा घोडाले तान्ने गर्दछ । ढुवानीको साथै मुख्य साधनको रुपमा प्रयोग हुने टाँगा व्यवसाय विस्थापीत हुन थाले संगै स्थानिय सरकारले रोजगारीको सिर्जना गरि संलग्न गराउन आवश्यक देखिन्छ ।