fbpx

शिवरात्रीका अवसरमा बगलामुखी मन्दिरमा लघुरुद्री, केदारेश्वर धाम बाँसगढीमा संगीतमय प्रवचन

शिवरात्रीका अवसरमा बगलामुखी मन्दिरमा लघुरुद्री, केदारेश्वर धाम बाँसगढीमा संगीतमय प्रवचन


चुरेकुञ्ज, गुलरिया । महाशिवरात्री पर्व ०७९ का अवसरमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ मा अवस्थित धार्मिक महत्व बोकेको बगलामुखी मन्दिरमा एकादश ब्राम्हणद्वारा रुद्राभिषेक लघुरुद्री हुने भएको छ । मन्दिर प्रांगणमा रहेको पिताम्बरेश्वर महादेव स्थानमा विशेष पूजासहित लघुरुद्राभिषेक आयोजना गरिएको हो ।

शनिवार महाशिवरात्री पर्वका पावन अवसरमा मन्दिरमा लघुरुद्री सहित बिषेश पूजा हुने बगलामुखी मन्दिर पर्व ब्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद अधिकारीले बताउनु भएको छ । जसअनुसार विहान शिव लिंगमा पूजा अर्चनासहित लघुरुद्राभिषेक, प्रसाद वितरण, वेलुकी धुनी जागरणका साथ भजन किर्तन हुने उहाँको भनाई छ । बगलामुखी मन्दिरमा ४ दशक अघिदेखि शिवरात्रीका अवसरमा विशेष कार्यक्रम हुँदै आएको छ ।

शिव रात्रीकै अवसरमा केदारेश्वर धाम बाँसगढीमा संगीतमय प्रवचन सहितको श्रीमद्भागवत ज्ञान महायज्ञसहित महाशिवरात्री विशेष पूजा आराधना भैरहेको छ । फागुन २ गतेदेखि शुरु गरिएको ज्ञानमहायज्ञ ८ गते सम्म चल्ने आयोजकले जनाएको छ । केदारेश्वर धाम बाँसगढीमा विहान योग, नित्यपूजा आरती, दिउँसो संगीतमय प्रवचन पाठ झाँकी र बेलुकी सन्ध्याकालिन आरती तथा संगीतमय भजन किर्तन भैरहेको महायज्ञ समितिले जनाएको छ ।

सोही अवसरमा जिल्लाका शिवालयहरुमा रुद्राभिषेक सहितको पूजा आजा हुने भएका छन् । केदारेश्वर धाम बाँसगढी, सदाशिव मन्दिर बारबर्दिया, बगलामुखी मंदिर, कोटही मन्दिर, गौरी शंकर मन्दिर, मातंगी देवी मन्दिर, पर्वतिया मन्दिर, ठाकुरबाबा मन्दिर, गणेश मन्दिर राजापुर, शीतला मन्दिर कालिका, कुसुम्बादेबी मधुवनका शिवालयहरुमा शिवको विशेष पूजा हुने गरेको छ ।

तपाइको मत