fbpx

बाँसगढीका थारुबस्तीमा धमाधम बडघर चयन गरिँदै

बाँसगढीका थारुबस्तीमा धमाधम बडघर चयन गरिँदै


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाको थारु समुदायमा धमाधम बडघर छान्न थालिएको छ । थारु गाउँ बस्तीमा हुने सामाजिक कार्यदेखि अन्य गतिविधिको नेतृत्व गर्न बरघर छान्ने परम्परा छ ।

बरघर र भलमन्साकै नेतृत्व र निर्णयका आधारमा गाउँमा हुने सामाजिक कार्यहरूमा सबैको सहभागिता हुने प्रचलन छ थारू समुदायमा छ । बाँसगढी नगरपालिकामा रहेका बरघर प्रणाली संरक्षण, प्रर्बद्धन र विकास गर्न बनेको ऐन २०७८’ पारित भैसकेको छ । नगरपालिकाले बरघर प्रणालीलाई कानुनी मान्यता दिएपछि बरघर संस्था दर्ता गरि संस्थागत हुन थालेका छन् । माघ १ गते अर्थात माघी थारूहरूको नयाँ वर्ष हो । माघी लगत्तै दोस्रो दिन माघ २ गते प्रत्येक गाउँमा बखेरी (गाउँ सभा) बस्छ । माघ महिनाभर गरिने माघी डेवानी जसलाई ‘खोजनी बोझनी करना’ भनिने बखेरीमा प्रत्येक घरका गरढुरिया (घरमूली वा प्रतिनिधि) उपस्थित हुन्छन् ।

गाउँबाट छानिएका अगुवा मटावाँ÷बरघर÷भलमन्सा, चिरक्या, चौकीदार, अगह्वा, लिखन्डार, लोहार, गुर्वा, केसौकाहरू अनिवार्य पुग्नै पर्छ । सबै अगुवाले विगत वर्षमा आफूले गरेका कामको प्रस्तुति दिन्छन् अनि भेलाले ती काम र अगुवा दुवैको समीक्षा गर्छन् । त्यही समीक्षाका आधारमा आउँदो वर्षको योजना बनाइन्छ । नयाँ अगुवा छानिन्छ । बरघर र अन्य जिम्मेवारी पाउनेहरू जस्तै, चौकीदार, लिखन्डार, चिरक्या, अगह्वा, गुर्वा, लोहार आदि पनि बखेरीकै समयमा छानिने हुँदा उनीहरू आम समुदायप्रति जिम्मेवार र जवाफदेही हुन्छन् । सोहि प्रणाली अनुसार बाँसगढी नगरपालिका वार्ड नम्बर २ बेतहनी गाउँमा गाउँको खोजनी बोझनीबाट एक वर्षका लागि गाउँ हाँक्ने अगुवाका रूपमा पुनः भोसु थारु छनोट हुनुभएको छ ।

सहायक बरघरमा लक्ष्मी थारु, लिखन्डार (सविच) ठग्गा थारु, सहायक लिखन्डार अनुपा थारु, खजन्की ( कोषाध्यक्ष) लसै थारु, गाउँका अगह्वामा स्वमिदयाल थारु चुनिनु भएको छ । त्यस्तै टोल बरघरमा मङतु थारु, नारायण थारु, दहनी थारु, बान्धु थारु, चौकीदार नारायण थारु र गुरुवा टिङगु थारु रहनु भएको छ । गाउँको भेलाले गुरुवालाई बार्षिक रुपमा १३ क्यून्टल धान र चौकीदारलाई १४ क्यून्टल धान र साढे ३ किलो रबीबाली टिहाई (ज्याला) दिने निर्णय गरेको छ । बाँसगढी नगरपालिका वार्ड नं २ बेतहनी गाउँका १ सय ४० घरधुरीले प्रतिघरबाट १० किलो धान उठाएर गुरुवा र चौकीदारलाई टिहाई दिने गाउँ बखेरीबाट निर्णय भएको बेतहनी गाउँका पुर्व लिखन्दार राजसिङ थारुले चुरेकुञ्जलाई जानकारी दिनुभएको छ ।

तपाइको मत