fbpx

समय र सन्दर्भ : परिवर्तन सम्भव छ

समय र सन्दर्भ : परिवर्तन सम्भव छ


घननारायण श्रेष्ठ, ठाकुरबाबा । ज्ञानोदय आधारभूत बिद्यालय, ठाकुरबाबा नगरपालिका वडा नम्बर–२ को सतघरुवामा स्थापित बिद्यालय हो । यो बिद्यालय कुनै बेला खचाखच बिद्यार्थीले भरिभराउ थियो । गाउँ सङ्गै जोडिएको भए पनि अत्यन्त शान्त बाताबरण रहेको स्थानमा बिद्यालय स्थापित थियो । कुनै समय हराभरा रहेको बिद्यालयले समयानुकुल आफुलाई बदल्न सकेन ।

निजि बिद्यालयतर्फ बढेको अभिभावकको आकर्षणलाई बिद्यालयले रोक्न सकेन र बिद्यालय बिस्तारै समाजको आँखाबाट ओझेलपर्दै गयो । बिद्यालय प्रती अभिभावकको बिस्वास घट्दै गयो । फलतः विद्यार्थी संख्या अत्यन्त न्यून हुँदै १४ जनामा कायम भयो । त्यसमा पनि नियमित बिद्यालय आउने विद्यार्थीको संख्या नौ मात्र थियो । २०७१ सालको बिनासकारी बाढी पछि बिस्थापित दुई परिवार बिद्यालय कै कोठामा शरण लिएर बसेका थिए । उनिहरुले पालेका गाईबस्तु पनि बिद्यालय कै कक्षा कोठामा बाधिन्थे ।

माद्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी संबिधानतः स्थानिय सरकारहरु लाई सुम्पिएको थियो । तर मौजुदा शिक्षा ऐन २०२८ को समयानुकुल संसोधन नहँुदा अन्यौल कायमै थियो । कतिपय बिद्यालयमा विद्यार्थीको चाप बढि तर शिक्षक कम । कतिपय बिद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून तर शिक्षक ब्यबस्थापन गरिराख्नु पर्ने कारणले बिद्यालय मर्ज वा खारेजी नगरी नहुने बाध्यात्मक अबस्था बनेको थियो । शिक्षा समितिमा पेश भएको मर्ज र खारेजी सम्बन्धी बिद्यालयको सूचिमा ज्ञानोदय आधारभूत बिद्यालयको नाम पनि समावेश थियो । यसै क्रममा ज्ञानोदय आधारभूत बिद्यालयको दुराबस्थाको बिषयमा सम्बन्धित वडाका जनप्रतिनिधि र बिद्यालयका शिक्षक, ब्यबस्थापन समितिका अध्यक्षलाई बोलाएर बिद्यालय संचालन गर्न सकिने नसकिने भन्ने बिषयमा छलफल गरियो ।

छलफलको क्रममा एक पटक सम्बन्धित बिद्यालयको क्याचमेन्ट क्षेत्रका अभिभावकसँग नगर प्रमुख सहित बसेर छलफल गर्ने भन्ने निष्कर्ष निकालियो । सम्भवत २०७५ साल बैशाख दुई गते हुनुपर्छ । त्यस वडाका वडा सदस्य बिष्णुबहादुर शाहीको अगुवाइमा बृहत अभिभावक भेला भयो । भेलामा गाउँका बडघर, बुद्धिजीवी, वडाध्यक्ष सहितका जनप्रतिनिधि, नगरबाट नगर प्रमुख सहित, शिक्षा अधिकारी तत्कालिन श्रोत ब्यक्ती र नजिकको त्रिभुवन माध्यमिक बिद्यालयका प्रधानाध्यापक प्रतिनिधिको समेत सहभागितामा बिद्यालयको दुराबस्था हुनुको कारण, बिद्यार्थी सख्या घट्नुको मुल कारण, बिद्यालयको समग्र भौतिक, शैक्षिक अबस्था, नजिकको खुलपुर सुजनपुरबाट अध्ययन गर्न आउने विद्यार्थीलाई खोलाले छेक्ने जस्ता समस्याहरुको पहिचान गरि त्यसको निराकरणका लागि सरोकारवाला सबै पक्षले जिम्मेवारी बाँडफाँड गर्ने निर्णय भयो ।

प्रमुख सहित जनप्रतिनिधिबाट नगरपालिका तथा वडाको तर्फबाट गरिने कामको प्रतिबद्धता ब्यक्त गरियो । अभिभावकलाई आफ्ना नानि बाबुलाई सोही बिद्यालयमा फर्काउन अनुरोध गरि बिद्यालयको जिम्मेवारी सम्बन्धित वडा र निर्वाचित वडा सदस्य बिष्णुबहादुर शाहिको नेतृत्वमा बिद्यालय ब्यबस्थापन समिती गठन गरि बिद्यालय ब्यबस्थापनको काम अघि बढाईयो । बिद्यालय ब्यबस्थापन समितिले प्रधानाध्यापकको जिम्मेवारी मन्जु ढकाललाई दियो । बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अनि वडा कार्यालयको हरेक कदममा नगरले आफ्नो प्रतिबद्धता बमोजिम सहयोग गर्दै गयो । वडाले आफ्नो बजेटको केही हिस्सा उक्त बिद्यालयको मरमत सुधार, तारबार, पुन निर्माणमा लगायो । नगरले थप कक्षा कोठा, विद्यार्थी लाई खाजा, विद्यार्थी लाई न्यानो कपडा, थप शिक्षकको ब्यबस्थाका साथै नियमित अनुगमनको ब्यबस्था मिलायो ।
अहिले बिद्यालयमा १२८ विद्यार्थी अध्ययन गर्छन ।

आठ वटा कार्यालय सहित कक्षा कोठा, खेल्ने चौर, शौचालय, ९ जना शिक्षक कर्मचारी कार्यरत छन् । बिद्यालय नमुना आधारभुत बिद्यालयको रुपमा स्थापित भएको छ । नगरबाट बिद्यालयले उत्कृष्ट ब्यबस्थापनको पुरस्कार समेत प्राप्त गरेको छ । बिद्यालयको हालको प्रगतिमा तत्कालीन जनप्रतिनिधिका रुपमा रहेका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर शाही लगायत सम्पुर्ण स्थानिय अभिभावक, तत्कालिन प्रधानाध्यापक सहित शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको छ । हाल बिद्यालयले अभिभावकहरुसँग नियमित अन्तरसम्बाद गरी रहन्छ । बिद्यालयको हरेक कृयाकलापमा अभिभावकको रुचि छ । बिद्यालय प्रतिको बिस्वास ह्वात्तै बढेको छ । बिद्यालय र अभिभावकको बिचमा नङ्ग मासुको जस्तै सम्बन्ध रहेको प्रधानाध्यापक दिलसरा भण्डारी बताउनु हुन्छ ।

बलपुरान टोल, सतघरुवा झरन लगायतका स्थानमा बाढिले भत्काएका कल्बर्टहरु नगरपालिकाले पक्की बनाईदिएको छ । खुलपुर सुजनपुर जोड्ने झुलुङ्गे पुल नगरपालिकाले निर्माण गरिदिए पछि बालबालिका लाई बिद्यालय आउजाउ गर्न सजिलो बनाएको छ । यसरी एउटा मृत अबस्थामा पुगेको आधारभुत बिद्यालयले पुनर्जीवन प्राप्त गरि नमुना बिद्यालय बनेको छ । हालको बिद्यालयको प्रगतिले गाउका बुद्धिजीवी, समाजसेवी, बडघर लगायत अगुवा खुशी देखिनु हुन्छ । शुन्यमा रहेको बिद्यालयको कोष चलायमान भएको छ । बिद्यालयले नर्सरी देखि कक्षा पाच सम्म अध्यापन गराउन थालेको छ । नर्सरी देखि कक्षा एक सम्म अङ्रेजी माध्यम पुर्याईएको छ । आगामी दिनमा थप योजना बनाएर अगाडि बढ्ने सोच रहेको प्रधानाध्यापक बताउनु हुन्छ ।

श्रेष्ठ ठाकुरबाबा नगरपालिकाका पूर्व नगरप्रमुख हुनुहुन्छ ।

तपाइको मत