मधुवन नगरपालिका स्तरिय रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
- सोमबार माघ २३ , २०७९
विष्णु अधिकारी, बर्दिया । बालबालिकालाई खेलकुदका माध्यमबाट अघि बढ्ने प्रेरणा उत्पन्न गराउने उद्देश्यका साथ रनिङ शिल्ड प्रतियोगिता विजेता विद्यालयलाई पुरुस्कार वितरण सहित सम्पन्न भएको छ । मधुवन नगरपालिकाको आयोजना तथा वडा नं. १ श्री त्रिभुवन मा.वि. सुर्यपटुवाको संयोजनमा २०७९ माघ १८ देखि २३ गतेसम्म संचालन भएको चौथो मेयर कप तथा १३ औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा विजेता विद्यालयका खेलाडिहरुलाई पुरुस्कृत गर्दै समापन भएको हो ।
रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्राका लागि एथ्लेक्टिक्स, भलिवल, दौड, हाइजम्प लगाएतका खेलहरु खेलाइएको थियो । समापन प्रतियोगिताका प्रमुख अतिथी लुम्बिनी प्रदेश सदस्य जन्मजय तिमिल्सिनाले बालबालिकाहरुलाई खेलकुद क्षेत्रमा अघि बढाउन आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । बालबालिकाहरु खेलकुदका माध्यमबाट बर्दिया जिल्लालाई चिनाउनका लागि अघि बढाउन मेरो कर्तव्य र जिम्मेवारी दुवै छ । खेलाडिहरुका लागि अनुशासन गहना भएकाले अनुशासन र लगनसिलता सहित खेल प्रर्दशन गर्नुपर्नेमा जोडदिँदै खेलका माध्यमबाट एकदिन अवस्य अघि बढ्न सकिने उहाँले हौसला दिनु भएको छ ।
ब्यक्तिहरुले सफलता प्राप्त गर्नका लागि समाज प्रतिको दायित्व, काम, कर्तव्य पनि बुझ्न जरुरी रहेको औल्याउनु भएको छ । बालबालिका विद्यालय क्षेत्रमा प्रवेश गरेपछि शिक्षा तथा खेलकुद क्षेत्रमा उचित मार्ग निर्देशन गर्ने जिम्मेवारी शिक्षकको भएको हुनाले जिम्मेवार नागरिक उत्पादन गर्न विद्यालयको ठुलो भूमिका रहनेमा उहाँले जोडदिनु भयो । विद्यालयबाट विद्यार्थीहरु बाहिर निस्कदा उर्जावान, सिर्जनशिल, अनुशासित र नैतिकवान बनाउन शिक्षकको ठुलो भुमिका रहने नेता तिमिल्सिनाको भनाई छ ।
मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले किताबी शिक्षा मात्र शिक्षा नभएर खेलकुद पनि बालबालिकाको लागि आवश्यक शिक्षा भएको बताउनु भएको छ । बालबालिकाका लागि विद्यालयमा खेलकुद भएन भने स्वास्थ, अनुशासन र नैतिकता हराउने भएकाले स्वस्थ नागरिक बनाउन खेलले महत्वपुर्ण भुमिका खेल्ने औल्याउनु भयो । बालबालिकाले शिक्षाको साथै अतिरिक्त क्रियाकलापमा भाग लिएर राष्ट्रको नाम विश्वमा चिनाउन सक्ने भएकोले त्यसतर्फ बालबालिकाहरु अघि बढ्नु पर्ने नगर प्रमुख भाटले जोड दिनु भएको छ ।
कार्यक्रम मधुवन नगरपालिका वडा नं. १ वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मिन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । रनिङ शिल्ड प्रतियोगितामा मधुवन नगरपालिका भित्र रहेका ३८ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये ३० विद्यालयले सहभागिता जनाएको थियो । चौथो मेयर कप शिल्ड त्रिभुवन मा. वि. र राष्ट्रपति एथ्लेटिक्स नमुना मा. वि. ढोढरीले हात पारेको छ । कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु, राजनितिक दलका प्रतिनिधी तथा विद्यालयका प्रधानाध्यपकरुले खेलक्षेत्रका माध्यमबाट अघि बढ्नका लागि बालबालिकालाई शुभकामना दिनु भएको छ । कार्यक्रम शिक्षक प्रभुराम चौधरीले संचालन गर्नु भएको हो ।