fbpx

अबैंध कुखुरा भित्रिंदा बर्दियाका पोल्ट्री व्यवसाय धरापमा

अबैंध कुखुरा भित्रिंदा बर्दियाका पोल्ट्री व्यवसाय धरापमा

मुरली गोडिया, गुलरिया । नेपाली कुखुराले बजार नपाउँदा बर्दियाका पोेल्ट्री व्यवसायी मारमा परेका छन । बाहिर बाट भित्रिने अवैध कुखुराका कारण आन्तरिक कुखुरा व्यवसायीहरुलाई समस्या भएको हो । पालेको कुखुरा बजारमा सहजै नबिकेपछि व्यवसाय गर्ने कि छाड्ने भन्ने अवस्थामा बर्दियाका कुखुरा व्यवसायी पुगेका छन् ।

बर्दियाका पोल्ट्री व्यवसायीका कुखुरा विक्री नहुँदा समस्या भएको गुलरिया नगरपालिका वडा नम्वर ३ का कुखुरा पालक किसान नन्दकिशोर गोडियाले बताउनु भएको छ । लाखौंको लगानी गरेर व्यवसाय गरेको भएपनि कुखुराले उचित बजार पाउन नसक्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । कतिपय युवाहरुले स्वदेशमै बसी केही गरौं भनि कुखुरा पालन व्यवसाय सुचारु गरेका छन । तर बाहिर बाट भित्रिने कुखुराले आन्तरिक उत्पादनलाई बजार बिहिन बनाएको उहाँको गुनासो छ । बाहिरबाट अबैध रुपमा भित्रिने कुखुरा पुर्ण रुपमा रोक नलगाउँदा स्थानिय कृषकले उत्पादन गरेको कुखुरा विक्रीमा चुनौती रहेकोे रहेकोले त्यसतर्फ सम्वन्धित निकायले ध्यानदिन गोडियाको माग छ ।

करिब २/३ किलो हुँदा विक्री हुनुपर्ने कुखुरा ५/६ किलोको हुँदा सम्म पनि बिक्री हुँदैन । लागत मुल्य भन्दा घाटामा कुखुरा बेच्नुपरेको बाँसगढी नगरपालिका वडा नम्वर ८ निवासी कुखुरा कृषक विकास गौतमले बताउनु भएको छ । बैंकको ऋण हुँदाहुदै अहिले साहुको ऋण थपिएको छ । नेपाली बजारमा कुखुरालाई चाहिने दाना समेत महगो पर्छ । महँगो लगानीमा तयार गरिएको कुखुराले बजार नपाउँदा हामी दुःखी छौं । बजारमा लुकिछिपी भारतिय बजारको कुखुरा आउने गरेको उहाँको आरोप छ । बाहिर बाट आउने कुखुरामा पुर्ण रोक लगाउनु पर्ने उहाँले माग गर्नुभयो । गाई, भैसी, बाख्रा पालक कृषक सरह कुखुरापालक कृषकका लागी समेत अनुदानका कार्यक्रमहरुमा सम्मिलित गरे कुखुरा व्यसाय तर्फ युवाहरुलाई आकर्षण गर्न सकिने गौतमको सुझाव छ ।

बर्दिया जिल्ला खुल्ला सिमानाका भएका कारण विभिन्न कुरामा प्रभाव पर्दै आएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताउनु भयो । सिमाबाट भित्रिने अवैध कुखुराले नेपालका कुखुरा व्यवसायी मारमा परेको स्थानिय प्रशासनले आभाष गरेको भएपनि नतिजा भने आउन सकेको छैन । स्थानिय नागरिकहरुले नै बाहिरी कुखुरालाई बहिष्कार गर्नुपर्ने उहाँको भनाई छ । प्रशासनले आफनो संयन्त्र मार्फत रोक्ने प्रयास गरि राखेको छ । सिमाक्षेत्रमा अवैध कुखुरा आयात रोकथामका लागी शसस्त्र प्रहरी वल, नेपाल प्रहरी लगायत राज्यको संयन्त्र मार्फत व्यवस्थापन, नियमन र नियन्त्रण गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनु भयो ।

स्वदेशमै रहि व्यवसाय गर्न चाहेका युवाहरुका लागी प्रोत्साहन हुने कार्यक्रम ल्याउनु पर्ने कृषकहरुको माग छ । बर्दियाका कुखुरा पालक कृषकले लाखौंको लगानी गरेर व्यवसाय संचालन गरेपनि आशातित प्रतिफल प्राप्त गर्न नसकेको उनीहरुको गुनासो छ । उनीहरले केहि हद सम्म भएपनि रोजगारी दिएका छन । कृषकको समस्या गहन रुपमा बुझी समाधानका लागी स्थानिय सरकार तथा प्रशासन गम्भिर भए पोल्ट्रि व्यवसाय फस्टाउन सक्ने र रोजगारी सिर्जना गर्न सकिने विश्वास लिईएको छ ।

तपाइको मत