‘स्वस्थ रहनका लागि जिवन पद्धतीमा सुधार ल्याउनु पर्छ’
- सोमबार माघ २३ , २०७९
विष्णु अधिकारी, बर्दिया । स्वस्थ हुनका लागि शारिरीक, मानसिक, सामाजिक तथा भावनात्मक रुपमा स्वस्थ रहेको मानवलाई स्वस्थ मान्न सकिने लुम्बिनी प्रदेश निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कुवँरले बताउनु भएको छ । मानवले स्वस्थ जीवनशैली अपनाउनका लागि खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिएमा नसर्ने रोगबाट बच्न सकिने उहाँको भनाई छ ।
स्वास्थ्य सेवा भन्नाले उपचारात्मक सेवा मात्र नभएर स्वस्थ जीवनशैली ज्युनका लागि व्यायाम, प्रतिकारात्मक सेवा तथा पुनस्र्थापनात्मक सेवा पनि जरुरी हुन्छ । स्वास्थ्य सेवा प्रवद्र्धन गर्न स्थानीय तहमा निति निर्माण गर्नु पर्नेमा जोडदिदै सेवा प्रभावकारी बनाउन तिनै तहका सरकारका लागि आवश्यक रहेको प्रष्ट्याउनु भयो । विकास भन्नाले भौतिक निर्माण मात्र नभएर जनतालाई निरोगी राख्न व्यायामशाला, स्वास्थ्य पार्कहरु निर्माण गर्नु जरुरी छ । विकास निर्माणमा स्वास्थ्य निति पनि जोड्नु पर्ने उहाँको भनाई छ । गलत रहनसहन र खानपिनका कारण नसर्ने रोग सुगर, प्रेसरका कारण युवाहरुको मृत्यु हुने गरेको तथ्याङ्क भयंकर छ ।
औषधि र उपचार मात्र स्वास्थ्य नभै शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रुपमा स्वस्थ रही उत्पादनशील र गुणस्तरीय जीवन यापन गर्न सक्षम हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको छ । अधिकतम स्वास्थ्य प्राप्ती गर्नका लागि संक्रामक तथा सरुवारोगहरुको रोकथाम तथा नियन्त्रण गर्नुका साथै नियमित रुपमा शारिरीक परिक्षण तथा उपचारमा ध्यान दिनु पर्ने गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताउनु भयो । स्वास्थ्य सेवा भन्नाले अस्पताल, औषधि, डाक्टर तिर मात्र राज्यको ध्यान जाने गरेको हुनाले स्वास्थ्य प्रवद्र्धन सेवालाई प्रभावकारी बनाए मानिस निरोगी हुने पाण्डेको भनाई छ । आजको परिवेशमा मानिसमा निकै अल्छि पन देखिन्छ ।
नजिकै कतै जाँदा पनि सवारी साधनको प्रयोग गर्ने प्रबृत्ति बढ्दो छ । शारिरिक व्यायाम कम हुँदा सुगर, प्रेसर जस्ता रोग निम्तिएको उहाँको पाण्डेको दावी छ । मानिस स्वस्थ हुनका लागि नियमित आफुलाई सजिलो लाग्ने व्यायाम, सन्तुलित आहार सेवन गर्नुपर्नेमा उहाँको जोड छ । स्वस्थ नागरिकबाट मात्र समुन्नत राष्ट्रको कल्पना गर्न सकिने भएकाले सरकारले व्यायामशाला, व्यायाम पार्क जस्ता कुराहरु पनि स्वास्थ्य अन्तर्गत बिकास गर्नेतर्फ चाँसो दिनुपर्ने आवश्यकता रहेको स्वास्थ्य निरिक्षक पाण्डेको भनाई छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश, भालुबाङ्ग कार्यालयले संचारकर्मी तथा स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रर्वद्धन सेवा सम्बन्धि पैरवी कार्यक्रम गुलरियामा सम्पन्न गरेको छ ।