fbpx

स्वास्थ्यका लागि खेलकुद अपरिहार्य : खानेपानी मन्त्री खान

स्वास्थ्यका लागि खेलकुद अपरिहार्य : खानेपानी मन्त्री खान


विन्दु चौधरी, बाँसगढी । शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको खानेपानी मन्त्री अब्दुल खानले बताउनु भएको छ । पाँचौ बाँसगढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनगर्दै मन्त्री खानले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ ।

स्वच्छ र शुद्ध खानेपानीको सेवा आम नागरिकलाई पु¥याउन सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको उहाँको भनाई छ । बाँसगढी नगरपालिकाद्वारा आयोजित प्रतियोगिता बासँगढी नगरपालिका वडा नम्वर ८ मा रहेको नगरस्तरिय खेलमैदानमा शुरु भएको छ । कार्यक्रममा ठाकुरवावा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले खेलकुद क्षेत्रले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व भएको बताउनुभयो ।

संविधान सभा सदस्य श्याम ढकालले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताउनुभयो । कार्यक्रममा बाँसगढी नगरपालिकाका पुर्व नगर प्रमुख शालिकराम अधिकारीले आफ्नो कार्यकालमा ४ पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न सफल भएको भन्दै उहाँले नयाँ–नयाँ र उर्जाशील खेलाडीहरु उत्पादन आजको आवश्कता भएको बताउनुभयो । बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काको सभा अध्यक्षमा भएको पाँचौ बाँसगढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर भित्रका मावि र आधारभुत विद्यालयहरुले मार्चपासमा सहभागिता जनाउने छन् ।

उद्घाटनका क्रममा झाकी समेत प्रदर्शन गरिएको थियो । श्री रामजानकी माध्यमिक विद्यालय भैसासुरको संयोजन तथा ब्यवस्थापनमा माघ २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १८ वटा माध्यमिक विद्यालय र ११ वटा आधारभुत विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, हाइजम्प, लङजम्प र शटपुट लगायतका खेल समावेश गरिएको छ ।

तपाइको मत