fbpx

कृष्णसार संरक्षण क्षेत्र बर्दियामा पर्यापर्यटनको प्रचुर सम्भावना

कृष्णसार संरक्षण क्षेत्र बर्दियामा पर्यापर्यटनको प्रचुर सम्भावना

नेपालबाट लोपहुन लागेपछि बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्यजन्तुको सूचिमा सुचिकृत एन्टीलोप प्रजातीका कृष्णसारहरु बर्दियाको गुलरिया नगरपालिका अन्र्तगत खैरापुरको पटाहा स्थित प्राकृतिक बासस्थानमा संरक्षण क्षेत्र घोषणा गरी संरक्षण हुँदै आएको छ ।  विक्रम सम्बत् ०६५ सालमा वन सेवा, नेशनलपार्कस एण्ड वाईल्ड रिजर्भ समूहवाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहतमा रहेको तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षवाट वन, वन्यजन्तु संरक्षण व्यवस्थापनको कार्य थालनी गरी वाँके, पर्सा, शिवपुरी, नागार्जुन राष्ट्रिय निकुञ्जको करीब १४ वर्ष लामो कार्यानुभव सम्हाल्नु भएका अनुभवी संरक्षण अधिकृत विनय कुमार झा कृष्णसार संरक्षण क्षेत्रमा रहेको सुकुम्वासी बस्ती ब्यवस्थापनको पहलमा हुनुहुन्छ । बन, वन्यजन्तु विषयमा स्नाकोत्तर गर्नु भएका अधिकृत झा वन्यजन्तुको विषयमा विद्यावारिणी गर्ने तयारीमा हुनुहुन्छ । लोपोन्मुख कृष्णसारको दीगो संरक्षण, व्यवस्थापन र पर्यापर्यटन विकास लगायत जैविक विविधता संरक्षणमा सिमसार क्षेत्रको संरक्षण अपरिहार्य हुन्छ । “आजको आवश्यकता : सिमसारको पुनस्र्थापना” भन्ने मूल नारासहित फेव्रुअरी २ मा सीमसार दिवस मनाईएको छ । प्रस्तुत छ यसै सन्दर्भमा संरक्षण अधिकृत झाले चुरेकुञ्जसँग गरेको कुराकानीको अंश । 

कृष्णसार संरक्षण क्षेत्र कसरी घोषणा भयो ?

नेपालमा अति सङ्कटापन्न अवस्थामा पुगेको कृष्णसारको बासस्थान व्यवस्था नगरिएमा लोप हुनसक्ने संभावनालाई दृष्टिगत गदै नेपाल सरकारबाट मिति २०५०।१०।१२ मा बर्दियाको गुलरिया नगरपालिका साविक खैरापुर गा.वि.स. अन्तर्गतको ४८८ हेक्टर (७०८ विगाहा) जमिनलाई कृष्णसार संरक्षण क्षेत्रमा प्रस्ताव गरेर त्यस त्यस अन्तर्गत पर्ने निजि नम्बरी जग्गालाई अधिग्रहण गरियो । कृष्णसारको दिगो र प्रभावकारी संरक्षणकका लागि कृष्णसार संरक्षण स्थानीय समिति, जिल्लास्थित सरकारी निकाय तथा गैर सरकारी संघ संस्था र राजनीतिक दल समेतको सहयोग र समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयबाट २०६२ सालमा पेश गरिएको कृष्णसार संरक्षण क्षेत्र” धोषणा सम्बन्धी प्रस्ताव बमोजिम नेपाल सरकारबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३ र संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली, २०५७ को प्रावधान अनुसार गुलरिया नगरालिकाको वडा नं १, २, ३ र ४ को आंशिक भुभागको १६.९५ वर्ग कि.मी र २०.४ कि.मी. परिमिति भएको भू–भागलाई २०६५।१२।३ गते राजपत्रमा सूचना प्रकाशन गरी कृष्णसार संरक्षण क्षेत्र घोषणा भयो ।
तत्पश्चात मिति २०६७।०५।०९ गते पहिलो पटक कृष्णसार व्यवस्थापन परिषदको गठन र मिति २०६७।५।१० गते कृष्णसार संरक्षण क्षेत्र कार्यालयको स्थापना भई कार्यालयका कर्मचारीहरु तथा कृष्णसार व्यवस्थापन परिषद अन्तर्गतका कृष्णसार उपभोक्ता समिति र कृष्णसार उपभोक्ता समूह समेतको सहभागितामा कृष्णसारको संरक्षण र व्यवस्थापनका कार्यहरु हुँदै आएका छन् । यस संरक्षण क्षेत्रको कुल क्षेत्रफल १६.९५ वर्ग कि.मी. रहेकोमा जसमध्ये कृष्णसारको मुख्य बासस्थान (कोर एरिया) ५.२७ वर्ग कि.मी. र ११.६८ वर्ग कि.मी. भू–भाग मध्यवर्ती क्षेत्रको रुपमा रहेको छ । यस संरक्षण क्षेत्रको संङ्गठनात्मक संरचना अनुसार १ वटा हेड अफिस सहित २ वटा पोष्ट (खैरी पोष्ट र पण्डितपुर पोष्ट) रहेका छन् । कृष्णसारको दिगो संरक्षणका यस क्षेत्रको बासस्थान सुधार (घाँसे मैदान व्यवस्थापन, मिचाहा प्रजाती नियन्त्रण, खानेपानी व्यवस्थापन, उच्चथली निर्माण), जनचेतना अभिबृद्धि कार्यक्रमहरुको साथै यस कार्यालयमा खटाईएका कर्मचारीहरुबाट दैनिक रुपमा गस्ती तथा कृष्णसारको गणना जस्ता कार्यहरुक गरिदै आएको छन् ।

कृष्णसार संरक्षणमा देखिएका मुख्य चुनौतीहरु के हुन् त ?

कृष्णसार संरक्षण क्षेत्रको मुख्य चुनौती भनेको बस्ती व्यवस्थापन नै हो । नेपालमा कृष्णसारको एक मात्र प्राकृतिक वासस्थान रहेको बर्दिया जिल्लाको खैरी पण्डितपुर क्षेत्रको जग्गा अधिग्रहण गरी दिगो रुपमा कृष्णसारको संरक्षण गर्ने उदेश्यले वि.स. २०५१ देखि २०५३ सम्ममा उक्त क्षेत्रको २४५ बिगाहा नम्बरी जग्गाको मुआब्जा दिई जग्गा अधिग्रहण गरेर बस्ती स्थानान्तरण गरिएता पनि ऐलानी जग्गामा बसोबास गरेका मानिसहरुलाई मुआब्जा दिने प्रावधान नभएको र तत्काल सो ऐलानी बस्तीलाई अन्यत्र व्यवस्थापन गर्न नसकिएका कारण हालसम्म यथा अवस्थामा रहेको छ । तत्कालिन अवस्थामा लिईएको लगतमा ऐलानी जग्गामा बसोबास गर्ने घरधुरीको संख्या ७३ रहेकोमा जनसंख्या वृद्धि सँगै घरधुरी पनि छुट्टिई आ.व. २०६८।०६९ सम्ममा उक्त ऐलानी जग्गामा ९३ घरधुरी पुगेको थियो। देशमा चलेको शसस्त्र द्वन्दको समयमा यस क्षेत्रमा बाहिरबाट आई जग्गा अतिक्रमण गरेर बस्ने क्रम बढेको थियो । तर पछि यसरी अतिक्रमण गरेर बसेका घरधुरी मध्ये ११२ मुक्तकमैया र अन्यत्र घरबास भएका परिवारको पहिचान गरी त्यहाँबाट बाहिर हटाईए र अन्यत्र घरबास नभएका ४९ घरधुरी सोही स्थानमा नै रहदै आएका छन् । यसरी आ.व.२०७१।०७२ सम्ममा यस कृष्णसार संरक्षण क्षेत्रभित्र ऐलानी जग्गामा बसोबास गर्ने घरधुरी संख्या १४२ पुगेको थियो । हाल उक्त तथ्यांकलाई चेकजाँच गरी अद्यावधिक गर्दा ऐलानी जग्गामा बसोबास गर्दै आएका घर परिवारमा बाबुबाट छुट्टीएर छोराले अलग्गै जग्गा भोक चलन तथा घरवास गरेकोले साविकको घरधुरी संख्या १४२ बाट वृद्धि भई जम्मा १९० पुगेको देखिन्छ ।

संरक्षण क्षेत्रभित्र नै बसोबास गरिरहेका अव्यबस्थित अधिकांश स्थानीहरुको मुख्य पेशा पशुपालन रहेको छ । घरपालुवा जनावरहरुको चरिचरन क्षेत्र भनेको कृष्णसारको मुख्य बासस्थान क्षेत्र हो । जथाभावी चरिचरनले गर्दा कृष्णसारको खानामा कमि भई प्रत्यक्ष रुपमा कृष्णसारलाई असर गरिहरेको छ । साथै ति घरपालुवा जनावरहरुबाट कृष्णसारमा विभिन्न प्रकारका रोगहरु सर्ने समेत जोखिम रहेको छ । संरक्षण क्षेत्रभित्रनै बसोबास रहँदा मानिसहरुको आवजावत बढ्ने, होहल्ला बढ्ने तथा फोहरमैला समेत बढ्ने हुँदा कृष्णसारको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर परिरहेको छ । संरक्षण क्षेत्रभित्र नै स्थानीयहरुको बसोबास हुँदा खुला रुपमा स्थानीय सँगै बाह्य ब्यक्तिहरुको समेत प्रवेश हुने हँदा कृष्णसारको चोरीशिकार समेत हुने सम्भावना रहेको छ, साथै स्थानीयहरुले जथाभावि कुकुर पाली छाडा छाड्ने गर्नाले ति कुकुरहरुले कृष्णसारलाई बारम्बार क्षति समेत गरेको छ । हालको समयमा कुकुरहरु कृष्णसारलाई क्षति पुर्याउने प्रमुख कारण भएको छ । समयसंगै जनसंख्या बृद्धि भई घरधुरी संख्या बढ्ने तथा महंगी समेत बढ्दै जाने हुँदा वस्ती व्यवस्थापनको लागत पनि बढ्ने हुँदा कृष्णसारको दिगो संरक्षणको लागि यथासिघ्र कृष्णसार संरक्षण क्षेत्रको बस्ती व्यवस्थापन गर्नुपर्ने आवस्यक देखिन्छ ।
अर्को चुनौती गौसाला ब्यवस्थापनको हो । यस संरक्षण क्षेत्र स्थापना पश्चात संरक्षण क्षेत्रभित्र जथाभावि रुपमा रहेको छाडा गाईबस्तुहरुलाई एकठाउँमा व्यवस्थित गरि राख्ने उद्देश्यले संरक्षण क्षेत्रको उत्तरतर्फ रहेको सामुदायिक वन नजिकै स्थापना गरेको गौशला हाल गुलरिया नगरपालिका भरिकै छाडा गाईबस्तु राख्ने स्थान भएको छ। हालको मितिमा करिब ८३० वटा गाईबस्तु उक्त गौशलामा रहेको छन् । उक्त गाईबस्तु चरिचरन गर्ने स्थान कृष्णसारको मुख्य बासस्थान क्षेत्र हो । दैनिक रुपमा उक्त गाईबस्तुले कृष्णसारको बासस्थान क्षेत्रभित्र चरिचरन गर्दा कृष्णसार चरिचरन क्षेत्र साँघुरिदै गएको तथा उक्त क्षेत्रमा कृष्णसारले मनपराउने स्थानीय प्रजातीको घाँसहरु लोप भई बाह्य मिचाचा प्रजातीको अतिक्रमण बढेको छ । तारबार पनि चुनौतकै रुपमा छ । कृष्णसार संरक्षण क्षेत्रको घोषणा सँगै नेपाल सरकारले यस संरक्षण क्षेत्रको वरपर १०.२५ कि.मि. मेष जाली सहितको तारबार लगाईएको थियो । हाल उक्त तारबार संरक्षणको लागि प्रर्याप्त बजेट नहुँदा धेरै जस्तो स्थानमा तारबार जिर्ण अवस्थामा पुगिसकेको छ । जसले गर्दा बाहिरबाट भुस्याहा कुकुरहरु आई कृष्णसारलाई क्षति गर्ने गरेको छ । साथै तारबारहरु खुला हुँदा कृष्णसारहरु बाहिर निस्कने, बाहिर गएर स्थानीहरुको अन्नबाली खाईदिने हुँदा मानव कृष्णसार द्वन्द समेत हुने गरेको छ । चरिचरण क्षेत्रमा मिचाहा प्रजातीको पनि समस्या उत्तिकै छ । बदलिँदो जलवायु परिवर्तनकन कारण बाह्य मिचाहा प्रजातिहरुले स्थानीय प्रजातीहरुलाई विस्थापित गरि आफ्नो स्थान लिने गरेको पाइन्छ। वि.सं. २०७१ को बाढीसँगै यस कृष्णसार संरक्षण क्षेत्रमा पहिले नदेखिएका विभिन्न मिचाहा प्रजातिको पनि समस्या वृद्घि भएको छ । खासगरि जराकुश, क्यासिया टोरा, सोलानुम, पार्थेनियम, ईपोमेया लगायतका मिचाहा प्रजातीका वनस्पतिहरु द्रुत रुपमा फैलिरहेको छ । जसले गर्दा कृष्णसारले मनपराउने स्थानीय प्रजातीहरु जस्तै दुबो, वन्सो जस्ता घाँसहरु हराउँदै गएका छन् ।
कृष्णसार संरक्षण क्षेत्रमा मांसाहारी शिकारी वन्यजन्तुको वृद्धि पनि चुनौतीका रुपमा देखा परेको छ । मांसाहारी वन्यजन्तु चितुवा, स्याल, फ्याउरो जस्ता दिन प्रतिदिन बढीरहेको छ । यति सानो संरक्षण क्षेत्रमा मासिक औसत ७ देखि १० वटा घरपालुवा जनावरको वन्यजन्तु चितुवाले क्षति गरि राहत मागको निवेदन दर्ता भएको डाटा अनुसार विगतको वर्षहरुमा भन्दा हाल चितुवाको संख्याहरु बढेको अनुमान लगाउन सकिन्छ । प्राय हुर्किसकेको कृष्णसारहरुलाई चितुवाले आक्रमण गरि मार्ने गरेको छ । चालु आ.व.को हालको मितिसम्म चितुवाबाट मात्रै १२ वटा भाले कृष्णसारको क्षति भएको छ । साथै रातको समयमा हिँडडुल गर्ने स्याल तथा फ्याउरो दिनको समयमै ग्रुपमा देखिनुले पनि तिनीहरुको संख्यामा वृद्धि भएको अनुमान लगाउन सकिन्छ । स्याल तथा फ्याउरोले विशेषगरी बच्चा जन्मने समयमा बच्चाहरुलाई मार्ने गर्दछ ।

कृष्णसार संरक्षणमा समुदायको भूमिका कस्तो पाउनु भयो अनि अझै के गर्नुपर्छ जस्तो लाग्छ ?

कृष्णसार संरक्षणमा समुदाय, सरोकारवालाहरुको मुख्य भुमिका छ । कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन परिषद्
कृष्णसार संरक्षण क्षेत्रले राष्ट्रिय तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, चौथो संशोधन २०४९ र संरक्षण क्षेत्र सरकारी व्यावस्थापन नियमावली, २०५७ अनुरुप सामुदायिक विकासको कार्यहरु गर्नको लागि यस क्षेत्रभित्र बसोबास गर्ने गाउँ टोलबाट ४३ महिला उपभोक्ता समूह र ४३ पुरुष उपभोक्ता समूह गरि जम्मा ८६ वटा उपभोक्ता समूह गठन गरेको छ । यी ८६ वटा समूहले ४ वटा उपभोक्ता समिति गठन छन् । प्रत्येक समितिमा ९ जना कार्यकारी सदस्यहरु छन् । ४ वटा उपभोक्ता समितिमा अध्यक्ष र २ जना महिला सदस्यले कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई प्रतिनिधित्व गर्दछन्, जुन कृष्णसार संरक्षण क्षेत्रको सर्वोच्च सामुदायिक निकाय हो । संरक्षण अधिकृतले परिषद्को सदस्य सचिवको रुपमा कार्य गर्दछन् । यस परिषद्को मुख्य गरि कार्यालय र स्थानीय विचको समन्वयात्मक भुमिका हुन्छ । स्थानीय सरकार गुलरिया नगरपालिका अन्र्तगत वडा नं १, २, ३ र ४ को केही भु भागमा पाईने कृष्णसार नगरपालिकाको पहिचानको रुपमा रहेको छ । तसर्थ गुलरिया नगरपालिकाले पनि अपनत्व लिई कृष्णसारको दिगो संरक्षणको लागि महत्वपूर्ण भुमिका हुन्छ । नगरपालिकाले संरक्षण क्षेत्रको कोर क्षेत्रभित्र नभए पनि मध्यवर्ती क्षेत्रका स्थानीहरुको जिवनस्तर सुधार हुने खालको विभिन्न कार्यहरु तथा सामुदायिक विकासको कार्यहरु गर्नुपर्ने देखिन्छ । साथै यस संरक्षण क्षेत्रभित्र रहेको गौशाला व्यवस्थापनको लागि समेत गुलरिया नगरपालिकाले सहयोग गर्नुपर्ने आवस्यक देखिन्छ ।

जिल्ला स्थित अन्य सरकारी तथा गैह्र सरकारी संस्थाहरुले बर्दिया जिल्लाकै पहिचानको रुपमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा रहेको कृष्णसारको दिगो संरक्षणको लागि कृष्णसारको संरक्षण बारे प्रचार प्रसार गर्ने तथा आवश्यकता अनुसार सहयोग गर्नुपर्छ । जिल्लास्थित सञ्चार माध्यम तथा सञ्चारकर्मीको पनि कृष्णसारमा भूमिका रहेको छ । कृष्णसारको संरक्षण सम्बन्धी विभिन्न सूचना प्रकाशनहरु गर्ने तथा पर्यापर्यटन प्रवर्द्धनको लागि प्रचार प्रसार गर्न उहाँहरुले गरेको योगदान पनि अमुल्य छ । अन्य सहयोगी संघ, संस्थाहरु ताल, डब्लुडब्लु एफ नेपाल, एनटीएनसी बर्दिया संरक्षण कार्यक्रम कृष्णसारको दिगो संरक्षणको लागि विभिन्न प्राविधिक तथा आर्थिक सहयोग पुर्याउँदै आउनु भएको छ ।

कृष्णसार संरक्षण क्षेत्रमा पर्यटक भित्र्याउन के गर्नु पर्ला ?

नेपालको एकमात्र प्राकृतिक बासस्थानमा रहेको कृष्णसार हेर्न विभिन्न स्थानबाट पर्यटकहरु यस स्थानमा आउँछन् । यस संरक्षण क्षेत्रमा पर्यापर्यटनको प्रचुर सम्भावना छ । यस संरक्षण क्षेत्र बर्दिया जिल्लाको सदरमुकाम नजिकै रहेको तथा हुलाकी राजमार्ग सँगै जोडिएकोले सजिलै पहुँच भएको संरक्षित क्षेत्र हो । साथै नेपालगञ्ज देखि गुलरिया हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज जानको लागि छिटो र सोझो हुलाकी राजमार्ग निर्माण भईसकेको छ । उक्त सडक खण्डको विचमा पर्ने यस संरक्षण क्षेत्रलाई पर्यटन कोरिडोरको रुपमा समेत विकास गर्न सकिने सम्भावना रहेको छ । यती धैरै सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारको कमि र अप्रर्याप्त पर्यटकिय भौतिक संरचनाहरुको कमिले गर्दा पर्यटकहरुको त्यती धेरै पर्यटकहरुको आगमन भएको छैन । यस क्षेत्रको पर्यटन विकासको लागि व्यापक प्रचार प्रसार गर्नु जरुरी छ । सवै भन्दा कान्छो संरक्षित क्षेत्रको रुपमा रहको यस संरक्षण क्षेत्रको बारेमा धैरैलाई थाहा छैन । जिल्ला स्थित कार्यालयहरु, मानिसहरुको विशेष चहलपल हुने स्थानहरुमा जस्तै विमानस्थल, सिमाना क्षेत्र, मुख्य बजार क्षेत्र तथा कृष्णसारको फोटो सहितको प्रचार प्रसार सामाग्री टाँस गर्ने तथा विभिन्न पर्यटन सम्बन्धी कार्यालयहरुको वेवसाईटहरुरुमा समेत यस क्षेत्रको बारेमा सूचना राख्न सकिन्छ । पर्यापर्यटनलाई आवश्यक भौतिक संरचनाहररु जस्तै सडक बाटोको सुधार, होटलहरु, खाजा पसलहरु, होमस्टेहरु सञ्चालन गर्न तथा अन्य व्यवसाय गर्न स्थानीयहरुको क्षमता अभिबृद्धी गर्ने खालको तालिमहरु सञ्चालन गर्नुपर्छ । ४० कि.मि. दुरीमै रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकहरुलाई विशेषगरी त्यस क्षत्रका पर्यटन व्यवसायी, नेचर गाईड तथा होटल सञ्चालकहरु सँग समन्वय गरी कम्तिमा एक दिन कृष्णसार संरक्षण क्षेत्रमा पनि घुम्न आउने वातावरण बनाउन सकिन्छ । यस संरक्षण क्षेत्रको वरपर प्राय यादव समुदायहरुको बसोबास रहेको हुँदा यादव संस्कृतीहरु, खानाका परिकारहरुलाई प्रबद्धन तथा यादव होमस्टेहरु सञ्चालन गर्न सकिन्छ ।

संरक्षण क्षेत्रको व्यवस्थापनको लागि सरकारी भूमिका के हुन सक्छ ?

कृष्णसार संरक्षण क्षेत्र कार्यालयले नियमित रुपमा कृष्णसारको संरक्षण र व्यवस्थापन कार्य गदै आईरहको छ । कृष्णसारहरु खुला ठाउँ तथा मसिनो दुबो जातको घाँसहरु मनपराउँछ । अनियन्त्रित चरिचरन तथा घाँसेमैदानमा बाह्य मिचाहा प्रजातीको अतिक्रमणले वासस्थान क्षेत्र दिन प्रतिदिन साँघुरिदै गएको छ । साथै कृष्णसारको वासस्थान क्षेत्रमानै रहेको अव्यवस्थित बसोबास सँगै उत्पन्न विभिन्न समस्याहरु जस्तै भुस्याहा कुकुरको वृद्धि, हो हल्ला, फोहरमैला तथा घरपालुवा जनावरको लागि चरिचरनले कृष्णसार संरक्षणमा प्रत्यक्ष रुपमा प्रभाव परिरहेको छ । तसर्थ कृष्णसारको दिगो संरक्षण र व्यवस्थापनको लागि सबैभन्दा मुख्य यस क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेको १४२ घरधुरीलाई व्यवस्थापन गर्नुपर्दछ । उक्त बस्तीलाई व्यवस्थापन गर्न सक्ने हो भने कृष्णसारको संख्या बढाउन केही पनि समस्या छैन । यसको लागि यस सँग प्रत्यक्ष सरोकार भएको गुलरिया नगरपालिका ले समन्वयात्मक भुमिका र नेपाल सरकारले केहि ठोस निर्णय गर्नुपर्दछ ।

कृष्णसार संरक्षण, व्यवस्थापनमा कार्यालयबाट कस्ता प्रयास भएका छन् ?

कृष्णसार संरक्षण क्षेत्र कार्यालयबाट कृष्णसार संरक्षणको लागि विभिन्न कार्यहरु हुँदै आएका छन् । कृष्णसारको प्रजाती संरक्षणको लागि नियमित रुपमा दिनको ४ पटक (विहान, दिउँसो, साँझ र राती) कर्मचारीहरुबाट कृष्णसार रेखदेख सहितको गस्ती हुन्छ । कृष्णसारको दैनिक गणना हुन्छ । आजको मितिमा १२६ पोथि र ४० भाले गरी जम्मा १६६ वटा कृष्णसार रहेको छ । घाईते तथा टुहुरा वन्यजन्तुको उद्दार हुने गरेको छ । कृष्णसारको वासस्थान क्षेत्रमा चरिचरन रोक्न गाईबस्तुलाई छिर्न नदिने तथा भुस्याहा कुकुर देखेमा लखेट्ने आदी कार्य नियमित हुन्छ । कृष्णसार संरक्षण सम्बन्धी विभिन्न जनचेतना अभिवृद्धिका कार्यहरु हुँदै आएका छन् । यसको बासस्थान संरक्षणमा विशेष ध्यान दिएका छौं । घाँसे मैदान व्यवस्थापनका लागि घाँस काट्ने, उखेल्ने, नियन्त्रित आयो लगाउने चालु आ.व. मा करिब ९० हेक्टर क्षेत्रमा घाँस ट्याक्टर प्रयोग गरि काटिएको छ । मिचाहा प्रजाती नियन्त्रणका लागि पार्थेनियम, जराकुश, कन्टकारी लगायतका बाह्य मिचाहा प्रजातीहरुलाई उखेल्ने तथा जलाउने गरिन्छ । कृष्णसारको लागि खानेपानी व्यवस्थापनको लागि ठाउँठाँउमा बोरिङ सहितको सोलार जडान तथा पानी पोखरी निर्माण लगायत सरसफाई गर्ने गरेका छौं । विशेषगरी सुख्खा याममा खानाको कमि हुने तथा वासस्थान क्षेत्रभन्दा बाहिर खेतिपाती सिजन भएको हुँदा कृष्णसारहरु बाहिर जाने गर्दछन् । तसर्थ कृष्णसारहरु बाहिर नजाउन भनेर वासस्थान क्षेत्रभित्र १० हेक्टर क्षेत्रफलमा मौसम अनुसारको मौसमि खेति गरिएको छ ।

खुल्ला क्षेत्र (सिमसार क्षेत्र) मा बेसर्मा हटाउन तथा स्थानीय आवश्यकता अनुसार संकलन गर्न अनुमति दिएका छौं । जथाभावी वन डढेलो लाग्न नदिन अग्नीरेखाहरु निर्माण तथा मर्मत कार्य भएको छ । मावन वन्यजन्तु सह–अस्थित्व कायम गर्न कृष्णसारहरुलाई वासस्थान क्षेत्रमानै रहने गरि विभिन्न घाँसेमैदान व्यवस्थापन देखि अनुगमन कार्य गर्दै आएका छौं । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९, (तेश्रो संशोधन २०७५) अनुसार प्रक्रिया पुरा गरि आएका निवेदनहरुमा नियमानुसार राहत वितरण गर्यौं । चालु आ.व.मा हालसम्म रु १ लाख ५०० रुपैया वितरण भईसकेको छ । स्थानीय स्तरमा विभिन्न जनचेतना अभिवृद्धीका कार्यहरु भएको छ । पर्यापर्यटन प्रवर्द्धनका लागि भ्यू टावरहरुको निर्माण तथा मर्मत, पर्यटक पदमार्गहरुको निर्माण तथा मर्मत भएको लगायत विभिन्न प्रचार प्रसार सम्बन्धी क्रियाकलापहरु भएका छन् । समुदायमा आधारित वन व्यवस्थापन, वागेश्वरी संरक्षण क्षेत्रको वन व्यवस्थापन कार्ययोजना नविकरण तथा विधान संशोधन, स्थानीहरुको लागि आवश्यकता अनुसार विभिन्न कार्र्यको लागि निःशुल्क दाउरा संकलन गर्न अनुमति लगायत नियमित वन क्षेत्रको अनुगमन भैरहेको छ । धन्यवाद

तपाइको मत