बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु
- मंगलबार माघ १७ , २०७९
विष्णु अधिकारी, बर्दिया । बर्दिया अस्पताल गुलरियामा पेन प्लस परियोजना मार्फत नसर्ने रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारिमा संचालन गरिएको परियोजना अन्तर्गतको पेन–प्लस क्लिनिक विधिवत रुपमा समुद्घाटन गरी उपचार शुरु गरिएको हो ।
क्लिनिकको उद्घाटन मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गर्नु भएको छ । पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण अकालमा मृत्यु हुने गरेको तथ्याङ्कका आधारमा नसर्ने रोगलाई पनि सरकारी तवरबाटै उच्च प्राथमिकतामा राखि बर्दिया अस्पतालमा सेवा सुभारम्भ गरिएको हो । विशेष गरेर पेन–प्लस क्लिनिकमा सुगर, प्रेसर, मुटु, क्यान्सर तथा सिकलसेलका विरामीहरुलाई निःशुल्क उपचार गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको जानकारी गराइएको छ । अस्पतालमा चेकजाँच गरिएका जटिल किसिमका विरामीलाई अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गरिने व्यवस्था रहेको छ ।
कार्यक्रम लागु भएपछि नसर्ने रोगका जटिल विरामीहरुले विशेष उपचार पाउने उद्घाटन कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रम बर्दियामा ल्याउन पहल गर्ने डा. भगवान कोइराला, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल लगाएतको टिमलाई संघिय सासद संजय कुमार गौतमले धन्यवाद दिनु भएको छ । कार्यक्रमका अतिथी गौतमले लागु गरिएको परियोजना बर्दिया अस्पतालमा सफलतापुर्ण संचालन हुने बताउनु भएको छ ।
पेन–प्लस कार्यक्रम बर्दिया अस्पतालमा सौभाग्यवस सुरुवात भएकोले यसवाट पाइने सेवा प्रभाहबाट बर्दियाबासीले नसर्ने रोगको उपचारमा लाभ लिनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताउनु भयो । सचिव पोखरेलले अस्पतालमा भएका औजारहरु संचालनका लागि तालिम प्राप्त जनशक्तिका लागि मन्त्रालयबाट तालिमको व्यवस्था गर्ने मन्त्रालयको योजना रहेको उहाँको भनाई छ ।
गुणस्तरिया उपचार सेवा प्रदान गर्नका लागि चुनौती रहेको अवस्थामा पेन–प्लस कार्यक्रमले प्रदान गर्ने सेवाका कारण विरामीहरुलाई उपचारमा आउन सहज हुने काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्राध्यापक डा. भगवान कोइरालाले जानकारी दिनुभयो । जनतालाई चाहिने सेवाको सर्वसुलभ रुपमा गुणस्तरिय सेवा दिनका लागि प्रोजेक्टले काम सुरु गरेको उहाँको भनाई छ । भएका चिजहरुको सदुपयोग गर्दै प्रत्यक्ष रुपले सुगर, प्रेसर, मुटु, क्यान्सर लगाएत सिकल सेलका विरामीहरुले यसबाट लाभ पाउने उहाँले दोहोर्याउनु भयो ।
पेन कार्यक्रम ७७ वटै जिल्लामा संचालन भएको र त्यही कार्यक्रमलाई परिमार्जित गरि पेन प्लस कार्यक्रम ६ वटा जिल्लामा संचालनमा गर्ने योजना अनुरुप बर्दियाबाट कार्यक्रम सुरु गरिएको बर्दिया अस्पतालका प्रमुख सुभाष पाण्डेयले बताउनु भयो । स्वास्थ्य मन्त्रालय, कार्यालय बर्दिया, भेरी अस्पताल नेपालगञ्जका प्रमुखहरु, प्रदेश सासद मालती सोडारी, राजेश चौधरी, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लगाएतको सहभागीता थियो ।