अस्पतालमा डाक्टर टिक्नै मुस्किल
- बिहिबार माघ १२ , २०७९
यादव आचार्य, गुलरिया । बर्दियाको बारबर्दिया नगरपालिका स्थित मगरागाडीमा अवस्थित आरसी थारु मेमोरियल नगर अस्पतालमा चिकित्सक अभाव हुँदा विरामीहरुलाई पूर्ण रुपमा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन । अस्पतालले नियुक्ती गरेका डाक्टर बृत्ति बिकास गर्न जागिर छाडेर पढाईका लागि अन्यत्र गएपछि अस्पतालमा चिकित्सकको कमी भएको छ ।
तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा बर्दियाको बारबर्दिया नगरपालिका स्थित मगरागाडीमा नगरपालिकाले संचालन गरेको स्वास्थ्य केन्द्र नगर अस्पतालको रुपमा संचालनमा छ । बारबर्दिया नगरपालिकाको सहकार्यमा संचालित अस्पतालमा डाक्टर नहुँदा विरामीहरु समस्यामा पर्ने गरेको स्थानिय डोरराज गिरीले बताए । कोटा र योग्यता अनुसारको चिकित्सक अस्पतालमा छैनन् । डाक्टरहरु अस्पतालमा आएपनि टिक्दैनन् । गुनासो पोख्दै उनले भने नगरको कारणले होकी माथीबाटै हो खोई केही बुझ्न सकिएन । स्वर्गिय पितामाता भैरव बहादुर र चित्रदेवी थापाको स्मृतिमा छोरावुहारी कपिन्द्र बहादुर र लक्ष्मी थापाले दान दिएको ५ कठ्ठा क्षेत्रफलमा आरसी थारु मेमोरियल नगर अस्पताल संचालनमा छ ।
आवस्यक जनशक्ति अभावमा सेवाग्राहीहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन् । सामान्य विरामी हुँदा स्थानिय स्तरमै उपचार गराउन सहज हुने भएपनि चिकित्सक अभावमा सेवा प्रवाहले गति लिन सकेको छैन । सरकारले स्वास्थ्यकर्मीको उचित ब्यवस्थापन गरिदिन गिरीको माग छ । बारबर्दिया र गुलरिया नगरपालिका जोड्ने छोटो दुरीको जब्दीघाट पुल बबई नदीले पूर्ण रुपमा क्षती पुर्याएपछि बर्दिया अस्पतालसँग स्वास्थ्य सेवा लिन कठिन भैरहेको अवस्थामा आरसी थारु मेमोरियल नगर अस्पतालमा पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने उनले प्रष्ट्याए ।
अस्पतालहरुमा विरामीको चाप बढीरहँदा चिकित्सक अभाव खट्किनु राम्रो कुरा होईन । अस्पतालले पारिश्रमीकमै डाक्टर राखेपनि विभिन्न वहानामा डाक्टरहरुले स्वास्थ्य संस्था छाड्ने क्रमले अस्पतालहरु समस्यामा परेका छन् । डाक्टर अभावमा अस्पतालले पूर्ण सेवा प्रवाह गर्न वञ्चित भएको छ । विगतमा ३ जना डाक्टरहरु अस्पतालमा रहेपनि अहिले १ जना मात्र डाक्टर मार्फत सेवा दिदै आएको आरसी थारु मेमोरियल अस्पतालका ब्यवस्थापक थिर बहादुर खड्काले बताए ।
करारमा राखिएका दुई जना डाक्टरहरु बृत्तिविकासका लागि अध्ययन गर्न राजीनामा दिएर छाडेपछि यतिखेर अस्पताललाई समस्या परेको छ । नगरपालिकाले पुन करारमा डाक्टर थप गर्ने तयारी गर्दैछ । अस्पताल मार्फत २४ घण्टे सेवा दिँदै आएका छौं । उनले भने अन्तरंग, वहिरंग, ईमरजेन्सी, बर्थिङ सेन्टर, सिकलसेल, खोप लगायत परिवार नियोजन सेवा अस्पतालमा उपलब्ध छ । अस्पतालमा दिनहुँ ५०÷६० जना विरामीहरु सेवा लिन आउँछन् । गर्मीका बेला बिरामीको चाँप बढ्छ । थारु समुदायमा स्वास्थ्य समस्याका रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार, परिक्षण र परामर्श सेवा अस्पतालले दिँदै आएको ब्यवस्थापक खड्काले प्रष्टपारे । अस्पतालमा विमा सेवा भएकाले पनि नगरका नियमित औषधी सेवन तथा परिक्षण सेवाका विरामीहरुको चाप रहने गर्छ ।