fbpx

स्थानिय गाईको नश्ल लोपहुने चिन्ता

स्थानिय गाईको नश्ल लोपहुने चिन्ता

यादव आचार्य, गुलरिया । नेपालको संविधानमा राष्ट्रिय जनावरको रुपमा उल्लेखित गाई कृषकहरुले दुध दिउन्जेल घरमा राख्ने र थाकेपछि खोलेर धपाईदिने परिपाटीले नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धार्मिक मान्यता अनुसार लक्ष्मीको संज्ञा दिईएका स्थानिय गाईहरु र्दुदशा भोग्न बाध्यछन् । संविधानमै संरक्षण गरिएका नेपाली गाईहरुको ब्यवहारमा संरक्षणको पहल नगरी विदेशी गाईहरु आयात गर्न थालेपछि स्थानिय गाईहरुको अस्तित्व र नश्ल खतरामा पर्ने चिन्ता थपिएको छ ।

नेपालको संविधानले राष्ट्रिय जनावरको रुपमा उल्लेख गरेको घर पालुवा जनावर गाईको नेपालमा उचित संरक्षण हुन सकेको छैन । मानिसहरुले गाईले दुध दिउन्जेल घरमा पाल्ने र दुध दिन छाडेपछि धपाई दिने प्रबृत्तीले गाईको अवस्था दिनानुदिन नाजुक बन्दै गैरहेको छ । नेपालको संविधानको धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको छ । गाईले संविधानमै महत्वपूर्ण दर्जा पाएपनि समाजमा त्यस्तो दर्जा नपाएको बुझिन्छ । गाईलाई समाजमा संरक्षणको हेतुले हेर्ने दृष्टिकोण उदार बन्न सकेको छैन ।

स्थानिय समाजसेवी एवम् प्राध्यापक अयोध्याप्रसाद श्रीवास्तवले भने राष्ट्रिय जनावरको रुपमा संविधानले घोषणा गरेको गाईको उचित स्याहार तथा संरक्षण हुन सकेन । गाईको संरक्षण राज्यको दायित्व भएपनि संरक्षण हुन सकेको छैन । दुध खाएर थाकेपछि मानिसहरु गोठबाट फुकालेर गाई धपाई दिन्छन् । यस्तो परिपाटी छाड्नु पर्छ । उनले थपे गौ संरक्षणको कार्यलाई अभियानकै रुपमा राज्यले पूर्ण दायित्व सहित ध्यान केन्द्रित गर्नुपर्छ । अन्यथा यसको अस्तित्व समाप्त भएर जान कुनै समय लाग्दैन ।

गाई संरक्षणको कार्यलाई अभियानको रुपमा आयआर्जनसँग जोडेर अघि बढ्नु पर्छ । यसले वैदेशिक रोजगारीमा कमी आई राष्ट्रिय जनावर संरक्षणमा टेवा पुग्छ । गुलरिया नगरपालिका खैरापुर निवासी गौ संरक्षणका अभियन्ता ओमप्रकाश यादवले भने स्थानीय जातका गाई हुँदाहुदै सरकारले विदेशी गाईहरु आयातलाई महत्व दिएको छ । यस्तै अवस्था रहे वास्तविक गाईहरु हराएर जान्छन् । स्थानिय गाईहरुको गोवर, गउत खेतीबारीमा मात्र होईन औषधीय कार्यमा पनि उपयोग हुन सक्छ । आयातित गाईहरुबाट प्राप्त हुने मलमूत्र उपयोगी नहुने उनको भनाई छ । समयमै स्थानिय गाई संरक्षण अभियानमा नजुटे स्थानिय गाईको नश्ल समेत हराएर जाने चिन्ता यादवको छ ।

केही दिन अघि दक्षिण कोरिया सरकारले उपहार स्वरुप प्रदान गरेको होलस्टिन फ्रिजन जातका १ सय वटा वाच्छीहरु नेपाल भित्र्याईएको छ । साढे ५६ करोड रुपैया बराबरको उपहारमा २० वटा साढेपनि ल्याईएको छ । स्थानियलाई उन्नतजातको गाईका रुपमा ति वाच्छीहरु उपलब्ध गराई दुग्ध उत्पादनलाई बढावा दिने योजना रहेको बुझिएको छ । परम्परागत रुपमा महत्व बोकेका स्थानिय जातका गाईहरुको ग्रामिण स्तरमा र्दुदशा छ ।

स्थानियले गाईलाई डोरी खोलेर धपाई दिने प्रबृत्ति बढेपछि बर्दियाका ८ वटै पालिकामा छाडा गाईको समस्या विकराल बन्दै गएको छ । नगरमा छाडा गाईको समस्या भएपछि गुलरिया नगरपालिकाको सहयोगमा गुलरिया नगरपालिका वडा नम्वर २ स्थित कृष्णसार संरक्षण क्षेत्र नजिकैको सामुदायिक वनमा गौशाला संचालन गरिएको वडा नम्वर २ का वडा अध्यक्ष टंकप्रसाद अधिकारीले बताए । उनले भने वडाले सकेको सहयोगगर्दै आएका छौं तर गुलरिया नगरपालिकाले बार्षिक १८ लाख रुपैया गौशालालाई उपलब्ध गराएको छ । छाडा गाई तथा गौशालामा रहेका गाईहरु फुत्किएर स्थानियको खेतीवाली नोक्सान गर्ने गरेको गुलरिया नगरपालिका वडा नम्वर २ खैरापुरका स्थानिय कृष्ण प्रसाद अधिकारीले गुनासो गरे ।

गौशाला स्थापना गरेपछि उत्साहित थियौं । तर त्यहाँबाट पनि गाई फुत्केर बालीनाली नोक्सान गर्न थालेपछि हामीलाई समस्या भयो । पूर्ण रुपमा छाडा पशु नियन्त्रण हुन सकेन । गौशालामा राखिएका गाईहरु आर्थिक अभावका कारण दर्दनाक मृत्यु वरण गर्न बाध्यछन् । गौशालामा ८ सय भन्दा बढी गाईहरु रहेको कृष्णसार गौशाला गुलरियाका अध्यक्ष कुलप्रसाद सुवेदीले बताए । गौशालामा गाई चराउने, पानी दिने र सामान्य औषधी उपचार गर्छौ यो पर्याप्त छैन । छाडा पशु संरक्षण अभावमा समस्याको रुपमा देखिएको छ । स्थानिय किसान, ब्यापारी, कर्मचारी सबैको गाई संरक्षण प्रति चाँसो दिनुपर्ने उनको बुझाई छ ।

तपाइको मत