हिउँदे बर्षाले बाँसगढीको रनिङ शिल्ड प्रतियोगिता स्थगित
- बुधबार माघ ११ , २०७९
विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाको नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ । बर्षाका कारण समस्या आएपछि नगरपालिका स्तरिय छनोट प्रतियोगिता स्थगित भएको छ ।
हिउँदे बर्षाका कारण माघ १३ गतेदेखि हुने भनिएको प्रतियोगिताको सबै तयारी गर्नुपर्ने बेलामा बर्षाले प्रतिकुल पार्दा अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि स्थगित गरिएको प्रतियोगिताका सचिवालय संयोजक खगेन्द्र चन्दले जानकारी दिनुभयो । बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा बासगढीको आयोजना र रामजानकी माध्यमिक विद्यालय भैसासुरको ब्यवस्थापनमा ५ औँ नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स ट्रयाकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हुनेछन् । यस्तै हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो समेत हुनेछ । मार्सल आर्टतर्फ कराटे र टेक्वान्डो खेल हुने भएका छन् । प्रतियोगितामा विद्यालय तहका विद्यार्थीहरुले भाग लिन पाउने जनाईएको छ । ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्डसहित नगद पुरस्कार रु. १० हजार, द्वितीयलाई रु. ७ हजार र तृतीय हुने विद्यालयलाई रु. ५ हजार पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।
त्यसैगरी खेलमा उत्कृष्ट हुने खेलाडीलाई ब्यक्तिगत नगद पु्स्कार र विद्यागत उत्कृष्ट खेलाडीलाई यूनिफमको ब्यवस्था गरिएको छ । प्रतियोगिताका लागि करिब ८ लाख वजेट छुट्याइएको प्रतियोगिताका सचिवालय संयोजक चन्दले बताउनुभयो । प्रतियोगिता यही माघ १३ गतेदखि १७ गतेसम्म हुने भनिएपनि मौषमका कारण प्रतियोगिता स्थगित गरिएको छ । मौसम प्रतिकुल हुँदा मधुवन नगरपालिकाको रनिङ शिल्ड प्रतियोगिता समेत स्थगित भएको छ ।