होइन ! कता जाँदैछ हाम्रो देश ?
- सोमबार माघ ९ , २०७९
रमेश थापा, बर्दिया । अस्ति भरखरै मन मिल्ने पुरानो साथीसंग कुराकानी भएको थियो । वहाँ बिदेशमा अध्ययन गरेको छोरा पढाइ पुरा गरी नेपाल फर्केर आएको खुसीयाली साट्न आतुर देखिनुहुन्थ्यो ।बुढेसकालको सहारा एउटै छोरो बिदेश गएको कारणले वहाँको मन भित्र गुम्सिएको उकुसमुकुसबाट मुक्त भएर प्रफुल्लित भएको आभास हुन्थ्यो वहाँको बोली र आवाज सुन्दा। छोराले नेपालमै केहि गर्छु भन्ने अटोठ गरेको छ यस कारण म खुसी छु भन्दै हौशिनुभएको थियो वहाँ ।
हाम्रो पनि दुइ छोरा मध्ये जेठो छोरा अध्ययन पुरा गरेर कामको सिलसिलामा बिदेशमा नै रहेका छन । कान्छो छोरा पनि अध्ययनको लागि बिदेश गएका थिए । पढाइ सकिएपछि उनलाई पनि बिस्तारै बिदेशको आकर्षणले तान्न थालिसकेको थियो । पछि दाजुको अर्ती र हाम्रो मायाले उनले बिदेशको मोह त्यागेर नेपाल फर्किएका छन । मैले पनि मन भित्र थुनिएको थामि नसक्नु खुसीको भेल खोलेर साथीसंग आत्मीयता बाँडेको थिएँ त्यतिबेला ।
समयले कोल्टे फेर्न धेरै बेर लाग्दो रहेनछ । साथी र म बीच कुराकानी भएको पनि करीब ६ महिना जति भैसकेको रहेछ । एकाबिहानै मोबाईल खोलेर हेर्दा मेरो साथीले छोरालाई एयरपोर्टमा बिदाइ गरेको फोटो देखें । म अचम्ममा परें । साथीले छोरालाई कहाँ पठाएको होला ? किन पठाएको होला भन्ने जिज्ञासाहरु मनमा सल्बलाउन थाले । तत्काल नै फोन गरौं कि भन्ने पनि लाग्यो, तर रोकिएँ । तर मनमा खुल्दुलि दौडिरहेको थियो ।
अर्को दिन बिहान साथीलाई फोन गरें । थकित र दबेको स्वरमा हेलो भन्दै वहाँले फोन उठाउनुभयो । मैले अभिवादन गरें ।सञ्चो बिसञ्चो सोधें वहाँले छोटकरी जवाफ दिंदै जानुभयो । मलाई लाग्यो वहाँले आँफुलाई भावनात्मक रुपमा कमजोर बनाउनुभएको छ । त्यसैले म वहाँबाट बिदा हुन चाहें । वहाँले हाम्रो छोराको बारेमा सोध्नु भयो । मैले सकरात्मक जवाफ दिएँ । वहाँ भक्कानिदै बोल्न थाल्नुभयो । मैले वहाँको बोली बुझ्न सकिन । वहाँ बोलिरहनुभयो म सुनि रहें ।
केहि बेरमा सम्हालिंदै वहाँ बोल्न थाल्नुभयो ।वहाँले भन्नु भयो यो देश असल मान्छे बस्न लायक रहेन यार ! हामी त जसोतसो जीवन बितायौं । अब जीवनको उत्तरार्द्धमा छौं । नया पिंढी यो देशमा अटाउन नसक्ने भए । जग्गा जमिन बाँझो छ, नेपालमा पढेर डिग्री पास गरेको सर्टिफिकट छ तर प्राथमिक तहको शिक्षकको परीक्षामा उत्तीर्ण हुन सकेको छैन । उद्योग धन्दा कल कारखाना केहि छैन ।युवाशक्तिलाई रोजगारी भनेको पार्टीको झण्डा र नेताको झोला बोक्ने बाहेक केहि छैन । सरकारी निकायमा बिचौलिया र घुसखोरीले सर्वसाधारण जनतालाई चुस्नसम्म चुसेका छन । देश बर्बाद भयो, हामी बर्बाद भयौं ।
वहाँले भन्दै जानुभयो, मेरो छोरा बिदेशमा पढेर उत्कृष्ट श्रेणीमा उत्तीर्ण भएको रहेछ । उसले आफ्नो पढाइलाई नेपालमा प्रयोग गर्ने सपना बुनेको थियो । यसको लागि उसले एउटा कम्पनी खोल्ने योजना बनाएको थियो । स्थानीय तहको सिफारीस सहित घरेलु उद्योगमा पुग्दा त्यहाँको घुस्याहा फाँटवालाले तीन दिनसम्म अनेकौं बहाना बनाउदै तारिखमा राखेछ । चौथो दिनमा यो पुगेन, त्यो पुगेन भनेर काम नहुने निर्णय सुनाएछ । मेरो छोराले के के पुगेन म पुर्याउँछु जे नपुगेको हो त्यो बताइदिनुहोस भनेर अनुरोध गर्दा उसले अर्को बिचौलियालाई देखाइदिएछ । मेरो छोराले बिचौलियासंग सम्पर्क गर्दा ठूलै धनराशि खर्च गरेर परियोजना प्रतिबेदन बनाउनुपर्ने, त्यहि कार्यालयको कर्मचारी मार्फत काम गर्ने हो भने आधा पैसामा र छिटो छरितो काम बनाइदिने सर्तमा बिचौलियाले कामको जिम्मा लिएछ ।
दुइ दिनपछि बिचौलियालाई पैसा बुझाएर परियोजना प्रतिबेदन बोकेर फाँटवालाकहाँ पुग्दा फाँटवालाले फाइल हराएकोले पुनः शुरुबाट फाइल शुरु गर्नुपर्ने कुरा बताएछ । छोरा निरास हुँदै घर फर्किएछ । घरेलु कार्यालयको घुस्याहा कर्मचारीले फायल गायब गरिदिएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्ने मनसाय बोकेर साथीको छोरा काठमाण्डौ हिंडेछ । करीब एक हप्तासम्म काठमाण्डौ बसेर कम्पनी रजिष्ट्रार कार्यालयका फाँटहरु डुल्दा डुल्दा छेउटुप्पो फेला पार्न नसकि कायल भएपछि बिचौलियाको शरणमा पुगेछ । बिचौलियाले कामको ग्यारेन्टी गरेर पेश्की लिई काम सकिएपछि बोलाउँछु भनेर घर फर्काइदिएछ ।
साथिको छोरा भित्र भित्रै निरास भैसकेको रहेछ । पैसा खर्च गरेर एउटा फर्म दर्ता गर्न नसक्ने म मुला फर्म दर्ता गरेपछि कसरी काम गरुँला भन्ने हिसाबले उ हरेश खाइसकेको रहेछ । यो देशमा गरिखान सकिन्न बरु बिदेश नै जानुपर्ला भन्ने मनसायले उ म्याद गुज्रेको राहदानीको सट्टा नया राहदानी बनाउने सोचमा पुगेछ । यसको लागि राष्ट्रिय परिचयपत्र बनाउदा उसको करीब एक हप्ता समय खर्च भएछ । राहदानीको लागि प्रयास गर्दा गर्दा कहिल्यै पालो नपाएर हायलकायल भएपछि बिचौलियाकै शरणमा परेछ । बिचौलिया मार्फत केहि रकम खर्च गरेपछि राहदानी हात परेछ । नेपाल बसाईको करीब एक बर्षको अबधिमा उसले प्राप्त गरेको सबै भन्दा ठूलो सफलता नै राहदानी हातमा पर्नु थियो रे।
कम्पनी दर्ताको प्रकृया अगाडी बढेसंगै उ आफ्नो कम्पनीको शुरुवात गर्नका लागि अपुग हुने पूँजी जम्मा गर्ने क्रममा आफ्नो वरिपरिका सबै बैंकको ढोकामा धाइसकेको रहेछ ।बैंकहरुका फर्मालिटी पुरा गर्दागर्दै पैसा र समय संसंगै खर्च हुने तर कामले कुनै गति नलिएपछि यो देशमा बसेर केहि गर्न सकिन्छ भन्ने उसका सबै भावनाहरु मरिसकेका रहेछन ।उसले यो देश छोड्नुको बिकल्प देख्न छोडिसकेको रहेछ । साथीको छोरा एक बर्षको अबधिमा धेरै टुटिसकेको थियो, देशमा केहि गर्छु भन्ने उसको उत्साह र जाँगर ओइलाई सकेको थियो ।
उसले आफ्ना बुवा आमा समक्ष म यो देशमा बस्न लायक छैन, म नालायक मान्छे यहाँ बसेर केहि गर्न पनि सक्दिन, म धेरै गलिसकेको छु, धेरै टुटिसकेको छु यस कारण म बाट यहाँ केहि हुनसक्दैन । त्यसैले मलाई मेरो सिप, दक्षता, क्षमता र योग्यता बेचेर योग्यता र क्षमता अनुसारको काम, काम अनुसारको दाम र इज्जतको जीवन बाँच्न पाउने देशमा जान दिनुहोस भनेर आग्रह गरेछ । मेरो साथीले छोराको अनुहारमा हेर्नुभएछ छोराको अनुहारमा थकान, निराशा र बेचैनीका रेखाहरु अनि आँखामा टिलपिल आँशु देख्नुभएछ । छोरालाई अंगालोमा बाँध्दै, बाबु तिम्रो आत्मसम्मान जहाँ मिल्छ त्यहाँ जाउ, तिमिलाई हाम्रो आशिर्वाद छ भन्नुभएछ । यो कुरा सुनेर आमा चाहि भक्कानिंदै रुन थाल्नुभएछ ।
छोरा आफुले पढेको देशमा कामको लागि आबेदन गरकोमा तुरुन्तै स्वीकृती प्राप्त भएकोले हतार हतार हिंड्नुपर्ने भएछ । अब दुई बर्षपछि आएर बिहे गर्ने र बुवा आमासंग खुसी साट्ने बाचा सहित छोरालाई बिदेश पठाउने क्रममा विमानस्थलसम्म बिदाईको लागि गएको कुरा साथीले सुनाउनुभयो । साथीको कुरा सुनिसकेपछि मेरो पनि मन खिन्न भयो । मलाई पनि भावनात्मक पीडाले थिच्न थाल्यो । मैले साथीलाई धेरै ढाडस दिन सकिन तर निरन्तर सम्बादमा रहने प्रतिवद्धता जनाउदै बिदा भएँ । म पनि कहिलेकाहीँ यसो भविश्यको बाटो हेर्दछु, कतै पनि आसाको दियो बलेको देख्दिन, जताततै अध्यारो र अन्धकार मात्र देख्दछु । बलिया पाखुरा भएकाहरु बैदेशिक रोजगारीमा छन, पढाईमा अब्बल, खेलकुदमा अब्बल ब्यक्तिहरु धमाधम बिदेशिदैछन ।
जग्गा जमिन बाँझिएका छन, बिदेशबाट अन्न आयात गरेर खानु परेको छ । अनेकौं बहाना र देखासिकीमा अनुत्पादक खर्चको प्रतिष्पर्धा छ ।ब्यापार ब्यवशाय गर्छौं भन्नेहरु उठ्नै नसक्ने गरी ऋणमा डुबेका छन । हाम्रो थाप्लोमा बैदेशिक ऋण दिनदिनै थपिंदैछ । यस्तो लाग्छ हाम्रा भावि सन्ततिका लागि यो देश साच्चै बिरानो बन्दै गएको छ । हामी जीवनको उत्तरार्द्धमा एक घुट्को पानी दिने मान्छे नपाएर तड्पि तड्पि मर्ने दिन कुरेर बस्नुको बिकल्प रहनेछैन जस्तो लाग्न थालेको छ मलाई पनि । होइन ! कता जाँदैछ हाम्रो देश ?
२०७९ माघ ९, ठाकुरद्वारा, बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन थापाको फेसवुक वालबाट ।