बर्दियाको गुलरियामा चितुवा आतंक : स्थानीय त्रसित
- सोमबार माघ ९ , २०७९
विष्णु अधिकारी, बर्दिया । जङ्गली जनावर चितुवा बस्ती पसि घरपालुवा पशु चौपाया मार्न थालेपछि स्थानीयहरु त्रसित बनिरहेका छन् । गुलरिया नगरपालिका वडा नं. ८ सर्जुनदि टपरामा बसोबास गर्ने स्थानीयहरुको पशुहरु चितुवाले दैनिक रुपमा आक्रमण गर्न थालेपछि पशु चौपायाको सुरक्षा कसरी गर्ने भन्ने विषयमा चिन्तित बनेका छन् ।
त्यहा बसोबास गर्ने स्थानीयहरु न्युन आय भएका कारण उनीहरुको कमसल फुसका घर छन् । चितुवा घर भित्र पस्ने त्रास उत्तिकै छ । पुस १८ गते देखि चितुवा बस्तीमा पसि ५ वटा बाख्रा, २ वटा गाई र २ वटा कुकुरलाई आक्रमण गरि मारिसकेको छ । दिनहुँ बेलुकी समसाझै चितुवा बस्तीमा देखिने गरेपछि घरभित्र बस्ने गरेको स्थानीय ईन्ताज मनिहारले बताउनु भयो । टपरा गाँउ देखि भारतीय मुर्तिहा जंगल नजिकै रहेका कारण वस्तीमा वन्यजन्तु आहाराको लागि आउने गर्छन । बाढिको त्रास भोग्दै आएका टपरा बासिले यसपटक चितुवाको आतंक व्योहोर्नु पर्दा थप समस्या झेल्नु परेको स्थानीयको गुनासो छ ।
अत्यन्तै विपन्न परिवारको वसोवास रहेको वस्तीमा अधिकांस स्थानीयहरु ज्यालामजदुरी गरेर छाक टार्न वाध्य छन् । चितुवा वस्ती पसि जसोतसो गरी पालेका घरपालुवा जनावर मार्न थालेपछि दैनिकिनै बिग्रन थालेको स्थानीय राजेश कुर्मी बताउनु हुन्छ । बर्दिया जिल्ला वन्यवन्तुको हिसाबले अत्यन्तै जोखिम जिल्ला मानिन्छ । निकुञ्ज क्षेत्र भन्दा वाहिर सामुदायीक वन क्षेत्रमा वन्यवन्तु प्रवेश गरेमा त्यसको व्यवस्थापन वनले गर्न परेपनी दक्ष जनशक्ति र आवश्यक उपकरण अभावका कारण वन कार्यालयलाई कठिनाई पर्नै गरेको छ । चितुवा वस्ती पसेको २२ दिनपछि डिभिजन वन कार्यालय बर्दिया गुलरियाको टोली त्यस क्षेत्रमा अनुगमनका लागि पुगेको छ ।
डिभिजनल वन कार्यालय बर्दियाका वन अधिकृत प्रविण विडारीले चितुवा नै हो भन्ने यकिन नभैसकेका कारण वन्यजन्तुलाई त्यस स्थानबाट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पहल सुरु गरिसकेको चुरेकुञ्जलाई बताउनु भएको छ । अधिकृत विडारीले चाडै नै त्यसको समस्या समाधानका लागि कार्यालयबाट त्यस स्थानमा कर्मचारि पठाई चितुवाको आवत जावत हुने स्थानको अनुगमन गरिसकेको हँुदा पहिचान पश्चात चितुवा नियन्त्रण हुने कुरामा ढुक्क हुन स्थानीयलाई विस्वास दिलाउनु भएको छ । विडारीले चितुवा नियन्त्रणमा नआउन्जेल सम्म स्थानीयहरुले आफु सुरक्षित हुनका लागि घर वरिवरिको झाडी सफाई गरि सुरक्षित स्थानमा बस्नका लागि सचेत पार्नू भएको छ । वर्दिया राष्ट्रिय निकुञ्जको समन्यवमा प्रकृती संरक्षण कोषको विज्ञहरुबाट जतिसक्दो चाडो व्यवस्थापन गर्ने उहाँको भनाई छ । चितुवाले आतंक फैलाएको स्थान गुलरिया बजार देखि करिब ३०० मिटरको दुरीमा पर्छ ।