fbpx

सुशासन प्रर्बद्धन गर्न राजापुरमा अख्तियारको अन्तरक्रिया

सुशासन प्रर्बद्धन गर्न राजापुरमा अख्तियारको अन्तरक्रिया


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजानिक पद धारण गरेका व्यक्तिहरुलाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनका लागि सुसुचित गर्न एक दिवसीय पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उजुरी फछर्यौट सम्बन्धी तथ्यांकीय झलक र स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति तथा आयोगको सुझावहरु प्रस्तुत गरिएको थियो । पछिल्लो समयमा कार्यालयमा विभिन्न बहानामा सेवाग्राहीसँग रकम असुल गर्ने, अनावश्यक झन्झट दिने जस्ता गलत प्रवृत्तिहरु मौलाएको र यसका विरुद्ध नागरिकहरु पनि जागरुक भएको, उजुरी तथा फछर्यौट सम्बन्धी तथ्यांकीय झलक, स्थानीय तहमा भ्रष्टाचारजन्य प्रवृत्ति, भ्रष्टाचारजन्य उजुरीका विषयहरु, समस्या समाधान र चुनौतिहरु, समस्या समाधानका लागि सुझावहरुका बारेमा सहभागीहरु माझ प्रस्तुत गरिएको थियो ।

बर्दिया जिल्लामा रहेका स्थानीय तहहरुको उजुरी सम्बन्धी विवरण र कार्यालयको कार्यक्षेत्रका जिल्लाहरुको उजुरीको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख बिजयराज पौडेलले प्रस्तुत गर्नु भएको थियो । आयोगमा धेरै जसो स्थानीय तह संघीय मामिला, स्थानीय तहमा शिक्षा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण मन्त्रालय, प्रदेश उद्योग पर्यटन वन तथा वातावरण जस्ता विषयगत उजुरी धेरै परेको जानकारी गराईएको थियो ।

अख्तियार आफैपनि समय समयमा विवादित वनेको सत्य तथ्य छानविन, वेनामी र नामको दुरुपयोग गरी दुषित मनसायले दर्ता भएका निवेदन उपर स्पष्ट हुन नसकेको र यो क्षेत्रमा अख्तियारको उपस्थिति बढाउनु पर्ने सुझाव सहभागिले दिएका थिए । झुठ्ठा विवरण र नामको दुरुपयोग गरी दुषित मनसायले दर्ता भएका निवेदनका कारण सरोकार नभएको व्यक्तिलाई मानसिक तनाव हुने र त्यसरी निवेदन दिनेको सूचना गलत भएमा सोही व्यक्ति, निकाय उपर कारबाही गर्न सके अख्तियारको लोकप्रियता बढ्ने सहागिको धारणा थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख पौडेलको अघ्यक्षतामा सुरु गरीएको कार्यक्रमको प्रमुख अथिती राजापुर नगरपालिकाको नगरप्रमुख दिपेश थारु विशिष्ट अतिथि उपप्रमुख मनकला कुमारी चौधरी रहनु भएको थियो । कार्यक्रममा शिक्षा, स्थानीय तह, सुरक्षाकर्मी, वन तथा वातावरण क्षेत्रका सरोकारवाला गरी करिब १ सय ३० जनाको सहभागीता रहेको थियो ।

तपाइको मत