खुला सिमानाले ब्यवसायी मर्कामा छौं–अध्यक्ष देवेन्द्र पाण्डे
- आइतबार बैशाख ५ , २०७८
चुरेकुञ्ज, गुलरिया । उद्योगबाणिज्य संघ बर्दिया गुलरियाका नवनिर्वाचित अध्यक्ष देवेन्द्र पाण्डे (मंगल) ले बर्दियाको खुला सिमाना ब्यवसायीको लागि समस्या रहेको बताएका छन् । संघले आयोजना गरेको नयाँ बर्षको शुभकामना एवम् निर्वाचित समितिको परिचयात्मक कार्यक्रममा ब्यवसायीको पिडा सुनाउँदै त्यस्तो बताएका हुन् ।
खुला सिमानाका कारण ब्यापार ब्यवसायमा मन्दी आउने गरेको छ । स्थानियहरु सीमावर्ती बजारमै पुगेर किनमेल गर्ने परिपाटीले स्थानिय ब्यापारीहरु मर्कामा छन् । उनले भने ब्यवसायीको समस्या समाधानका लागि स्थानियतहसँगको समन्वय र सहकार्यलाई अघि बढाउँछौं । नाका, सडक सञ्जाल लगायत बजार क्षेत्रको बिकासका लागि नवनिर्वाचित समिति डटेर लड्ने अध्यक्ष पाण्डेले प्रतिवद्धता गरेका छन् ।
शुभकामना कार्यक्रमकी प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सुशिला गिरीले आफू लगायत नगरपालिका स्थानिय ब्यापारीको पक्षमा रहेको वताईन् । हामी ब्यवसायीहरुको हितमा सधैं लड्छौ । कोरोनाको कहर बढीरहेकाले सावधानी अपनाउन प्रमुख अतिथि गिरीले सबैलाई सचेत पारिन् । उनले भनिन् पहिलो चरणको कोरोना कालमा स्थानियतहको सक्रियताले रोकथाम तथा नियन्त्रणमा सफलता प्राप्त गरेको छ । जनताको स्वास्थ्य लगायत जिउधनको सुरक्षामा नगरपालिका सधै साथमा रहने विस्वास दिलाईन् ।
गुलरिया नगरपालिका वडा नम्वर ७ की वडाअध्यक्ष गिता वस्नेतले सीमावर्ती कृषक ब्यापारीहरु धेरै समस्यामा रहेको वताईन् । निर्यातको आरोपमा आफूले पालन गरेका पशुचौपाया लगायत खाद्यान्न उपजहरु बजार पुर्याउन सास्ती खेप्नुपर्ने बाध्यता छ । सीमावर्ती किसानहरुको समस्या सम्वोधन गर्न स्थानिय प्रशासनसँग वडा अध्यक्ष वस्नेतले माग गरिन् ।