fbpx

महिनावारी हुँदा किशोरीलाई स्कूलमै आराम कक्ष

महिनावारी हुँदा किशोरीलाई स्कूलमै आराम कक्ष

यादव आचार्य, गुलरिया । मधुवन नगरपालिका चित्तले स्थित भृकुटी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा अनुराधा चौधरी महिनावारी हुँदा समेत विद्यालय जान्छिन् । स्कूलले मासिकश्राव भएका बेला समस्या परेका बखत आराम गर्न सुत्ने ब्यवस्था सहितको अलग्गै कोठा निर्माण गरेसँगै उनलाई श्रावका बेला विद्यालय जान सहज भएको छ ।

आराम कक्ष नहुँदाका बेला महिनावारी हुँदा धेरै समस्या पर्ने गथ्र्यो । उनले भनिन्, हिजोआज धेरै सजिलो भएको छ । पहिले पहिले महिनावारीका बेला विद्यालय आउने बातावरण नहुँदा पढाई छुट्थ्यो । अचेल त्यस्ता समस्या भोग्नु परेको छैन । आराम कक्षमा किशोरीहरुका लागि जान्नुपर्ने आवस्यक कुराहरु सम्वन्धी पुस्तकहरुपनि राखिएका छन् । जसका कारण धेरै कुरा बुझ्ने अवसरपनि पाउँछौं । खुशीहुँदै चौधरीले थपिन्, आवस्यक पर्दा स्कूलमै प्याड पाईने भएकाले पनि त्यती असहज छैन ।

विद्यालयले स्थानिय प्लान नेपाल, गेरुवा लगायत कोयका नामक संस्थासँगको सहयोगमा किशोर किशोरीको अधिकार रक्षार्थ पहल गर्दै आईरहेको छ । यसका साथै शौचालय तथा सरसफाइका लागि हातधुने धाराहरुको पनि ब्यवस्थापन समेत गरेको छ । विद्यालयमा किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्यका बारेमा जानकारीमूलक यौन स्वास्थ्य सम्बन्धी मेला गरिएको विद्यालयमा अध्ययनरत छात्र तेजबहादुर भण्डारीले बताए । मेलाका माध्यमबाट किशोर किशोरीहरुले महिनावारी लगायत यौनजन्य विषयमा धेरै जानकारी लिने अवसर पायौं । उनले भने स्कूलमा महिनावारी भएका छात्राको लागि आरामकक्ष बनेपछि किशोरीहरुको विद्यालयप्रति आर्कषण बढेको छ ।

यौन तथा प्रजनन् मेलामा स्वास्थ्य सचेतना सम्बन्धी ब्रुसरहरु, महिनावारी हुँदा प्रयोग गरिने प्याड लगायत किशोरकिशोरी सम्बन्धी ज्ञानबद्र्धन सामाग्रीहरुको स्टल राखिएको थियो । मेलामा छात्र, छात्राहरुले यौन स्वास्थ्य सामाग्रीहरुको अवलोकनगर्दै प्रयोगका बारेमा जानकारी लिएको भण्डारीको भनाई छ । किशोरकिशोरी स्वास्थ्य समस्याका बारेमा जानकारी लिने अवसर पायौं उनले प्रष्ट्याए । यस्ता सचेतनात्मक कृयाकलापसहितको कार्यक्रम बेलाबेलामा विद्यालयहरुमा गर्नुपर्छ ।

मधुवन नगरपालिकाले नगरका विद्यालयहरुमा नगर शिक्षा शाखा मार्फत स्वास्थ्य सचेतना बढाउने किसिमका कार्यक्रमहरु संचालनको तयारीमा रहेको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बताएका छन् । विद्यालय आउने तथा विद्यालय बाहिर रहेका किशोर किशोरीहरुलाई सचेतना पुर्याउने हाम्रो लक्ष्य हो । जसका लागि संघसंस्थाहरु मार्फ सहकार्य पनि गर्छौ । उनले भने स्वास्थ्य सम्बन्धी सचेतनाका लागि विद्यालय स्तरमा ब्यापक रुपमा अभियान शुरु गर्छौ ।

तपाइको मत