fbpx

शितलहर प्रभावित विपन्नलाई कम्बल बितरण

शितलहर प्रभावित विपन्नलाई कम्बल बितरण

चुरेकुञ्ज, गुलरिया । ठाकुरबाबा नगरपालिका वडा नम्वर २ निवासी मंगल विक चिसोमा कम्बल पाएर खुशी छन् । गरीबी र बेरोजगारी अवस्थामा दैवी प्रकोप उद्धार समिति बर्दियाले उपलब्ध गराएको कम्बल उनलाई चिसो रोक्ने सहारा बनेको छ । वास नभएका परिवारलाई न्यानो कपडाले जाडोमा राहत पुगेको छ ।

उनले भने हामीलाई थप राहतका कार्यक्रमहरु ल्याउनु पर्यो । अझै कति दिन जाडो रहने हो । हामी जस्ता गरीबले जाडोबढेपछि सडकमा दिनभरी आगो ताप्दै दिन गुजार्नुपर्छ । पश्चिम तराईमा बाक्लो हुस्सुसहित जाडो बढेपछि विपन्न परिवारलाई न्यानो कपडाका जिल्ला प्रहरी कार्यालय बर्दियाको अगुवाईमा जिल्ला दैवीप्रकोप उद्धार समितिले न्यानो कपडा बाँडेको छ । जिल्लाका विभिन्न पालिकामा रहेका विपन्न, जेष्ठ नागरिक, एकल महिला लगायत आपांग ब्यक्तीहरुलाई न्यानो कपडाका रुपमा कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

शितलहरबाट प्रभावित विपन्न नागरिकलाई न्यानो कपडा वितरण गर्न नेपाल सरकारबाट निर्देशन आएपछि हामीले न्यानो कपडा बाँडेका हौं । लक्षित समुदायमा नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा कम्बल वितरण गरेका छौं । नेपाल रेडक्रस सोसाईटीको ३ सय थान र दैवी प्रकोप उद्धार समितिको ४ सय गरी ७ सय थान कम्बल वितरण भएको छ । नजिकका हिमाली जिल्लाहरुमा हिउँपरेपछि तराईका जिल्लामा चिसो बढेको उनले बताए । चिसोबाट प्रभावित र जोखिम हुन सक्ने समुदायलाई लक्षित गरी न्यानो कपडाको रुपमा कम्बल वितरण गरेको उनको भनाई छ । बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकाका विपन्न नागरिकहरुलाई राहत स्वरुप न्यानो कपडाका रुपमा कम्बल वितरण गरिएको प्रजिअ बास्तोलाले प्रष्ट्याए ।

बर्दियामा लामो समयदेखि घाम नलागेपछि जाडो बढेको छ । अत्यधिक चिसोका कारण बृद्धबृद्धा, बालवालिका, गर्भभती, सुत्केरी महिला लगायत पशुचौपायाहरु प्रभावित बनेका छन् । चिसोका कारण अस्पतालहरुमा रुघाखोकी, दम, निमोनिया लगायतका विरामीहरुको संख्या बढ्न थालेको बर्दिया अस्पतालका डाक्टर विजय उपाध्यायले बताएका छन् । शीतलहर बढेपछि टमाटर, आलु, तोरी लगायतका कृषि उपजमा समेत हानी पुगेको छ । गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी प्रवेश यादवले भने तुषारापात भएपछि तोरीमा सेतो ढँुसी देखिएको छ । यस्तै अवस्था रहे तोरी उत्पादन घट्ने उनको चिन्ता छ ।

तपाइको मत