fbpx

माघी पर्वको अवसरमा ठाकुरद्वारा मन्दिरमा धार्मिक मेला

माघी पर्वको अवसरमा ठाकुरद्वारा मन्दिरमा धार्मिक मेला

यादव आचार्य, गुलरिया । माघे संक्रान्ति अर्थात मकर संक्रान्तीको अवसरमा बर्दियाको पर्यटकिय नगरी ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारामा अवस्थित ठाकुरजीको मन्दिरमा परम्परागत धार्मिक मेला चलेको छ । १२ औं शताब्दीमा मूर्ति स्थापना गरिएको ठाकुरबाबाको मन्दिर परिसरमा माघीको दिन धार्मिक मेला लाग्दै आएको छ ।

कोभिडका कारण २ वर्षदेखि लाग्न नसकेको मेला भब्य रुपमा सम्पन्न गर्न विशेष तयारी गरिएको ठाकुरद्वारा मन्दिर ब्यवस्थापन तथा विकास समितिका अध्यक्ष रुद्र बहादुर खड्काले जानकारी दिए । राती १ बजेदेखि मन्दिरको ढोका खुल्छ । भक्तजनहरुलाई पालैपालो लाईन लागेर पूजा, दर्शनको ब्यवस्था छ । ४ ठाउँमा नुहाउने ब्यवस्था मिलाएका छौं । ९ ठाउँमा आगोताप्न धुनी बाल्ने प्रवन्ध छ । उनले भने विभिन्न ठाउँबाट आउने तिर्थालुहरुलाई बस्ने ब्यवस्थासँगै शौचालय तथा सुरक्षाको कडा प्रबन्ध मिलाएका छौं ।

ठाकुरद्वारा मन्दिरमा लाग्ने मेला परम्परागत हो । थारु समुदायहरु माघी स्नान गरी जल ल्याएर ठाकुरजीको मूर्तिमा जल चढाएपछि माघी शुरु हुने परम्परा छ । माघीलाई नयाँ बर्षका रुपमा लिईने भएकाले मन्दिर परिसरमा भारत लगायत नेपालका बर्दिया, बाँके, काठमांडौ, सुर्खेत, दांग, धनगढी, वुटवल, महेन्द्रनगर लगायतका ब्यापारीहरु ब्यापार मेला समेत लगाउने गर्छन् । मेला रमाईलो हुने गरेको छ । करिव ६० हजार तिर्थालुहरु मन्दिरमा भित्रिने हाम्रो अनुमान छ । माघीको अर्कोदिन थारु तथा मगर समुदायको नृत्य प्रस्तुती हुन्छ । त्यपछि डेउढा लगायत विभिन्न जातजातीका स्थानिय नृत्य प्रस्तुत हुन्छ ।

माघी मेलाकै अवसर पारेर मेला परिसरमा संरक्षण लगायत पर्यटन सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए । संरक्षण सम्बन्धी बृत्त चित्र प्रस्तुतीसँगै बेलुकीको आरती गरी ठाकुरबाबा नगरपालिकाका नगरप्रमुखले कार्यक्रम उद्घाटन गरेको उनको भनाई छ । चोरी शिकारी नियन्त्रणमा ऐक्यवद्धता गर्न हामीले हस्ताक्षर अभियान पनि चलाएका छौं । मेलाको नाममा हुने चोरी शिकार नियन्त्रण गर्ने हाम्रो अभियान हो अध्यक्ष आचार्यले भने ।

गुलरियामा माघी महोत्सव

माघी पर्वको अवसरमा गुलरियामा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारीणी सभा बर्दियाले आयोजना गर्न लागेको महोत्सवमा बर्दियाका ८ वटै पालिकाहरुले सहयोग दिएका छन् । थारु समुदायको मौलिक कला, साहित्य र संस्कृती जगेर्नाका लागि महोत्सव आयोजना गरिएको थारु कल्याणकारी सभा बर्दियाका अध्यक्ष विरबहादुर चौधरीले बताए । माघ २ गते बर्दियाको गुलरिया स्थित टाउन हलमामा एक दिवसीय महोत्सव गर्दैछौ । थारु समुदायमा बर्ष भरी गरेका राम्रा नराम्रा काम, सुधार गर्नुपर्ने काम लगाएत घर छुट्टिने निर्णय समेत माघीमा हुन्छ ।

उनले भने माघी हाम्रो विशेष उत्सव भएकाले पनि संरक्षण गर्नु आवस्यक छ । थारु समुदायमा गाउँ संचालनका लागि गाउँ भेला गरि बडघर चुन्ने, गाउँको बार्षिक योजना निर्माण गर्ने काम माघीमै हुन्छ । महोत्सवमा थारु साँस्कृति नृत्य, झाँकी र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहन्छ । व्यवसायिक स्टलहरुको पनि व्यवस्था छ । थारु समुदायमा माघीको अघिल्लो साँझ जिता मार्ने र रातभर नाचगान गर्ने प्रचलन छ । नेपाल सरकारले माघी पर्वका दिन राष्ट्रिय विदा दिने गरेको छ ।

अन्य समुदायमा माघी

माघी पर्व थारु, मगर लगायत अन्य समुदायले पनि आआफ्नो परम्परा अनुसार मनाउने प्रचलन छ । माघीको दिन तिलको लड्डु, चाकु, घिउ, तरुल, शखरखण्ड लगायतका परिकारहरु बनाएर चढाउने, दान गर्ने र खाने गरिन्छ । समुदायमा मास र चामल मिसाएर पकाईएको परिकार खिचडी खाने प्रचलन छ । माघीका दिन ब्राम्हणहरु घरघरमा पुगी पाती पढ्ने, महिनाको नाम सुनाउने प्रचलन पनि रहँदै आएको पाईन्छ । सबै समुदायहरु माघीलाई उल्लास पूर्ण रुपमा मनाउने गरेका छन् ।

मगर संघ बर्दियाले माघीको पूर्व सन्ध्यामा गुलरियामा माघी मिलन कार्यक्रमहरु आयोजना गर्दै मनाएका छन् । माघीको अवसरमा बर्दियाका सबै पालिकाहरु, वडाहरु लगायत गाउटोलहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाईदै छ । माघी पर्वलाई लक्षितगर्दै बर्दियाको बारबर्दिया स्थित कुमरागाउँमा सालिन नेपाल नामक संस्थाले साँस्कृति मेला तथा बर्दिया उद्योग बाणिज्य संघले राजापुर महोत्सवको आयोजना गरेको छ ।

तपाइको मत