नसर्ने रोगका बिरामी बढ्दै
- आइतबार बैशाख ५ , २०७८
भिमा कंडेल, ठाकुरबाबा । सरुवा रोगको संक्रमण सगंसगै नसर्ने रोगका विरामी फेला पर्न थालेपछि त्यस्ता रोगबाट जोगिंदै सावधानी अपनाउन ठाकुरबाबा नगरपालिकाले अन्तरकृया कार्यक्रम गरेको छ । पछिल्लो समय सरुवा रोगसंगै नसर्ने रोगका बिरामीहरुको सख्यामा समेत बृद्धि हुन थालेपछि चिन्ता थपिएको छ ।
ठाकुरबाबा नगर अस्पतालमा दिनहुँजसो उच्च रक्तचाप, मधुमेह, प्यारालाइसिस, क्यान्सर, मृगौला रोगी, ब्रेन टयुमर रोगका विरामी चेकचाजको लागि आउने गर्छन् ठाकुरबाबा नगर अस्पतालका प्रमुख कुलदिप यादवले बताउनु भयो । जीवन शैलीमा सुधार गरेमा मात्रै नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ ।
कार्यक्रममा नसर्ने रोगका बारेमा जानकारी गराउदै यस्ता रोगबाट बच्न हरेक मानिसले आफ्नो व्यक्तिगत सरसफाई, दैनिक जीवनशैली र खानपानमा परिर्वतन गर्नुपर्ने उहाँले प्रष्ट्याउनु भएको छ । दैनिक शारीरिक ब्यायाम गर्नुपर्ने, स्वस्थ्यकर खानापान गर्नुपर्ने र लागुपदार्थ तथा कुलतको संगतमा नलागेमा नसर्ने रोगबाट बच्न सकिने उहाँको भनाइ छ ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले हरेक व्यक्तिले आफ्नो आनीवानी र जीवनशैली परिर्वतन गरेमा सर्ने तथा नसर्ने रोगबाट बच्न सकिने बताउनु भयो । नगरवासीमा अन्तरकृयाका माध्यमबाट सचेतना फैलाउन ठाकुरबाबा नगरपालिकाले कार्यक्रमको आयोजना गरेकोले यसलाई विस्तारै समुदायमा पनि सचेत पार्दै लगिने मेयर श्रेष्ठको भनाई छ ।