fbpx

थारु कल्याणकारीणी सभाले गुलरियामा माघी महोत्सव गर्ने

थारु कल्याणकारीणी सभाले गुलरियामा माघी महोत्सव गर्ने


विष्णु अधिकारी, बर्दिया । थारु समुदायको मौलिक कला, साहित्य र संस्कृती जगेर्नाका लागि थारु कल्याणकारीणी सभा बर्दियाले माघी महोत्सवको आयोजना गरेको छ । माघी पर्व एवम् नयाँ बर्षको अवसर पारेर माघ २ गते बर्दियाको गुलरियामा एक दिवसीय थारु महोत्सव आयोजना गरिएको छ ।

थारु समुदायले नयाँ बर्षका साथै ठुलो पर्वका रुपमा माघी पर्व मनाउने गरेका छन् । गुलरिया नगरपालिकाको प्राङ्गणमा माघी महोत्सवको आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत सभाका अध्यक्ष विर बहादुर चौधरीले जानकारी गराउनु भएको छ । थारु समुदायमा बर्ष भरी गरेका राम्रा काम तथा सुधार गर्नुपर्ने कार्य लगाएत घर छुट्टिने निर्णय समेत माघीमा हुने भएकाले यस पर्वलाई विशेष उत्सवका साथ मनाउने गरेको अध्यक्ष चौधरीले बताउनु भएको छ ।

थारु समुदायमा गाउँ संचालनका लागि गाउँ भेला गरि बडघर चुन्ने र गाउँको वर्षभरिको योजना निर्माण गर्ने, गाउँ संचालनको नियम बनाउने काम माघ महिनामै हुन्छ । माघी महोत्सव आयोजना गर्नुको प्रमुख उद्देश्य थारु समुदायको कला, सस्कृती, परम्पराको संवद्र्धन तथा प्रर्वद्धनगर्दै राष्ट्रिय मेलमिलाप, भातृत्व र सदभाव कायम गर्ने अध्यक्ष चौधरीको भनाई छ । महोत्सवमा लोकनाच, झाँकी र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै व्यवसायिक स्टलहरुको पनि व्यवस्था मिलाएको बताईएको छ ।

थारु कल्याणकारिणी सभाले स्टलबाट थारु परिकारको विक्रि गर्ने व्यवस्था मिलाउनुको साथै परिकारको प्रचार प्रसार गर्ने उद्देश्य लिएको छ । महोत्सवबाट थारुहरुको सास्कृतिक, ऐतिहासिक, धार्मिक, सामाजिक, आर्थिक, न्यायिक जस्ता विविध महत्वका विषयमा प्रचार प्रसार हुने विस्वास लिईएको छ । थारु समुदायमा माघीको अघिल्लो साँझ जिता मार्ने र रातभर ढुमरु गाईने प्रचलन रहेको छ । नेपाल सरकारले २०५९ साल देखि यस पर्वमा राष्ट्रिय विदा दिए पछि यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गरिएको छ ।

तपाइको मत