राजापुर नगरको वडा नम्वर ५ मा माघी मिलन कार्यक्रम
- शुक्रबार पौष २९ , २०७९
मिन अधिकारी, राजापुर । राजापुर नगरपालिका वडा नम्बर ५ बदालपुरको आयोजनामा माघी मिलन कार्यक्रम गरिएको छ । नेपालीहरुको महान पर्व माघें संक्राती तथा थारु समुदायको नयाँ वर्ष २६४५ को अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
माघी मिलन कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथि राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले हामी नेपाली संस्कृति र मूल्य मान्यतामा धनी रहेको र यसलाई जोगाउनु हामी सबैको जिम्मेवारी भएको वताउनु भएको छ । वडा नं. ५ मा अरु वडाको भन्दा फरक योजना सहित विकासको लहर बढी देखिएकोले यही गतिमा विकास भएमा छिटै वडाको मुहार फेरिने बताउनु भयो । स्थानीय बासीहरुले खुशीको महसुस हुने गरि आफुहरु काम गरेर देखाउनेभन्दै आउदै गरेको माघी पर्व तथा नयाँ वर्षको अवसरमा शुभकामना ब्यक्तगर्दै प्रमुख थारुले सबै एकताबद्ध भएर राजापुर नगरपालिकाको विकासमा लाग्न अनुरोध गर्नु भएको छ ।
विशेष अतिथिको आशनबाट बोल्दै उपप्रमुख मनकला कुमारी चौधरीले भौतिक पुर्वाधारको विकास सगैँ मानव जिवनको विकास गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोले विकास निर्माण गर्न नगरपालिका एक्लैले चाहेर मात्र नहुने बताउँदै सबै क्षेत्रबाट सहयोग र सुझावको आवश्यक रहेकोले सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । नगरका सम्मानित व्यक्तित्वहरुको महत्वपुर्ण सुझाव सल्लाह दिनुपर्नेभन्दै माघी पर्व तथा नयाँ वर्षको अवसरमा सम्पुर्ण नेपालीहरुको सुस्वास्थ्यको कामना गर्नु भएको छ ।
नगरमा उत्कृष्ट वडा वनाउने र स्थानीयलाई सहज रुपमा सेवा प्रवाह गर्ने वडाको योजना सफल हुदै गएको राजापुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले वताउनु भयो । नेपालीहरुको महान पर्व माघें संक्राती तथा थारु समुदायको नयाँ वर्ष २६४५ को शुभ अवसरमा वडा कार्यालयले आयोजना गरेको माघी मिलन कार्यक्रममा शुभकामना दिदै वडाध्यक्ष दहितले यस्तो वताउनु भएको हो । अध्यक्ष दहितले कार्यक्रममै वडाको चालु आ.व.को श्रावणदेखि हालसम्म वडाका गतिविधिहरु प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वडाका पुर्व राष्ट्र सेवक शिक्षक ६ जना, कृषि बैँक तथा वित्तिय संस्थाका ३ जना, पुर्व सुरक्षाकर्मी ७ जना, वरघर १४ जना, गा्रमिण स्वास्थ्यकर्मी १ जना गरि ३१ जनालाइ प्रशंसा सम्मान पत्र, खादा र थारु टोपीबाट सम्मान गरिएको थियो । उपस्थिति सम्पूर्ण अतिथिहरुलाई थारु टोपी र खादाले स्वागत गरिएको थियो । कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडासदस्यहरु, समाजसेवी, बुद्धिजीवि, पत्रकार उपस्थिति रहेको माघी मिलन कार्यक्रमको सञ्चालन वडा सचिव अमित दहितले गर्नु भएको थियो ।