लगातारको चिसोले बर्दियाको जनजीवन कष्टकर
- आइतबार पौष २४ , २०७९
चुरेकुञ्ज, गुलरिया । केही दिनदेखि एक्कासी बढेको चिसोका कारण बर्दिया लगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । विहानैदेखि बाक्लो हुस्सु र शितलहर परेका कारण बालवालिका, बृद्धबृद्धा, गर्भवती महिला एवम् पशुचौपायाहरु प्रभावित बनेका छन् ।
अत्यधिक चिसोका कारण अत्यावस्यक काम बाहेक मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । पश्चिमी वायु र नजिकका हिमाली जिल्लाहरुमा हिमपात भएसँगै तराईमा चिसो बढेको हो । बढी चिसो छ । चिसोका कारण शरिर काप्ने र हातखुट्टा कठ्याङ्रिने गरेको गुलरिया नगरपालिका वडा नम्वर ४ निवासी स्थानिय राधिका जिसीले बताईन् । केही दिनदेखि घामको मुख देख्न पाईएको छैन । केटाकेटी, बृद्धबृद्धा लगायत पशुचौपाया चिसोका कारण धेरै समस्यामा छन् । उनले भनिन् जाडोले गर्दा दम, रुघाखोकी लगायतका समस्या घरमै देखिएको छ ।
चिसो बढेपछि कलेज पनि विदा भएको बबई बहुमुखी क्याम्पस गुलरियाको चौथो बर्षमा अध्ययनरत छात्रा प्रमिला चौधरीले भनिन् । क्याम्पसले २१ दिनको लागि विदा दिएको छ । अब चिसोमा घरै आगो तापेर बस्ने हो । कलेज विदा नहुँदा चिसोले धेरै समस्या भएको थियो । जाडो विदा भएपछि हामीलाई धेरै राम्रो भयो । बर्दियाका ८ वटै स्थानिय पालिका अन्र्तगत संचालित सामुदायिक तथा निजि विद्यालयहरु बन्द भएका छैनन् । केही विद्यालयहरुमा परिक्षा चलिरहेको छ । विद्यालयहरुमा परिक्षा सकिएसँगै माघी र जाडोलाई मध्यनजरगर्दै विद्यालयहरुमा विदा दिने तयारी भैरहेको बुझिएको छ ।
जाडोमा परेको शितलहर तथा तुसारापातका कारण कृषि क्षेत्रमा समेत असर पुगेको छ । शितलहरका कारण आलु, टमाटर, तोरी लगायतका वाली तरकारीका विरुवाहरुमा क्षती पुगेको छ । घाम नलागेपछि पशुचौपायाहरु समेत सास्ती खेप्न बाध्य छन् । अत्याधिक चिसो बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले विपन्न परिवारहरुलाई न्यानो कपडाहरुको बन्दोवस्त गर्न संघ संस्थाहरुलाई आब्हान गरेको छ । जाडोका कारण बर्दिया अस्पतालमा आउने विरामीको संख्या बढेको छ ।
चिसो बढेपछि बर्दिया अस्पतालमा दम, रुघाखोकी, ज्वरो लगायत श्वासप्रश्वासका विरामीहरुको चाप बढेको बर्दिया अस्पतालका सर्जन डाक्टर विजय उपाध्यायले बताए । यतिखेर चिसो अत्याधिक छ । सावधानी अपनाउनु पनि उत्तिकै आवस्यक छ । चिसोमा तातो झोलिलो पदार्थहरु पिउनु पर्ने उनले सुझाए । न्यानोमा बस्ने, आगो ताप्ने गर्नुपर्छ । घरभित्र आगो बाल्नु हुँदैन । धुवाले श्वासप्रश्वासका विरामीलाई थप समस्या पार्छ । मौसम रापिलो नहुँदा सम्म हेलचक्राई गर्न नहुने डा. उपाध्यायको भनाई छ । जाडोमा बालवालिका, बृद्धबृद्धा तथा गर्भवती, सुत्केरी महिलाहरुले सावधानी अपनाउनु पर्नेमा उनको जोड छ ।