गेरुवा ग्रामिण जागरण संघद्वारा संचालित परियोजना अनुगमन
- सोमबार पौष १८ , २०७९
चुरेकुञ्ज, गुलरिया । गेरुवा ग्रामिण जागरण संघ बर्दियाद्वारा संचालित विभिन्न परियोजना मार्फत गरिएका कार्यक्रमहरुको अनुगमन गरिएको छ । संस्थाको परियोजना सल्लाहकार समिति बर्दियाको अगुवाईमा परियोजना मार्फत गरिएका कार्यहरुको अनुगमन गरिएको हो ।
बर्दिया जिल्लामा गेरुवा ग्रामीण जागरण संघ अन्र्तरगत संञ्चालित प्रयास परियोजना र वास एण्ड रेजिलेन्स परियोजनाले सन् २०२२ मा संञ्चालन तथा सम्पन्न गरेका क्रियाकलापहरुको गत शुक्रवार संयुक्त अनुगमन तथा अवलोकन गरिएको छ । संयुक्त अनुगमन तथा अवलोकन कार्यक्रममा जिल्ला परियोजना सल्लाहकार समितिका सदस्यहरुले टिडिएच फाउण्डेसन स्वीजरल्याण्डको साझेदारीमा सञ्चालित प्रयास परियोजनाले खैरापुर स्वास्थ्य संस्थामा निर्माण गरेको स्वास्थ्य संस्था जन्य फोहोर संकलन खाल्डो, स्वास्थ्य संस्थाको वास सुधार योजना, खानेपानी सुधार प्रणाली, हात धुने स्थानको अनुगमन गरेको छ । गेरुवा ग्रामीण जागरण संघ बर्दियाले समुदाय तथा स्वास्थ्य संस्थामा संञ्चालन तथा सम्पन्न गरेका क्रियाकलापहरु मार्फत सकारात्मक प्रभाव गरेको पाईएको अनुगमनका सहभागीहरुले प्रतिकृया दिएका छन् ।
त्यस्तै ठाकुरबाबा नगरपालिकामा सञ्चालनमा रहेको पुर्ण हातधुने अभियान कार्यक्रम अन्र्तरगत समुदायले आ आफ्नै पहलमा जडान गरेको टुटी सहितको हात धुने स्थान, समुदाय तथा सरोकारवाला निकायसंग छलफल कार्यक्रम, बारबर्दिया नगरपालिका स्थित रहेको आरसी थारु नगर अस्पताल, जयनगरमा निर्माण पश्चात सञ्चालनमा रहेको खानेपानी सुधार प्रणाली (बायो स्याण्ड फिल्टर), अस्पतालको वास सुधार योजना, फोहोर ब्यवस्थापन शैलीको अनुगमन गरिएको गेरुवा ग्रामिण जागरण संघका परियोजना संयोजक हरी सुवेदीले जानकारी दिनुभयो ।
बढैयाताल गाउँपालिका स्थित सोरहवा स्वास्थ्य संस्थामा फोहोर ब्यवस्थापनको लागि संस्थाद्वारा सहयोग गरिएको अटोक्लेब मसिन, फोहोर ब्यवस्थापन खाल्डो, पुन प्रयोग गर्नहुने फोहोर संकलन क्षेत्रका साथै खानेपानी सुधार प्रणालीको समेत अनुगमन गरिएको छ । संयुक्त अनुगमन तथा अवलोकन कार्यक्रममा जिल्ला परियोजना सल्लाहकार समिति मार्फत जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, समन्वय समितिका पालिका स्थित सदस्यहरु, जिल्ला समन्वय समितिका अन्य पदाधीकारी, जिल्ला स्थित कार्यालय, गैसस महासंघ बर्दियाका प्रतिनीधी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष लगायत सम्बन्धित नगरपालिका स्थित वडा अध्यक्षहरुको सहभागीता रहेको संस्थाका कर्मचारी दिवेश गिरीले जानकारी दिनु भएको छ ।