fbpx

अवैंध कुखुराको आयात बन्द गर्नुपर्ने पोल्ट्री ब्यवसायीको माग

अवैंध कुखुराको आयात बन्द गर्नुपर्ने पोल्ट्री ब्यवसायीको माग


विन्दु चौधरी, बाँसगढी । खुला सिमानाका कारण पोल्ट्री व्यवसायीहरु जोखिमको अवस्थामा रहेको व्यवसायी तथा सरोकारवालाहरुले बताएका छन् । बाँसगढी नगरपालिका पशुसेवा शाखाले आयोजना गरको १० औँ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले सरकारले सीमा नाकामा कडाइ नगर्दा व्यवसाय गर्न मुस्किल रहेको बताएका छन् ।

उनीहरुले बाहिरबाट आउने कुखुरा पूर्ण रुपमा बन्द नहुँदा सम्म व्यवसायीलाई अघि बढ्न चुनौती रहेको बताए । कार्यक्रममा जिल्ला कुखुरा व्यवसायी संघ बर्दियाका अध्यक्ष महेश शाहले आत्मनिर्भर व्यवसायको रुपमा रहेको पोल्ट्री क्षेत्र प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । दानाको कच्चा पदार्थमा मूल्य वृद्धि हुँदा कुखुरा उत्पादनमा लागत बढ्न गएकोभन्दै शाहले दानाको कच्चा पदार्थको रुपमा प्रयोग हुने मकै, भटमास लगायतका वस्तुहरू स्वदेशमा नै उत्पादन गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । पोल्ट्री सप्लायर्स व्यवसायी विकास गौतमले राज्यको नीति सहज बन्न नसक्दा पोल्ट्री व्यवसाय सङ्कटमा परेको गुनासो गर्नुभयो ।

कार्यक्रममा बाँसगढी नगरपालिका नगरप्रमुख खड्क बहादुर खड्काले सर्वसुलभ तरिकाले प्रोटिन सहित मानव शरीरलाई आवश्यक पर्ने तत्वहरू पाइने अण्डा र मासुको विकासका लागि पोल्ट्री क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । बासँगढीमा पोल्ट्रीजन्य उत्पादन दोब्बर बनाउने गरी स्थानिय तहले नीति निर्माण गरिरहेको जनाउनु भयो । सम्पुर्ण कृषि उपज तथा पशुपन्छीलाई कृषि विमाको दायरामा ल्याई बाँसगढी नगरपालिकालाई कृषिमा विमा सुनिश्चित पालिका घोषणा गर्ने लक्ष्य रहेको नगरप्रमुख खड्काको भनाई छ ।

पशुसेवा शाखाका प्रमुख ठाकुरदयाल शाहले इच्छुक मासु उत्पादक किसानले मासुको सस बनाउनका लागि पशुसेवा शाखाबाट मासु प्रशोधन केन्द्र लगाएतका कार्यक्रम ल्याउने योजनामा रहेको जानकारी दिनुभयो । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रविधिविज्ञ डाक्टर किरण गाहाले पोल्ट्रीको वर्तमान अवस्था, सम्भावना तथा चुनौती र पोल्ट्री उद्योगको बारेमा प्रष्टपार्नु भयो । नगर प्रमुख खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पोल्ट्री व्यवसायी, सप्लायर्स, विमा कम्पनी लगाएतको सहभागि थिए । कार्यक्रम पशुसेवा शाखाका पशुप्राविधिक धनश्याम तिवारीले संचालन गर्नुभएको हो ।

तपाइको मत