fbpx

बर्दियामा बलात्कारको घटनाहरु बढेको ईन्सेकको तथ्यांक

बर्दियामा बलात्कारको घटनाहरु बढेको ईन्सेकको तथ्यांक


विष्णु अधिकारी, बर्दिया । बर्दियामा बलात्कारको घटना बढ्दो क्रममा रहेको देखिएको छ । ईन्सेक बर्दियाले संकलन गरेको तथ्यांक अनुसार बलात्कार लगायतका आपराधिक घटनाहरु बृद्धि देखिएको छ ।

सन २०२२ जनवरी देखि डिसेम्बर सम्म ८९ वटा आपराधिक घटनाको तथ्याङ्ग ईन्सेकले सार्वजनिक गरेको छ । मानव अधिकार वर्ष पुस्तक सार्वजनिक पुर्व सरोकारवालाहरुका विच छलफल कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । जसमध्ये सुरक्षाकर्मीको गोली लागि १ जनाको मृत्यु, महिला हत्या २ जना, महिला हत्या प्रयास १ जना, महिला आत्महत्या दुरुत्साहन १ जना, महिला बलात्कार २० जना, बलात्कार प्रयास ४ जना, दुव्र्यवहार ५ जना भएको ईन्सेक बर्दियाका प्रतिनिधि मान बहादुर चौधरीले जानकारी गराउनु भएको छ ।

सबैभन्दा बढि बालिका बलात्कार घटना तथ्याङ्कमा देखिएको छ । तथ्याङ्क अनुसार बालिका बलात्कार ३६ जना, बलात्कार्र प्रयास यौनर्दुव्यवहार ८ जना, मानव वेचविखन २ जना, बालविवाह ३ जना र बहुविवाह ६ जना छन् । विभिन्न गैर सरकारी संस्था, स्थानीय तह तथा सरकारी संयन्त्र हुदाँपनि यस्ता किसिमका अपराधिक घटनाहरु बढिरहनु चिन्ताको विषय भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताउनु भएको छ । इन्सेकले तथ्याङ्क सार्वजनकि गर्दा ३ बर्षको तथ्याङ्क पनि समावेश गरेमा घटनाक्रम घट्दो या बढ्दो जानकारी लिन सकिने प्रजिअ बास्तोलाको सुझाव छ ।

औपचारिक रुपमा घटनाको प्रहरीमा जाहेरी नआएसम्म घटनाले मुद्धाको स्वरुप लिन नसक्ने उहाँले प्रष्ट्याउनु भयो । इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कले समाज कसरी अगाडी बढेको र कुन अवस्थामा रहेको भन्ने चित्रण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक हिक्मत बहादुर बोहोराले बताउनु भएको छ । बालविवाह र बहुविवाहलाइ अहिले पनि समाजले अपराधको रुपमा नलिने गरेकाले यस्ता किसिमका घटनाहरु घटिरहेको भएता पनि परम्परागत सोचका कारण यस्ता घटना प्रहरी समक्ष नआउने गरेको डीएसपी वोहोराले जानकारी दिनुभएको छ ।

तपाइको मत