fbpx

खाता करिडोरको भ्यू टावरबाट पर्यावरणको शानदार आनन्द

खाता करिडोरको भ्यू टावरबाट पर्यावरणको शानदार आनन्द


विष्णु अधिकारी, बर्दिया । बन्यजन्तु ओहोरदोहोरका लागि नेपालकै उत्कृष्ट बर्दियामा रहेको खाता जैविक मार्ग अन्तर्गत पर्ने गौरी सामुदायिक वन भित्र रहेको भ्यू टावरबाट प्रकृतीको अनुपम आनन्द लिन सकिन्छ । प्रचार प्रसारको अभावका कारण यस जैविक मार्ग पर्यटनका लागि भने गन्तव्य बन्न सकेको छैन ।

गुलरिया सदरमुकाम देखि २३ किलोमिटर दुरीमा रहेको खाता जैविक मार्ग वन्यजन्तुको लागि राजमार्गको रुपमा रहेको छ । वर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षमा यहि जैविक मार्ग हुदै वन्यजन्तु ओहोरदोहोर गर्ने भएकाले यस जैविक मार्गलाई उत्कृष्ट जैविक मार्गको रुपमा लिइन्छ । भ्यु टावरमा रात विताएमा वन्यजन्तुको सहजरुपमा अवलोकन गर्न पाईने र प्रकृतिको अद्भुत आनन्द लिन पाइने भएको हुँदा यस क्षेत्रलाई पर्यापर्यटनको गन्तव्यको रुपमा व्यवस्थापन गर्नुपर्ने अवलोकनकर्ता बताउँछन् ।

भ्यू टावरमा रात विताएका आन्तरिक पर्यटक नारायण अधिकारीले छुट्टै आनन्द लिएको बताउनु भयो । त्यहाँ बस्दा वन्यजन्तु तथा चराचुरुङ्गिको आवाज सुन्दा मन आनन्दित बनाएका कारण अरुहरुलाई पनि भ्यू टावरबाट वन्यजन्तु अवलोकनका लागि आउन उहाँको आग्रह छ । पर्यटक अधिकारीले त्यहाँ बसेर आफु फर्किदा प्रकृतिको अनुपम उपहार लिएर फर्केकोमा खुशी भएको अनुभुति चुरेकुञ्जलाई सुनाउनु भयो । करिब १० लाखको लागतमा निर्माण भएको भ्यू टावर वन्यजन्तु अवलोकनका लागि सुरक्षित गन्तव्य रहको छ । यस भ्यू टावरमा बास बस्नका लागि गौरी महिला सामुदायिक वनले आन्तरिक पर्यटकका लागि १ रातको ८ सय रुपैया मुल्य तोकेको छ ।

पर्यटकका लागि स्थानीय स्तरमा पाइने खाना प्याकेजिङ्ग गरि उपलब्ध गराउने खाता समन्वय समिति बर्दियाका उपाध्यक्ष भदै थारुले जानकारी दिनु भयो । सामुदायिक वन तथा स्थानीयहरुको आय आर्जनका लागि भ्यू टावरको व्यवस्था गरिएको हो । भ्यू टावरमा बसेमा पर्यटकहरुले पाटेवाघ, हात्ति, गैडा, चित्तल, विभिन्न प्रजातीका चराचुरुङ्गि अवलोकन गर्न पाउने उपाध्यक्ष थारु बताउनु हुन्छ । भ्यू टावरमा पर्यटक बढ्यो भने स्थानीयहरुको आयआर्जनमा वृद्धि हुनुका साथै वन्यजन्तु तथा पर्यावरणको संरक्षणमा पनि टेवा पुग्ने उपाध्यक्ष थारुको भनाई छ ।

खाता जैविक मार्ग करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ४ जनासम्म बास बस्न सक्ने भ्यू टावर निर्माणका लागि डिभिजन वन कार्यालय बर्दियाको ५ लाख, खाता समन्वय समितिको २ लाख र गौरी महिला सामुदायिक वनले १ लाख ५० हजार तथा स्थानीय जनश्रमदान बाट पक्कि भ्यू टावरको निर्माण गरिएको हो । भ्यू टावरका लागि २ सेट वेड, इनभर्टर तथा झ्यालका ग्रील तराई भू–परिधि कार्यक्रम (ताल) ले उपलब्ध गराएको गौरी महिला सामुदायिक वन समितिका अध्यक्ष भदै थारुले चुरेकुञ्जलाई बताउनु भएको छ । खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले भ्यू टावर निर्माण भएको नजिकै जैविक मार्गको बाटो मा नदिजन्य पदार्थ लिन आउने साधनहरु ओहोर दोहोर गर्दा वन्यजन्तुहरु तर्सेर भाग्ने तथा डराउने भएकाले यसको नियन्त्रणका लागि सम्बन्धित निकायलाई गुहार्दा पनि नसुनेको चुरेकुञ्जलाई दुखेसो पोख्नु भएको छ ।

भ्यु टावर भएको स्थान बाट वन्यजन्तु वढि हिड्ने र त्यही बाटो प्रयोग गरेर सवारी साधन हिड्दा वन्यजन्तुहरु दुर्घटनामा पर्न सक्ने अध्यक्ष गुरुङ्गले चिन्ता व्यक्त गर्नुभयो । खाता करिडोर सानो तर अत्यन्त महत्वपुर्ण स्थान हुनुका साथै यो बर्दिया राष्ट्रिय निकुञ्जको घाँटि भएकाले यसको संरक्षणका लागि सबैको समान चासोको विषय बन्नुपर्ने अध्यक्ष गुरुङ्ग बताउनु हुन्छ । वन्यजन्तुले पानि पिउने तथा हिड्ने ठाउँबाट नै टिप्परहरु ठुलो आवाज गरि हिड्ने भएकाले वन्यजन्तुहरुलाई समस्या हुनसक्ने उहाँको भनाई छ ।

खाता करिडोर निर्माण गर्नका लागि स्थानीयहरुले धेरै मेहनत गरेका छन् । विश्वमा परिचित खाता करिडोरले बर्दियालाई चिनाएको छ । त्यसकारण त्यहाँ बसोबास गर्ने जनताका लागि राज्यले उनीहरुको आयआर्जनमा वृद्धि हुने खालका कार्यक्रम तथा योजना ल्याएमा विश्वमा नै बर्दिया बाघको राजधानी भनेर कहलिन समय नलाग्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

तपाइको मत