fbpx

कलाकार मनोज भण्डारीको कृति “उकाली र ओराली” लोकार्पण

कलाकार मनोज भण्डारीको कृति “उकाली र ओराली” लोकार्पण

प्रभात सुवेदी, गुलरिया । बर्दियाली कलाकार मनोज भण्डारीको उकाली र ओराली, अनुभुती र भोगाई नामक कृति लोकार्पण गरिएको छ । भण्डारीको बार्षिक पुण्य तिथिको अवसर पारेर कृति सार्वजनिक गरिएको छ ।

मानिस पृथ्वीलोकमा कर्मका कारण जीवित रहने बर्दियाको राजापुरमा आयोजित कृति लोकार्पण एवम् सम्मान कार्यक्रममा वक्ताहरुले औँल्याएका छन् । बर्दियाली कलाकार मनोज भण्डारीको आत्मकथा समेटिएको कृति “उकाली र ओराली : अनुभूति र भोगाई” को लोकार्पण कार्यक्रममा शनिबार उपस्थित वक्ताहरुले उक्त धारणा राख्नुभएको हो । वहाँकी ममतामयी माता धन कुमारी भण्डारी, भेरी साहित्य समाज बर्दिया अध्यक्ष विष्णु प्रसाद मरासिनी, अग्रज कलाकार एकराज पौडेल र वहाँकी धर्मपत्नी शान्ता भण्डारीद्वारा उहाँको वार्षिक पुण्य तिथि पारेर यो कृति लोकार्पण गरिएको हो ।

भेरी साहित्य समाजद्वारा प्रकाशित तथा प्रभात सुवेदीद्वारा सम्पादित यो कृतिलाई पारिवारिक अनुमतिमा प्रकाशनमा ल्याइएको हो । दुई खण्डमा विभाजित यस कृतिको पहिलो खण्डमा मनोज भण्डारीको जीवन भोगाइलाई समेटिएको छ भने दोस्रो खण्डमा ‘स्वर्गतुल्य बर्दिया’ गीत समेटिएको छ । पुस्तकको मुद्रण बर्दिया अफसेट प्रेस गुलरियाले गरेको हो । भेरी साहित्य समाज बर्दियाका अध्यक्ष विष्णु प्रसाद मरासिनिको अध्यक्षता र बर्दियाली अग्रज कलाकार एकराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मनोज भण्डारीलाई मरणोपरान्त सम्मान गरिएको छ ।

कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै बर्दियाली अग्रज कलाकार एकराज पौडेलले मानिसका कलाकृतिलाई जीवन्त राख्नका लागि कसै न कसैको साथको आवश्यकता पर्ने भएको कुरा बताउनुहुँदै भानुभक्तलाई भानुभक्त बनाउनमा मोतिराम भट्टको योगदान रहेजस्तै मनोज भण्डारीलाई चिनाउन भेरी साहित्य समाज बर्दिया मोतिराम भट्ट जस्तै भइदिएको कुरा स्मरण गर्नुभयो । कार्यक्रममा भेरी साहित्य समाजका सचिव प्रभात सुवेदी, कोषाध्यक्ष राम प्रसाद लामिछाने, लक्ष्मण भण्डारी लगायत राजापुरका प्राज्ञिक व्यक्तित्व राज कुमार उपाध्याय, मनोज भण्डारीका अनन्य मित्र विष्णुमणि उपाध्याय र पारिवारीक इष्टमित्रहरु लगायतको उपस्थिति रहेको थियो ।

मनोज भण्डारीको बर्दियामा रहेर शिक्षा, साहित्य, सङ्गीत, नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । उहाँले बर्दियाका विभिन्न गाउँ बस्तीहरुमा दर्जनौँ जनचेतनामूलक कार्यक्रमहरुमा गीतहरु प्रस्तुत गनुभएको थियो । वहाले धेरै सडकनाटकहरु अभिनय गर्नुका साथै ‘अँध्यारो वस्ती’, ‘बर्दिया सुन्दरी’ जस्ता चलचित्रमा समेत जीवन्त अभिनय गर्नुभएको छ ।

तपाइको मत