fbpx

बढैयातालको ७ नम्वर वडाले गर्यो सार्वजनिक सुनुवाई

बढैयातालको ७ नम्वर वडाले गर्यो सार्वजनिक सुनुवाई


दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिका वडा नम्बर ७ ले सार्वजनिक सुनुवाई गरेको छ । वडा अध्यक्ष ँराधेश्याम थारुको अध्यक्षता तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यतामा चालु आर्थिक बर्ष प्रथम चौमासिकको बिकास निमार्ण तथा सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाई गरेको हो ।

वडाले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष थारुले ०७९ श्रावण १ गतेदेखि कार्तिक महिना सम्म भए गरेका बिकास निर्माण तथा लक्षित वर्गका कार्यक्रम र कृषिसंग सम्बन्धित अनुदानका कार्यक्रमहरुको प्रगति बिबण प्रस्तुत गर्नु भएको छ । वडा सचिब रणबहादुर रावतले प्रशानिक तथा पंजिकासंग सम्बन्धित प्रतिबेदन प्रस्तुत गर्नु भएको हो । सार्वजनिक पद र अधिकार धारण गरेका कर्तब्यपालक र सेवाग्राही बीच सार्वजनिक रुपमा हुने प्रत्यक्ष प्रश्नोत्तर बिधिवाट सेवा प्रवाहका समस्या तथा जन गुनासोको स्थितिबारे समिक्षासहित जानकारी लिनेदिने र प्रभाबकारी सेवा प्रवाह मूल्यांकन सुझाब र पृष्ठपोषण लिने उद्देश्यले सार्वजनिक सुनुवाई आयोजना गरिएको वडाले जनाएको छ ।

सार्वजनिक सुनाई कार्यक्रममा सहभागिहरुले वडाको भौतिक तथा पुर्वाधार बिकास, कृषि सम्बन्धि बिउ, मल, उत्पादित बस्तुको बजारीकरण, पशु सेवा, कृषि अनुदानका कार्यक्रम, बाढी पिडित तथा हावा हुरीवाट पिडित भएका हरुको राहत, जनता आवास कार्यक्रम, निशुल्क शिक्षा, स्वास्थ्य लगाएतका बारेमा जिज्ञासा राखेका थिए । केही सहभागिहरुले उपभोक्ता समिति निर्माण लगायत अनुदानका कार्यक्रमहरुमा बिभेद भएको गुनासो गरेका छन् । सहभागिहरु वाट उठेका प्रश्नहरुको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, पालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी, वडा अध्यक्ष राधेश्याम थारु र वडा सचिब रणबहादुर रावतले जबाफ दिनु भएको हो ।

स्थानिय सरकार ऐन २०७४ भित्र रहेर नीति, बिधी भित्र रहेर काम गरेको बताउदै सेवा प्रवाहमा कहि कतै पनि बिभेद नगरेको तथा कुनै पनि योजनाहरु बिधि र प्रकृयागत रुपमा सहभागिता मुलक भएको जानकारी गराउनु भएको छ । वडा कार्यालयवाट प्रदान गरिने सबै सेवाहरुमा नागरिक मैत्री तथा मुस्कान सहितको सेवा प्रदान गरिने वडा अध्यक्ष थारुले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । वडा सदस्य कृष्ण बहादुर क्षेत्रीले स्वागत र नागरिक समाजका सदस्य हिक्मत सुनारले संचालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य डिलमाया सुनार, टिकाराम सुनार, पार्टी प्रतिनिधी, महिला स्वास्थ्य स्वयंम सेबिका, कालिका प्रहरी चौकीका ईन्चार्ज, टोल सुधारका अध्यक्ष, स्थानिय बिद्यालयका प्रधानाध्यापक, संघ सस्थाका प्रतिनिधि, वडा नम्वर ७ का नागरिक समाजका संयोजक लगाएत स्थानिय गरी सवा सय जनाको सहभागीता रहेको थियो ।

तपाइको मत