क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण
- शनिबार बैशाख ४ , २०७८
भिमा कंडेल, ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ सिंहबाहिनी स्थित मनुषा टिकासिह थापा बहुमुखी क्याम्पसलाई ठाकुरबाबा नगरपालिकाले सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।
ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख कृष्णा कुस्मा थारु, स्वास्थ्य शाखा संयोजक इन्द्र बहादुर राजवंशीले एक कार्यक्रमका विच क्याम्पसका छात्राहरुको प्रयोजनका लागि ३ सय ६० पिस सेनेटरी प्याड उपलब्ध गराएको क्याम्पसका प्राध्यापक टेकराम चौधरीले जानकारी दिनुभयो । महिनावारी भएका बेला छात्राको पढाईमा बाधा नपुगोस भन्नका लागि पछिल्लो समय नगरका विद्यालयमा सेनेटरी प्याड वितरणलाई प्रथामिकतामा राखेर काम गरिरहेको नगरले अहिले क्याम्पसमा पनि सेनेटरी प्याड वितरण गरेको हो ।
महिनावारी भएकै कारण छात्रा क्याम्पस जानबाट वञ्चित नगर्न प्याड वितरण गरेको नगर उपप्रमुख थारुले बताउनुभयो । बर्दियाका ग्रामिण क्षेत्रहरुमा विद्यालय स्तरका छात्राहरु मात्र नभइ क्याम्पस स्तरका छात्रामा समेत महिनावारी भएको समयमा लजाउने समस्या कायमै रहेको पाईन्छ । महिनावारी हुदा बिचमै कक्षा छोडेर घर जानु पर्ने बाध्यता थियो । अब क्याम्पसमै प्याड उपलब्ध भएपछि पढाईमा बाधा नआउने मनुषा टिकासिह थापा बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छात्रा राधिका आचार्यले बताउनुभयो ।
सेनेटरी प्याड वितरणगर्दै नगरउपप्रमुख कृष्णा कुष्मा थारुले क्याम्पसले गर्दै गएको सुधार देखेर खुसी लागेको बताउनुभयो । ग्रामिण क्षेत्रमा अवस्थित मनुषा टिकासिह बहुमुखी क्याम्पसले पछिल्लो समय क्याम्पसको शैक्षिक तथा भौतिक संरचनामा उल्लेख्य सुधारगर्दै गएको छ । क्याम्पसले विद्यार्थीको पठन पाठनमा सहजताका लागि विभिन्न शैक्षिक सुधारका कार्यक्रमहरु अगाडी सारेको क्याम्पस प्रमुख युवराज शर्मा अधिकारी वताउनुहुन्छ ।
क्याम्पसको आफ्नो भौतिक संरचना अनएको समयमा पनि विद्यार्थीको पठनपाठनमा बाधा आउन दिएका छैनौ । अहिले आफ्नै भौतिक संरचना तयार भैसकेकाले अब भने थप शैक्षिक गुणस्तर सुधार हुदै जाने अपेक्षा हाम्रो छ । गतवर्ष कोरानोको कहरले विद्यार्थीको पठनपाठनमा असर परेको औल्याउदै क्याम्पस प्रमुखले यस बर्ष स्वास्थ्य मापदण्डका उपायहरु अपनाउदै पठनपाठनलाई जारी राख्ने बताउनुभएको छ ।
क्याम्पसको पढाइ त हो भन्दै बेवास्ता नगरीकन विद्यालय स्तरमा जस्तै अनुशासित र लगनशिल भएर पठनपाठनलाई निरन्तरता दिन उहाँको आग्रह छ । सरकारले शैक्षिक शत्र खेर जान नदिनका लागि विभिन्न प्रयासहरु गरिरहदा क्याम्पस तहमा भने कसैले चासो नदिएको उहाँको गुनासो छ ।
गएको असार साउनमा दिनुपर्ने प्रथम र दोस्रो बर्षका परिक्षाहरु अझै सञ्चालन भएका छैनन् । दोस्रो बर्षको परिक्षा आइतबारबाट सञ्चालन हुदैछ । प्रमुखले थप्नुभयो प्रथम बर्षको परिक्षा कहिले हुने भन्ने अझै टुंगो लागेको छैन् । तेस्रो र चौथो बर्षका परिक्षाहरु भने सम्पन्न भैसकेका छन् ।