मधुवनको भृकुटी माविमा यौन स्वास्थ्य सम्बन्धि मेला
- आइतबार पौष १० , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियाको मधुवनमा रहेको भृकुटी माविमा किशोरकिशोरी केन्द्रित स्वास्थ्य कार्यक्रम एवं मेला भएको छ । प्लान नेपाल इन्टरनेशनल नेपाल, कोइका तथा गेरुवा ग्रामिण जागरण संघको साझेदारीमा विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि मेला संचालन भएको हो ।
बर्दियामा विद्यालयका बालबालिका तथा किशोरकिशोरीलाई स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने उद्देश्यले गरिएको एक दिवसिय मेला सकिएको छ । मेलामा प्रजनन स्वास्थ्य सम्बन्धि सामाग्री, सन्देशमुलक पर्चा पम्पलेट र किशोरीहरुले महिनावारी हुँदा प्रयोग गर्ने प्याडको प्रयोग लगायत प्याडलाई व्यवस्थापन गर्ने मेसिन (बर्निङ्ग मेसीन प्याड) नै मेलाको मुख्य आर्कषण रहेको थियो ।
विद्यालयमा दौतरी शिक्षा लागु भएपछि महिनावारी हुँदा विद्यालयका गुरुहरु सँग सहज रुपमा प्याड माग्ने र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि खुलेर कुरा गर्न सक्ने भएको विद्यार्थीहरुले बताएका छन । महिनावारी हुँदा आराम गर्ने कक्ष र प्याड उपलब्ध भएपछि विद्यार्थीहरु स्कुल आउने क्रम बढ्नुका साथै किशोर किशोरीहरुका लागि प्रजनन स्वास्थ्य सम्बन्धि खुला छलफल हुने गरेको भृकुटी माध्यमिक विद्यालय चित्तले मधुवनकी छात्रा अनुराधा चौधरीले बताउनु भयो ।
उमेर नपुगी विवाह गर्दा कस्ता किसिमका स्वास्थ्य तथा सामाजिक असरहरु हुन्छ भन्ने बारेमा किशोरकिशोरीलाई सचेत पार्न यस्ता मेलाहरुले मद्दत पुग्ने गरेको विद्यालयका छात्र तेज भण्डारीको भनाई छ । आङ्ग खस्ने, गर्भपतन, किशोरावस्थाको जोखिमका विषयमा दौतरी शिक्षाबाट राम्रो÷नराम्रो छुट्याउन सक्ने नागरिक बन्न अभिप्रेरित गर्ने र विविध जानकारी प्राप्त भएको उहाँले अनुभव सुनाउनु भयो । संस्थाले विद्यालयमा विद्यार्थीका लागी लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय निर्माण गरि थप टेवा पुगेको छ, भने विद्यालयमै प्रजनन् स्वास्थ्य ज्ञान पाएपछि विद्यालयमा विद्यार्थीको उपस्थितीमा समेत बृद्धि भएको उहाँको भनाई छ ।
विद्यालयमा सुविधा सम्पन्न लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय निर्माण गरि हस्तान्तरण गर्ने तयारी छ । निर्माण भएका संरचनालाई कसरी दिगो रुपमा संचालन गर्ने विषयमा आफुहरु गम्भिर भएको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बताउनु भएको छ । किशोरीहरु महिनावारी हुँदा विद्यालय नजाने तथा गएपनि स्वास्थ्य समस्याका कारण स्कुलबाट चाडै घर फर्कने भएकाले मेलाले दिने सन्देश र विद्यालयमा नै आराम कक्ष भएकाले स्कुलमा विद्यार्थी आउने क्रम बढ्ने विश्वास नगरप्रमुख भाटले ब्यक्तगर्नु भयो । मधुवन सरकारले नगरका सवै विद्यालयमा स्वास्थ्य सुरक्षाका कार्यक्रम व्यापक रुपमा गरिएको उहाँको भनाई छ ।
विद्यालयमा लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय, महिनावारी कक्ष, दौतरी कक्षलाई सरोकारवाला निकायले दिगो रुपमा संचालन गर्नको लागि सबैको हातेमालो आवश्यक रहेको विद्यालयले जनाएको छ । मेलामा भृकुटी मावि, आधारभुत स्वास्थ्य केन्द्र र महिनावारी व्यवस्थापन समुह गरि ३ वटा स्टलमा प्रजनन सम्बन्धि पाठ्यपुस्तक तथा सामाग्री राखिएका थिए ।