fbpx

किसानको जतिपनि दुध डेरीमै खपत

किसानको जतिपनि दुध डेरीमै खपत

यादव आचार्य, गुलरिया । पशुपालक किसानले दिएको जतिपनि दुध डेरीमै किनबेच हुने भएपछि बर्दिया राजापुरकी पशुपालक किसान ललिता न्यौपानै खुशी छिन् । ‘घर नजिकै दुध बेच्न पाएकी छु । भनेको बेला नगद पाउँछु । उनले भनिन्, सहकारीबाट पशुविमा, विउविजन, पशुचारा, मल लगायतका सामाग्री पाउँदा दुग्ध ब्यवसाय थप फस्टाउने अवसर पाएकी छु ।’

‘स्थानिय सहकारीले किसानका दुध निर्वाध रुपमा उचित मुल्यमै डेरीमा खरिदबिक्री गर्न थालेपछि राजापुरका किसान लाभान्वित भएका छन् ।’ ‘राजापुरको सुसेली बहुमुखी सहकारी संस्था लिमिटेडले दैनिक ६ सय लिटर दुध संकलन गरी राजापुर क्षेत्रमा खपत भई बचेको दुध नेपाल दुग्ध बिकास संस्थानमा बिक्रि गर्छ ।’ ‘स्थानिय स्तरमा उत्पादित दुध संकलन गरी बिक्रि हुँदा स्थानिय दुग्ध किसानहरु आर्थिक रुपमा सबल बन्न थालेका छन् ।’, ‘सहकारीका माध्यमबाट किसानको उत्पादनलाई बजारीकरण गर्दा किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन्,’ राजापुर नगरपालिका वडा नम्वर ८ स्थित डेरी संचालक डम्बर बहादुर खत्रीले बताए ।

‘हामीले दीगो ब्यवसायका रुपमा दुग्ध चिस्यान केन्द्र समेत संचालनमा ल्याएका छौं ।’ उनले भने, ‘दुई हजार लिटर क्षमताको चिलिङ भ्याट जडान गरेका छौं, यहाँको दुध शुद्ध रहने भएकाले पनि उपभोक्ताबाट दुधको माग बढी छ ।’ किसानबाट लिएको दुध थोरै मुनाफा लिएर बिक्री गर्ने गरेको खत्रीको भनाई छ । राजापुर क्षेत्र कृषिको लागि पकेट क्षेत्रका रुपमा महत्वपूर्ण मानिन्छ । यहाँका स्थानियहरु कृषि उपजसँगै पशुब्यवसाय समेतगर्दै आएका छन् । ‘कृषकहरुको मागलाई हेरेर दुध संकलन केन्द्र स्थापना गरेका हौं’ । सुुसेली बहुमुखी सहकारी संस्थाका अध्यक्ष टिकाराम रेग्मीले भन, ‘राजापुर नगरपालिकाले १० लाख रुपैया दुग्ध किसानहरुका लागि विनियोजन गरेको छ ।’

‘साविक राजापुर नगरपालिका वडा नम्वर ३ अन्र्तगत रजपुरवाका २५ जना सदस्य किसानहरुले ०६४ सालमा डिभिजन सहकारी कार्यालय बाँके पुगी विधिवत रुपमा दर्ता गरी संचालनमा ल्याईएको सहकारी संस्थाले किसानमैत्री सेवा विस्तार गर्दै आईरहेका छौं,’ अध्यक्ष रेग्मीले थपे, ‘स्थानिय श्रोत साधन परिचालन गरी स्थानिय स्तरमै रोजगारी श्रृजना गर्न सफल भएका छौं ।’ ‘सहकारीले सदस्यहरुलाई दुध उत्पादन, कृषि उत्पादन प्रशोधन, उपभोग्य बस्तुको कारोबार, बचत संकलन तथा ऋण लगानी, मलखाद खरिद बिक्री लगायतका सेवाहरु सहकारीले गर्दै आईरहेको छ ।’

साभार : अन्नपूर्ण पोस्ट्बाट ।

तपाइको मत