fbpx

बबई साप्ताहिक पत्रिका निरन्तर प्रकाशनको हार्दिक शुभकामना

बबई साप्ताहिक पत्रिका निरन्तर प्रकाशनको हार्दिक शुभकामना

यादव आचार्य, गुलरिया, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ बाट दुई दशक अघि प्रकाशन शुरु गरेको स्थानिय बबई साप्ताहिक पत्रिकाले प्रकाशनको बिसौं बर्ष पूरा गरी २१ औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा सर्वप्रथम अग्रप्रगती सहित अविराम प्रकाशनको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस घडीमा पाठक, बिज्ञापनदाता, पत्रिकाका शुभचिन्तकहरु, प्रकाशक, सम्पादक मण्डल एवम् बबई साप्ताहिक परिवार प्रति सहृदयी धन्यवाद पनि ब्यक्त गर्दछु । पत्रिका संचालकको मिहिनेत, लगाव, ईमान्दारीता, पत्रकारिताको मुल्य, मान्यता, सिद्धान्त प्रतिको आत्मसात सबैको तारतम्य नै पत्रिकाले प्राप्त गरेको सफलता हो भन्दा फरक नपर्ला ।

भित्ते पत्रिका लेखन तथा चिठि पत्रको ईतिहासबाट शुरु भएको बर्दियाको स्थानिय पत्रपत्रिका प्रकाशनको ब्यथा आजको प्रविधिकालिन दशकमा आईपुगेको महसुस गर्न थालिएको छ । बर्दियामा पत्रपत्रिकाको प्रकाशन शुरुगर्दै अग्रजहरुको मार्ग दर्शनका कारण पनि जिल्लामा पत्रकारिताले ब्यापकता पाएको कुराहरु छर्लङ्ग छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय बर्दियामा पत्रपत्रिका प्रकाशनको लागि २ दर्जन भन्दा बढी पत्रपत्रिकाहरु दर्ता भएको अभिलेख पाईन्छ । दर्ताको अभिलेख अनुसारको जिल्लामा पत्रपत्रिका निरन्तर प्रकाशन भएको पाईदैन । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायतका करिव १ दर्जन बढी पत्रपत्रिकाहरु बर्दियामा प्रकाशन हुने गरेका छन् । बबई, चुरेकुञ्ज, कोठियाघाट साप्ताहिक गरी ३ वटा पत्रिका नेपाल सरकारको प्रेस काउन्सिलमा वर्गिकरण भएका छन् । केही पत्रिकाहरु बर्गिकरणको आवेदन दिएको अवस्था छ । आधा दर्जन पत्रिकाहरु निरन्तर प्रकाशनको प्रयासमा छन् । केही पत्रिकाहरुको प्रकाशन बन्द भैसकेको छ भने केही बन्द गर्ने तयारीमा छन् ।

बर्दियामा पत्रपत्रिका प्रकाशनको चुनौतीपूर्ण अवस्थामा छ । ठूला ठूला उद्योग धन्दाहरु नहुनु, ब्यापार ब्यवसाय मन्दी तथा केही ब्यवसायीहरुमा आफ्नो ब्यवसायको प्रचार प्रसार गर्नुपर्छ भन्ने भावना जागृत नहुनु स्थानिय पत्रपत्रिकाको लागि अभिषाप हो । स्थानिय सरकारले जुन रुपमा स्थानिय पत्रपत्रिकाको अपनत्व लिनुपर्ने थियो त्यस अनुरुप अपनत्व ग्रहण नगर्दा स्थानिय पत्रपत्रिकाहरु धराशायी हुने अवस्थामा छन् । स्थानिय सरकारले स्थानिय संचारनिति निर्माणगर्दै स्थानिय विज्ञापन तथा पत्र पत्रिकाहरुलाई ब्यवस्थित गर्नु आवस्यक देखिन्छ । जिल्लाका पत्रपत्रिकाहरु विज्ञापन नपाएर बन्द गर्ने अवस्थामा छन् । जिल्ला बाहिरका पत्रपत्रिकाहरु पहुँच र कमिशनको कारण बर्षेनी करोडौंको विज्ञापन जिल्ला बाहिर पुर्याई रहेका छन् । जसका कारण पनि स्थानिय पत्रपत्रिकाहरुको प्रर्बद्धनमा बाधक बनेको छ । स्थानिय सरकारले यस्ता कुराहरुको अविलम्ब विचार गरी स्थानिय पत्रपत्रिकाको बिकासमा अघी बढ्नु पर्ने आवस्यकता छ । स्थानिय तहले विज्ञापन निति निर्माणगर्दैै स्थानिय मिडियाहरुलाई विज्ञापन उपलब्ध गराउने प्रणालीको बिकास गर्नु पर्छ ।

यस्ता अनेकन चुनौतीका विच बबई साप्ताहिक पत्रिकाले प्रकाशनको विसौं बर्ष पूरा गरी एक्काईसौं बर्षमा प्रवेश गर्नु बबई साप्ताहिक पत्रिकाको लागि मात्र होईन सम्पूर्ण बर्दियावासीको लागि सुखद पक्ष हो । बर्दियामा स्थानिय पत्रपत्रिका संचालन गर्न विज्ञापन मात्र समस्या होईन । यहाँका प्रेसहरु, पत्रपत्रिकाको लागि दक्ष कामदार अभाव, यातायातको द्रुत पहुँच लगायत प्रकाशकहरुले यथेष्ट मात्रामा लगानी गर्न नसक्नु अर्को चुनौती हो । लगानी अभावमा एउटा पत्रिका संचालकले ५ जना कामदारले गर्ने जिम्मेवारी निर्वाह गरेपछि बल्ल पत्रिका निस्कने अवस्था भएका पत्रिकाहरु पनि बर्दियामा छन् । पत्रिका प्रकाशन भैसकेपछि सर्कुलेशन पनि स्थानिय पत्रपत्रिकाको कमजोर पक्ष हो । जिल्लाका सबै पालिकामा पत्रिका पुग्न नसकेको अवस्था छ । केही पत्रपत्रिकाले हुलाक मार्फत स्थानिय तहहरुमा पत्रिका पुर्याएपनि गाउँगाउँमा पत्रपत्रिका पुग्न सकेको अवस्था छैन । यसको लागि पत्रिकाको समृद्धि नै महत्वपूर्ण पाटो हो । सम्वन्धित निकाय स्थानिय सरकारले चाहेको खण्डमा गाउँगाउँमा पत्रिका पुग्ने कुरामा दुईमत छैन ।

स्थानिय तहले पहुँचको आधारमा विज्ञापन दिने परिपाटी तत्काल बन्द गरी एउटा स्थानिय प्रणालीको विकासगर्दै स्थानिय पत्रपत्रिकाको समृद्धिमा कदम चाल्नु आजको टट्कारो आवस्यकता हो । बबई साप्ताहिक पत्रिकाले दुई दशकमा यस्ता अनेकन आरोह अवरोह पार गरेको छ । अन्य पत्रिकाहरुका पनि संघर्षपूर्ण अवस्थाबाट जिल्लामा प्रकाशन अघि बढाई रहेको अवस्था छ । स्थानिय पत्रपत्रिकाहरु पनि सूचनाका महत्वपूर्ण सम्वाहक हुन् । जनताको सुचना प्रवाहगर्दै सुसुचित पार्ने अभियानमा स्थानिय पत्रपत्रिकाहरु छन् । तशर्थ बर्दियामा प्रकाशित भैरहेका पत्रपत्रिका, एफएम रेडीयो लगायत अनलाईन सञ्चार माध्यमहरुको दीगो बिकासका लागि स्थानिय सरकार, उद्योगी, ब्यवसायी लगायत जिल्ला स्थित नागरिक समाजका अगुवाहरुले चिन्तनगर्दै एउटा मोडालिटि मार्फत स्थानिय आमसञ्चार माध्यमको दीगोपनाको लागि सहकार्य एवम् गतिलो सोंच बनाउन आवस्यक छ । यदि स्थानिय सञ्चारमाध्यमहरु बन्द हुने अवस्था आए स्थानिय सूचना प्राप्त गर्नबाट बञ्चित हुनुपर्ने अवस्था निम्तिन सक्छ ।

आयार्च नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष हुनुहुन्छ ।

तपाइको मत