मनग्गे उत्पादन भएपनि केराले बजार नपाउँदा किसान मर्कामा
- आइतबार पौष ३ , २०७९
मुरली गोडिया, गुलरिया । व्यवसायिक रुपमा केराखेती गर्ने बर्दियाका किसानलाई मर्का परेको छ । लाखौंको लगानी गरि फलाएको केराले उचित बजारभाउ नपाउँदा कृषकलाई मर्का परेको हो ।
अरुको जग्गा भाडामा लिइ लाखौंको लगानी गरेर उत्पादन गरेको केरा चाहेको दरमा बेच्न नपाउँदा किसानलाई दुःखित बनाएको छ । बर्दियाका व्यवसायिक किसानले कडा मेहनेत गरि तयार गरेको केराले बजार भाउ नपाउँदा समास्यामा परेको गुलरियाका किसान दीर्घ बहादुर खत्रीको गुनासो छ । स्वदेशमै बसी लगानी गरेर मनग्यै आम्दानी गर्ने सोंच बनाएका कृषकले उत्पादन गरेको केराले उचित बजार नपाउँदा समास्यामा परेका छन् । वर्षभरि कडा परिश्रम र बंैकबाट ऋण लिएर गरिएको केराखेतीको बजारीकरण हुन नसक्दा खेती मासेर अन्य खेती लगाउनु पर्ने अवस्था आएको उहाँले बताउनु भयो । खेतीमा विशेषतः लगानी नै उठ्न नसक्ने अवस्था भएपछि अन्य खेती वा विदेशको यात्रा तय गर्नेपर्ने बाध्यता आउन लागेको खत्रीको भनाई छ ।
जिल्लाका ८ वटा पालिका मध्ये गुलरिया नगरपालिकामा केराखेती गर्ने कृषकको संख्या बढी मात्रामा छ । व्यवसायिक रुपमा केराखेती गर्ने किसानको प्रमुख समस्या नै उत्पादनको उचित मुल्य नपाउनु रहेको छ । जिल्लामा करिब ८५ वटा व्यवसायीक केरा फर्म छन । बर्दियामा ७ सय हेक्टर भन्दा बढी जमिनमा यो खेती गरेको तथ्याङ्कले देखाउँछ । बजारमा दर्जनको १ सय रुपैया भन्दा बढीमा विक्री हुने केरा कृषकले खेतबाट दर्जनको १० रुपैया सम्म बेच्नु पर्ने बाध्यता रहेको किसान सुनिल कुमार बनियाले बताउनु भएको छ । मुल्य नपाउँदा केराखेती गर्न नसक्ने अवस्थामा पुगेको उहाँको दुःखेसो छ ।
सरकारले दिने अनुदान तथा कृषी यन्त्रका लागी झन्भटिलो प्रक्रिया तथा समयमा पनि काम नहुने प्रवृति बढेको उहाँले आक्रोस पोख्नुभयो । जिल्ला भरमा वार्षिक १२ हजार ९ सय ५० मेट्रिक टन सम्म केरा उत्पादन हुने गरेको छ । बर्दिया जिल्ला खुला सिमानाका कारण भारतिय केराहरु पनि सहजै आउने हुनाले आन्तरिक केराको विक्रीमा समस्या भएको एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालयका बागवानी बिकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो । बजारीकरणको समास्या निराकरण गर्न केरा प्रर्वद्धन कार्यक्रमका लागी प्रदेश मार्फत १५ लाख विनियोजित भएको, कृषि एम्बुलेन्स कार्यक्रम संचालन गरेको र स्थानिय प्रहरी प्रशसनले समेत सिमानाका बाट आउने केरामा रोक लगाउन सके भारितय बजारको विषादी युक्त केरा विस्थापित गरि आन्तरिक केरालाई बजार दिन सकिने उहाँको भनाई छ ।
स्वास्थ्यका लागी फाइदा जनक मानिने नेपालको तराई र पहाडी भेगमा केरा खेती सजीलै गर्न सकिन्छ । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकोले किसानको रोजाईमा पछिल्लो समय केराखेती तर्फ आकर्षण बढेको छ । व्यवसायीक रुपमा केराखेती गर्ने किसानलाई आवश्यक मल, विउ तथा बजारीकरणको सहज व्यवस्थापन गरिदिए बर्दिया जिल्ला केरा खेतीमै आत्मनिर्भर समेत हुन सक्ने देखिएको हुँदा आवश्यक सहयोग बृद्धि गर्न सरकारले ध्यान दिन आवश्यक रहेको किसानहरुको भनाई छ ।