पत्रकार महासंघको प्रर्बद्धनमा गुलरिया नपा साथमा : नगर प्रमुख
- आइतबार पौष ३ , २०७९
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको प्रर्बद्धनमा गुलरिया नगरपालिकासँगै साथमा रहने बताउनु भएको छ । गुलरिया नगरपालिकाको एकल सहयोगमा सम्पन्न नवनिर्मित भवन तथा महासंघको ३२ औं साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधनगर्दै प्रमुख अतिथि यादवले अन्य नगरपालिकाले सहयोग नगरे गुलरिया नगरपालिका महासंघलाई सहयोग गर्न सधै तयार रहने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बुधवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको ३२ औं साधारण सभाको अवसर पारेर नवनिर्मित कार्यालय भवनको समुद्घाटन गर्नुभएको छ । समारोहमा बोल्दै प्रमुख यादवले पत्रकार महासंघको कार्यालय भवन सम्पन्न भैसकेकोले अब कार्यालय ब्यवस्थापनका लागि अन्य पालिकालाई भन्नुस यदि कसैले सहयोग नगरे गुलरिया नगरपालिकाले सहयोग गर्नेभन्दै प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । नगरले गरेका राम्रा नराम्रा कुराहरु समाचारमा लेखिदिन नगरप्रमुख यादवले आग्रह गर्नु भएको छ ।
साधारणसभा तथा कार्यालय भवन समुद्घाटन समारोहका विशेष अतिथि नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेसका कोषाध्यक्ष यमनाथ घिमिरेले पत्रकारलाई अभाव, दवाव र प्रभावमुक्त जनकेन्द्रित पत्रकारिताको लागि बातावरण बनाउनु पर्ने बताउनु भयो । उहाँले बर्दियाका पत्रकारहरुको क्षमता लगायत स्तरबृद्धिका लागि प्रदेस मार्फत पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । पत्रकार महासंघ बर्दिया स्थापनाको ३२ औं बर्षमा निजि भवन पाएको छ । विगतमा झोला लगायत विभिन्न भाडा लगायत सरकारी भवनहरु मार्फत कार्यालय संचालन हुँदै आएको विशेष अतिथि घिमिरेले स्मरण गराउनु भयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको कार्यालय आफ्नै भवनमा सरेको छ । स्वर्गिय शिवप्रसाद पोखरेलकी धर्मपत्नी स्वर्गीय लक्ष्मीदेवी र श्रीमति ईन्दीरा देवी पोखरेलद्वारा गुलरिया नगरपालिका वडा नम्वर ७ स्थित बदलुपुरमा १२ धुर जमिन पत्रकार महासंघ बर्दियालाई दान मार्फत प्राप्त भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले बताउनु भयो । नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष मिनराज शर्माको कार्यकालमा जमिन प्राप्तीपछि निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धितालको कार्यकालमा शुरु भएको भवन निर्माणकार्यलाई अहिलेको कार्यसमितिले कृष्णप्रसाद बस्याल (राकेश) को संयोजकत्वमा रहेको भवन निर्माण समिति मार्फत पूर्णता दिएको अध्यक्ष आचार्यको भनाई छ ।
भवन निर्माणका लागि गुलरिया नगरपालिकाले विभिन्न बर्षमा गरी ३१ लाख ५० हजार १४२ रुपैया (कर वाहेक) उपलब्ध गराएको थियो । महासंघको कार्यालयमा एटेज वाथरुमसहितको ३ कोठा र एउटा ठूलो हल छ । भवन निर्माणका लागि महासंघले नगरपालिका बाहेक अन्यत्र सहयोग लिएको छैन । उहाँले भन्नुभयो, महासंघको भवन त निर्माण भयो कार्यालय संचालन गर्न थुप्रै काम बाँकी छन् । अफिस सेटअप, कर्मचारी तथा कार्यालय ब्यवस्थापनको मुख्य काम बाँकी नै छ । एउटा पालिकाले भवन वनाईदियो अब अन्य पालिकाले पनि सहयोग गरे हामी बर्दियामा दीगो रुपमा स्थापित हुन्छौं ।
बर्दियाको पत्रकारितालाई ब्यवस्थितगर्दै जनताले चाहे अनुरुपको सुचना उत्पादसँगै पत्रकारहरुको भौतिक, आर्थिक सुरक्षासहितको आत्मसन्तुष्टि बृद्धि गर्ने कार्यमा पत्रकार महासंघ सधै अग्रस्थानमा रहने अध्यक्ष आचार्यले प्रतिवद्धता गर्नुभएको छ । पत्रकारहरुले आफ्नो करीयर निर्माणगर्दै पिडितको पक्षमा कलम चलाउन उहाँको आग्रह छ । पछिल्लो समय पत्रकारिता जगतलाई विभिन्न लाल्छना गराउने परिपाटी बढेको तर्फ सचेतपार्दै पत्रकारलाई लाल्छना होईन सूचना दिन नागरिक समाजले भुमिका निर्वाह गर्नुपर्नेमा अध्यक्ष आचार्यको जोड छ ।
साधारण सभाको बन्द शत्रले सांगठनिक एवम् आर्थिक प्रतिवेदन उपर छलफल गरी अनुमोदन गरेको छ । आगामी दिनमा महासंघलाई सशक्त बनाएर लैजाने बन्द शत्रमा छलफल गरिएको छ । पत्रकार महासंघ बर्दियाको भवन निर्माण सम्पन्न भएकोमा खुशी ब्यक्तगर्दै महासंघका पूर्व अध्यक्षहरु, शुभेच्छुक संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, राजनितिक दल, सुरक्षा निकाय, उद्योग बाणिज्य संघ लगायतका सहभागी बक्ताहरुले शुभकामना दिनु भएको छ । कार्यक्रममा सहयोगी निकाय गुलरिया नगरपालिका, जग्गा दाता एवम् महासंघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।