fbpx

पूर्व प्रधानाध्यापक स्वर्गिय बुद्धिनाथ ज्ञवालीको नाममा कोष

पूर्व प्रधानाध्यापक स्वर्गिय बुद्धिनाथ ज्ञवालीको नाममा कोष


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ८ मा अवस्थित श्रीमहाकवि देवकोटा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गिय बुद्धिनाथ ज्ञवालीको नाममा जेहेन्दार विद्यार्थी छात्तबृत्तिका लागि अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय ज्ञवालीका परिवारले एकलाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।

स्वर्गिय ज्ञवालीका परिवारहरु यमुना ज्ञवाली, अरुण ज्ञवाली, निता ज्ञवाली (रेग्मी), मीना ज्ञवाली, सरिता ज्ञवाली र ध्रुवराज ज्ञवालीको संरक्षकत्वमा अक्षयकोष स्थापना गरिएको ध्रुवराज ज्ञवालीले जानकारी दिनु भयो । स्वर्गिय ज्ञवाली अर्घाखाँचीको खिदिम साविक मणीकुट गाविस वडा नम्वर ३ हाल पाणीनी गापा ३ मा स्व कृष्णप्रसाद ज्ञवाली तथा माता श्रीमती मिनादेवी ज्ञवालीको कोखबाट विक्रम सम्वत २००२ सालमा जन्मनु भएको थियो । ज्ञवालीले बाल्यकालको शिक्षा श्रीहरिहर संस्कृत मावि पोखराथोकमा गर्नुभएको हो । बसाई सराई गरी हाल बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ५ स्थित सुहेलवामा स्थायी बसोवासगर्दै आउनु भएको थियो ।

भारतको बृन्दावन, आगरा, वनारसबाट उच्च शिक्षा प्राप्तीपछि वि.सं. २०२२ सालदेखि महाकवि देवकोटा माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउँदै आउनु भएको थियो । ०५२ साल वैशाक १ गते देखि ०६४ साल मंसिर १४ गते सम्म प्रअ पदमा कार्यरत हुनुभयो । ०६४ सालमा अनिवार्य अवकास हुनुभएका ज्ञवालीको ०६९ साल असोज २० गते असामयिक स्वर्गारोहण भएको हो । उहाकै नामबाट खोलिएको कोषको ब्यजबाट जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने हेतुले उहाँका श्रीमती छोराहरुले अक्षयकोष स्थापना गर्नु भएको छ ।

विद्यालयका शिक्षक कर्मचारी, विद्यालय ब्यवस्थापन समिति, अभिभावक समिति, शिक्षक संघका पदाधिकारी लगायत परिवारका सदस्यहरुको उपस्थितीमा रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ । स्व ज्ञवाली बर्दिया जिल्लाकै शैक्षिक धरोहर तथा नेपाली साहित्यका सफल साधकका रुपमा परिचित हुनुहुन्थ्यो । बर्दियामा साहित्यको श्रीबृद्धिमा कथा र उपन्यास विधामा कलम चलाएर योगदान पुर्याउनु भएको पाईन्छ । शिक्षा सेवा, समाजसेवा लगायत साहित्य श्रृजना मार्फत समाजलाई अमुल्य योगदान पुर्याउने ब्यक्तित्व स्व. ज्ञवालीको योगदानलाई अक्षयकोषले चिरस्थायी बनाउने विस्वास लिईएको छ ।

तपाइको मत