फौजदारी अध्यादेशको थारु कल्याणकारिणी सभाद्वारा स्वागत
- शुक्रबार पौष १ , २०७९
बिष्णु अधिकारी, बर्दिया । नेपाल सरकार मन्त्रीपरिषदको मुलुकी फौजदारी संहिता कार्यविधि सम्बन्धमा ल्याएको अध्यादेशको थारु कल्याणकारिणी सभा, बर्दियाले स्वागत गरेकोछ । शुक्रबार गुलरियामा पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती जारीगर्दै अध्यादेशको स्वागत गरिएको हो ।
थारु कल्याणकारी सभा, थरुहट थारुवान संघर्ष समिति र तत्कालिन प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली नेतृत्वको सरकार बीच २०७८ साल जेष्ठ १८ गते भएको सम्झौता र विभिन्न राजनैतिक दल तथा आन्दोलनकारी पक्षहरुसंग भएको सम्झौता कार्यान्वयन गर्न लागेको कदमको थारु कल्याणकारी सभा, बर्दियाले स्वागत योग्य भएको जानकारी गराएको छ । थारु कल्याणकारिणी सभा, बर्दियाका अध्यक्ष विर बहादुर चौधरीले मुलआदिवासी थारुहरु माथि राज्यबाट गरिएको विभेद र दमनको अन्त्य गर्न यो कार्यविधि लागु हुनुपर्ने बताउनु भएको छ ।
थारुले जनजाती, दलित, मधेशी, मुस्लिम लगाएतका विभेदमा पारिएकाहरु पक्षका साथै द्वन्द व्यवस्थापन एवं वृहत शान्ति प्रक्रियाको निरन्तरता भएकोले वर्तमान सरकारलाई यो अध्यादेश जारी गर्न लागेकोमा प्रेस विज्ञप्ती मार्फत धन्यवाद दिईएको छ । पहिचान र अधिकारको लागि २०७२ साल भाद्र ७ गते भएको रहस्यमयी टिकापुर घटनामा थारु नेता तथा कार्यकर्ता माथि लगाएकाले झुट्टा मुद्धा खारेज गरि अविलम्ब रिहाईको माग गरिएको छ । अध्यादेश नेपाल सरकारले प्रमाणिकरणका लागि राष्ट्रपती समक्ष पेश गरेको छ । अध्यादेश पास गराउनका लागि पुष ३ गते १ घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र पुष ४ गते बर्दियाका ८ वटै पालिकामा शान्तिपुर्ण ¥याली गर्ने प्रेस विज्ञप्तीमा जनाईएको छ ।