राजापुरलाई दुधमा आत्मनिर्भर बनाउँदै सुसेली सहकारी
- शुक्रबार पौष १ , २०७९
मुरली गोडिया, गुलरिया । स्थानिय स्तरमा उत्पादन भएको दुधलाई संकलन गरी बिक्री वितरण गर्दा स्थानिय कृषकहरुलाई आर्थिक रुपमा सवल बन्न मद्दत पुगेको छ । बर्दियाको राजापुर नगरपालिकामा रहेको सुसेली बहुमुखी सहकारी संस्था लिमिटेडले राजापुरलाई दुधमा आत्मनिर्भर बनाउँदै गएको छ ।
सहकारीले स्थानिय कृषकको उपजलाई बजारीकरणमा सेवागर्दै उदारहणीय बन्दै गएको छ । जसको प्रत्येक्ष फाइदा स्थानिय किसानहरुको आर्थिक उपार्जनमा महत्वपुर्ण भुमिका खेलेको राजापुर नगरपालिका वडा नम्वर ८ स्थित दुध डेरी संचालक डम्बर बहादुर खत्रीले बताउनु भयो । सहकारीले दुध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ चिस्यान केन्द्र संचालनमा ल्याई करिब २ हजार लिटर क्षमताको चिलिङ्ग भ्याट संचालनमा ल्याएको छ । सहकारीबाट दैनिक २ सय लिटर दुध लिएर प्रति लिटर रु. ५ का दरले मुनाफामा दुध बेच्ने गरेका छौं । उहाँले भन्नुभयो यहाँको दुधमा शुद्धता रहेको हुँदा बजारमा अत्यधिक माग छ ।
गाँउमा मिलेर लगानी गरेको सहकारी संस्थाले स्थानियको जतिपनि दुधले उचित मुल्य पाएपछि किसानहरुमा खुशी छाएको स्थानिय पशुपालक किसान ललिता न्यौपानेले बताउनु भयो । दुध बिक्रीमा कुनै समस्या छैन । दैनिक करिव ६ सय लिटर दुध संकलन गरी राजापुर क्षेत्रमा खपत भई बाँकी रहेको दुध नेपाल दुग्ध विकास सस्थानमा बिक्री भैरहेको छ । दुध नजिकै बेच्न पाईने, भनेको बेला नगद पैसा पनि पाईने, र सहकारीबाट पशु विमा, विउ विजनहरु, पशुचारा, मल र अन्य सामाग्रीहरु पनि पाईने हुँदा राम्रो सुविधा पाईरहेको न्यौपानेले खुशी ब्यक्त गर्नुभयो ।
राजापुर क्षेत्र उर्वर भूमिको क्षेत्र रहेकोले पशुपालनबाट यहाँका किसानहरुले मनग्य लाभ लिन सक्छन भन्ने उद्देश्यका साथ बजारी करणको लक्ष्य बोकेर सहकारी संचालन गरिएको सुसेली बहुमुखी सहकारी संस्थाका अध्यक्ष टिकाराम रेग्मीले बताउनु भयो । दुध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरी सेवा दिदै आईरहेको उहाँको भनाई छ । राजापुर नगरपालिकाले दुधमा १० लाख रकम विनियोजन गरेको छ । नगरपालिकाको सहजीकरण र योगदानबाट नगर स्तरिय सहकारी संजाल गठन भएकोले स्थानिय सरकार सहकारीलाई पनि अगाडी बढाउनु पर्छ भन्ने सोचका साथ चाँसो बढाएको रेग्मीले प्रष्ट्याउनु भयो ।
सहकारीले तत्कालिन समयमा राजापुर नगरपालिका वडा न. ३ अन्तर्गत रजपुरवाका २५ जना सदस्यहरु मिली २०६४ साल साउन १५ गते डिभिजन सहकारी कार्यालय बाँकेमा विधिवत रुपमा दर्ता भई निरन्तर रुपमा सदस्यहरुमा सेवा विस्तार गर्दैआईरहेको छ । स्थानीय स्रोत साधनलाई परिचालन गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्ने भएकोले सदस्यहरुलाई दुध उत्पादन, कृषि उत्पादन प्रशोधन, उपभोग्य बस्तुको कारोवार, वचत संकलन तथा ऋण परिचालन, मलखाद खरिद तथा बिक्री वितरण गरी सेवा दिने उद्देश्य अनुसार सहकारीले काम गरीरहेको अध्यक्ष रेग्मीको भनाई छ ।