कृषि ब्यापार प्रर्बद्धन गर्न बर्दिया राजापुर महोत्सव गरिँदै
- आइतबार मङ्सिर २५ , २०७९
मिन अधिकारी, राजापुर । समृद्धि बर्दियाको प्रमुख आधार, कृषि पर्यटन व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ राजापुरमा कृषि व्यापार प्रवद्र्धनका लागि बर्दियाको राजापुरमा बर्दिया राजापुर महोत्सव गरिने बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापाले जानकारी गराउनु भएको छ । संघको कार्यालयमा आयोजित प्रेसमीट कार्यक्रम मार्फत महोत्सव बारे जानकारी गराईएको हो ।
राजापुर क्षेत्रमा रहेको कृषि, व्यापार, पर्यटन, सांस्कृतिक मौलिकतालाई प्रर्बद्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन महोत्सवले मद्दत पुग्ने विस्वास उहाँले दिलाउनु भयो । पर्यटक भित्रायाई बर्दिया राजापुरको विकासमा टेवा पु¥याउने उद्देश्यले पौष २८ गतेदेखि माघ ८ गतेसम्म माघी पर्वकोे अवसर पारेर बर्दिया राजापुर महोत्सव २०७९ हुने भएको छ । बर्दिया राजापुर महोत्सवलाई सभ्य र भव्य सफल बनाउन मुल आयोजक समिति र उपसमितिहरु गठन गरिसकेको जानकारी दिईएको छ । विभिन्न योजना अनुसार कामहरु सुरु गरिसकेको बताउदै सम्पूर्ण सरोकारवाला उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवि पत्रकारहरुले सहयोग गर्नु पर्ने बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष थापाले वताउनु भएको छ ।
महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती, खुला तथा विद्यालय स्तरीय गायन र नृत्य प्रतियोगिता राजापुर आइडल लगायतका साँस्कृतिक प्रर्दशन मार्फत लुकेर रहेको स्थानिय प्रतिभालाई प्रष्फुटन गर्नु महोत्सवको अर्को उद्देश्य रहेको बर्दिया उद्योग वाणिज्य संघ राजापुरका महासचिव लोकराज ढुङ्गानाले बताउनु भएको छ । महोत्सवका लागि अध्यक्ष थापाको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने महोत्सवलाई उपलब्धिमूलक बनाउनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको बताईएको छ ।
आर्थिक व्यवस्थापन र अतिथि सत्कार उपसमिति संयोजकमा अध्यक्ष थापा, सचिवालय र स्थानीय तथा राष्ट्रिय कलाकार व्यवस्थापन उपसमिति संयोजक महासचिव लोकराज ढुङ्गाना, सूचना तथा प्रचारप्रसार उपसमिति संयोजक तिलक पौडेल, मञ्च तथा स्टल व्यवस्थापन उपसमिति संयोजक सुनिल दहित, पानी विद्युत तथा सरसफाई उपसमितिमा संयोजक राम प्रसाद श्रेष्ठ, झाँकी प्रर्दशनी व्यवस्थापन उपसमिति संयोजक कृष्ण प्रसाद शर्मा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा प्रभात भुप शाहा र कृषि प्रदर्शनी उपसमिति संयोजकमा गंगाराम चौधरी रहनु भएको छ । महोत्सवमा व्यापार व्यवसाय, उद्योग, कृषि प्रर्दशनि विभिन्न संस्कृति झल्किने भेषभुषाको प्रर्दशनिका लागि स्टल बुकिङ् सुरु भएको जनाईएको छ ।